सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अध्ययनका लागि अष्ट्रेलिया जान नेपाली विद्यार्थीलाई झनै सकस !

सोमबार, २५ मङ्सिर २०८०, ११ : १६
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । तपाईं उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने योजना बनाइरहनु भएको छ ? विदेशी विद्यार्थीलाई सहज रूपमा भिसा दिँदै आएको अष्ट्रेलियाले पछिल्लो समय क्रमशः भिसासम्बन्धी नियम कठोर बनाउँदै लगेको छ । जसअनुसार विदेशी विद्यार्थीका लागि भिसा सम्बन्धी नियम थप कसिलो बनाइने भएको छ । यसको प्रत्यक्ष मारमा नेपाली विद्यार्थी पनि पर्ने भएका छन् । 

 सोमबार त्यहाँको गृहमन्त्री क्लेर ओ’निलले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । आगामी दुई वर्षमा आप्रवासीको आगमन आधामा झार्न विदेशी विद्यार्थी र अल्पसीप भएका कामदारका लागि दिइने भिसा नियम कसिलो बनाउन लागिएको हो । त्यहाँको सरकार ‘टुटेको’ आप्रवासन प्रणालीमा व्यापक हेरफेर गर्ने प्रयासमा छ ।

नयाँ नीति अन्तरगत विदेशी विद्यार्थीहरूले अङ्ग्रेजी भाषा परीक्षामा उच्च अंक ल्याउनु पर्नेछ । विद्यार्थीले अष्ट्रेलिया बसाई लम्ब्याउन दिने दोस्रो भिसा आवेदनको प्रक्रियामा पनि थप कडाई गरिनेछ । नयाँ रणनीतिले आप्रवासीहरूको संख्या पुनः सामान्य स्तरमा ल्याउने गृहमन्त्री ओ’निलले भनेका छन् । समस्या संख्यामा मात्रै नभएको पनि उनले बताए । 

अष्ट्रेलियाको आप्रवासन प्रणाली भाँच्चिएको भन्दै गएको सप्ताहान्तमा प्रधानमन्त्री इन्थोनी अल्बानेजले आप्रवासीहरूको संख्यालाई घटाएर दिगो स्तरमा ल्याउनु पर्नेमा जोड दिएका थिए । सरकारले सुरु गरेको सुधारका पहलहरूले विदेशबाट आउने अष्ट्रेलिया बसाई सरेर आउने प्रवृत्तिमा दबाब सृजना गरिसकेको अनि यसले आप्रवासीको संख्या थप घटाउने अपेक्षा गरिएको ओ’निलको भनाई छ । सन् २०२२–२३ मा अष्ट्रेलियामा ५ लाख १० हजार विदेशीहरु गएका थिए । यो अहिलेसम्मकै धेरै हो । खासगरी विदेशी विद्यार्थीको आगमनमा भएको वृद्धिका कारण यो संख्या बढेको हो ।

सन् २०२४–२५ मा यो संख्या साढे २ लाख हाराहारीमा झर्ने अपेक्षा गरिएको छ । सन् २०२५–२६ मा भने यो संख्या थप घटेर कोभिडपूर्वकै स्तरमा आउने अनुमान गरिएको छ । कोभिडको बेलामा सीमामा गरिएको कडाइबिच २ वर्षसम्म अष्ट्रेलियामा विदेशी विद्यार्थी र कामदारहरु  जान पाएका थिएनन् । यसका कारण श्रम बजारमा देखिएको श्रमिक अभावको पूर्ति गर्न गएको वर्ष अष्ट्रेलियाले आप्रवासीको संख्या बढाएको थियो ।

तर एक्कासि कीर्तिमानी संख्यामा आप्रवासीहरू आएपछि पहिला देखि दबाबमा रहेको घरभाडा बजारमा थप दबाब सृजना भयो भने घरबारबिहिनको संख्या बढेर सरकारको टाउको दुखाई बढ्दै गएपछि आप्रवासीको संख्यामा घटाउनतिर सरकार लागेको छ । दक्ष सिप भएका कामदार ल्याउन अन्य विकसित देशहरुबीच पनि चर्को प्रतिस्पर्धा चलिरहेकोले त्यस्ता कामदार भित्र्याउन अष्ट्रेलियाले विशेष खालको नयाँ भिसा ल्याउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप