मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढ्यो : ओली

सोमबार, २५ मङ्सिर २०८०, १८ : ५८
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन्। 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए । 

गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आसिरवाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीले बताए । 

एमालेको यात्राको क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनी गरिएको प्रचारको ओलीले कार्यक्रममा आलोचना गरे । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएका कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको ओलीले बताए ।   

ओलीले आज युवालाई देशमा अड्याउनै नसक्ने अवस्थामा रहेको बताए । अर्काको दरबार देखेर धनी नहुने बताउँदै ओलीले युवालाई देशमा नै राखेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनु पर्ने बताए । विभिन्न व्यवसाय सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लाग्नु पर्नेमा उनले जोड दिए । 

राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए । ‘सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन’, ओलीले भने । 

जनताको अभिमतबाट एमालेले सरकार बनाएको र देशका विकासको अभियान चलाएको अवस्थामा विदेशीका सामु लम्पसार परी उनीहरूको कम्फरटेबल बनिदिन्छौँ भनेर एमालेको सरकार हटाउने काम गरिएको ओलीले बताए । एकीकृत भइसकेको पार्टी पटक पटक फुटाउने काम गरिएको ओलीले टिप्पणी गरे । 

नेपाल कम्युनिस्ट पार्टी अदालतले नभई विखण्डनकारीले फुटाउने काम गरेका ओलीले बताए । त्यसैले विखण्डनकारीको पक्षमा नलाग्न ओलीले आग्रह गरे । ‘एमाले बाहेक वामपन्थी पार्टीमा कुनै कायकर्ता हुनुहुन्छ भने त्यो गलत बाटोमा नहिँड्नुस्, झिँगाको पछि किन लाग्ने फोहोरको डङ्गुरमा जान’, उनले भने । 

ओलीले अहिले देश गम्भीर अवस्थामा पुगेको बताए । त्यसबाट देशलाई फर्काउनु पर्ने र त्यसकै लागि लागि समृद्धिका लागि संकल्प अभियान चलाएको उनले प्रष्ट पारे । 

ओलीले एमालेको लक्ष सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप