आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको छ : अध्यक्ष ओली

मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : ४३
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन सरकार साम्प्रदायिकताको जगबाट उठेकाले उसले समाजमा साम्प्रदायिकतालाई मलजल गरिरहेको बताएका हुन् ।

‘अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको हो । त्यसकारण अहिले पनि साम्प्रदायिकताका पक्षहरुलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ’, अध्यक्ष ओलीको भनाइ । उनले एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने बताए ।

‘त्यो सामाजिक न्याय र समानताका आधारमा सामाजिक सद्भाव र त्यो सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता र त्यो एकतावद्ध प्रयासबाट देशको विकास एमालेले मात्रै गर्नसक्छ’, ओलीको दाबी छ ।

उनले नेपाली दाजुभाइ दिदिबहिनीहरु अनावश्यक भावनामा बगेका भए त्यसले देश नबन्ने भन्दै देश बनाउन बलियो राष्ट्रिय एकता र समझदारी चाहिने बताए । उनले जनताका बिचमा फाटो ल्याउने नभई राष्ट्रिय एकता हुनुपर्ने बताए । ओलीले राजनीतिमा मतभेद हुनु स्वाभाविक भएपनि ती मतभेदहरुको समाधान गर्ने वैधानिक र कानुनी प्रक्रिया रहेको बताए ।

उनले एमालेको अभियान कसैको विपक्षमा नभएको पनि प्रस्ट पारे । ‘कसैको विपक्षमा होइन एमालेको अभियान देश र विकासको पक्षमा हो । त्यसैले कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन’, ओलीको भनाइ छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप