सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खुम्चियो बेलायतको अर्थतन्त्र

बुधबार, २७ मङ्सिर २०८०, १७ : ३७
बुधबार, २७ मङ्सिर २०८०

लन्डन । अक्टोबरमा बेलायतको अर्थतन्त्र खुम्चिएको छ । सरकारले बुधबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

योसँगै अर्थतन्त्र मन्दीमा जाने जोखिम बढेको छ । यसले महँगी विरोधी लडाइमा अडिग रहिरहने केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)को अडानमा ठूलै झट्का दिने विश्लेषण गर्न थालिएको छ ।

सेप्टेम्बरको तुलनामा अक्टोबरमा बेलायतको अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको त्यहाँको तथ्यांक कार्यालय ओएनएसले बताएको छ । अघिल्लो महिनाको तुलनामा अर्थतन्त्र खुम्चिएको यो जुलाईयता पहिलो पटक भएको ओएनएसले बताएको छ । 

अर्थतन्त्र खुम्चिएको भएपनि बिहीबारको नीतिगत बैठकमा बीओईले ब्याजदर ५ दशमलव २५ प्रतिशतमा यथावत् राख्ने अपेक्षा गरिएको छ । अहिले पनि बेलायतमा महँगी ४ दशमलव ६ प्रतिशतको उच्च स्तरमा छ । यसलाई जसरी पनि नियन्त्रणमा ल्याउन सरकारको लक्ष्य छ ।

अक्टोबरको तथ्यांकले बेलायत मन्दीमा भासिन सक्ने देखाएको क्यापिटल इकोनोमिक्समा प्रमुख बेलायती अर्थशास्त्री पल डेल्सले भनेका छन् । जुलाईदेखि सेप्टेम्बर अवधिमा बेलायती अर्थतन्त्र बल्लतल्ल मन्दीमा जानबाट बचेको थियो । तर पछिल्लो तथ्यांकले यो वर्षको अन्त्यदेखि आगामी वर्षको शुरुको बिचमा अर्थतन्त्र मन्दीमा जाने जोखिम उच्च रहेको देखाएको केही विश्लेषकहरुले बताइरहेका छन् । अक्टोबरमा बेलायतले बाँकी विश्वसँगको वस्तु व्यापारमा १७ अर्ब पाउन्ड घाटा बेहोरेको छुट्टै तथ्यांकले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप