आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई

शनिबार, ३० मङ्सिर २०८०, ०८ : २१
शनिबार, ३० मङ्सिर २०८०

दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्य स्थलका रूपमा विकास भइरहेको छ ।  पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मङ्गलबार र  सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ । 

सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगर बताउँछन् । 

यहाँ विशेष गरी मङ्गलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन् । अध्यक्ष थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन् । थापाले भने, “मन्दिरमा विशेष गरी कात्तिक र मङ्सिरको मङ्गलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कात्तिकमा दसैँ र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो ।”

प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकामना पूरा हुने धार्मिक विश्वास  छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा  आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत चित्ताकर्षक हिमशृङ्खला देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप