शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपाको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यलाई नै बोल्न निषेध !

आइतबार, ०१ पुस २०८०, १९ : ००
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठकमा केही केन्द्रीय सदस्यहरूले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध हस्ताक्षर अभियान चलाउने तयारी गरेका छन् । 

बैठकमा अध्यक्ष लिङ्देनले बोल्न नदिने उद्देश्यले योजनाबद्ध रुपमा प्रदेश संयोजकहरूको नेतृत्वको छलफलका लागि समूह गठन गरेको भन्दै केही केन्द्रीय सदस्यहरूले अध्यक्षविरुद्ध हस्ताक्षर अभियान चलाउने तयारी गरेका हुन् । 

काठमाडौँमा आइतबारदेखि सुरु भएको बैठक आफ्नो समसामयिक प्रतिवेदनसहित विभिन्न प्रतिवेदन पेश भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश प्रदेशलाई अघि सारेर समूहगत छलफल हुने बताएपछि विरोध भएको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले आफूहरुको त्यसमा विरोध रहेको र बैठकमा केन्द्रीय सदस्यले बोल्न पाउनुपर्छ भनेर हस्ताक्षर अभियान चलाउन थालिएको बताए । 

उनका अनुसार अध्यक्षले विगतको परम्परा विपरीत सिधै केन्द्रीय सदस्यलाई बोल्न रोक लगाएका छन् । सबै केन्द्रीय सदस्यले सात प्रदेशका संयोजकको नेतृत्वमा समूहगत छलफल गर्ने र त्यसको निष्कर्ष मात्रै सुनाउने अध्यक्षले भनेका छन् । 

अर्का एक केन्द्रीय सदस्यले आफ्नो कार्यशैलीको आलोचना हुने डरले अध्यक्षले बोल्न रोक लगाएको आरोप लगाए । अध्यक्षले समूहगत छलफलका लागि प्रदेशलाई टोली नेता बनाएपछि आफूहरुको हैसियत प्रदेश सदस्य बराबरको बनाउने प्रयास भएको ती केन्द्रीय सदस्यको आक्रोश छ । 

‘हामीलाई त प्रदेश सदस्यको हैसियतमा राख्न खोजियो’, केन्द्रीय समितिको बैठक भनेर प्रदेशको छलफल गर्ने ?’, उनले आक्रोश पोखे । खाना खाने ब्रेकअघि अध्यक्षले समूहगत छलफलको मोडल अघि सारेपछि केही केन्द्रीय सदस्यले लगत्तै विरोध गरेपनि सुनुवाइ भएन । 

यसअघि अध्यक्ष लिङ्देनले बैठकमा बोल्दै राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका थिए । आफ्नो समसामयिक प्रस्तावसहितको सम्बोधनमा लिङ्देनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक संघर्षमा जानुको विकल्प नभएको बताएका हुन् । 

समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक भएको भन्दै लिङ्देनले त्यो सम्भव रहेको पनि बताए । ‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ’, बैठकमा लिङ्देनले भने, ‘ राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’

बैठकमा महामन्त्री डा धवलशमशेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्य योजना प्रस्तुत गरेका थिए । यसअघि कार्यसम्पादन समिति बैठकबाट पास भइरहेको उक्त कार्य योजनाअनुसार राप्रपामा आन्दोलनमा जाने बताइएको छ ।  

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा लिङ्देनले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । ‘सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने उहाँले प्रष्ट पार्नुभएको छ’, श्रेष्ठको भनाइ थियो । 

अध्यक्ष लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लागेको आरोप लगाएका छन् । यस्तै भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएको उनको जिकिर थियो । 

यस्तै लिङ्देनले राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष समेत बैठकमा सुनाएको बताइएको छ । बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन र सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धी प्रतिवेदनसमेत पेस गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप