बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिलाहरूले भुलेर पनि बेवास्ता गर्न नहुने केही लक्षणहरू

आइतबार, ०१ पुस २०८०, १६ : १२
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । महिलाहरू मल्टी टास्कर हुन्छन् । एकै पटकमा उनीहरू धेरै थरी काम गरिरहेका हुन्छन् । महिलाहरू घर अनि कार्यालयको काममा यति व्यस्त हुन्छन् कि केहीले आफ्नो ख्याल राख्ने समय नै पाउँदैनन् । काम पूरा गर्ने ध्याउन्नमा धेरैले त आफ्नो स्वास्थ्यमा बिल्कुल ध्यान दिँदैनन् वा आफूलाई महसुस भइरहेको असहजतालाई बेवास्ता गरिदिन्छन् ।

यस्तो लापरबाही गर्दा कहिलेकाहीँ महिलाहरूले गम्भीर समस्या सामना गर्नुपर्छ । तपाईँ पनि यस्तै महिलाको वर्गमा पर्नु हुन्छ कि ? शरीरमा अचानक हुने केही परिवर्तन वा असहजतालाई बेवास्ता गर्नै हुन्न । आजको यो लेखमा हामीहरू यस्तै केही सङ्केतबारे कुराकानी गर्न गइरहेका छौँ, जसमाथि बेलैमा ध्यान नदिँदा महिला दिदी बहिनीहरूले गम्भीर समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

अचानक कमजोर महसुस हुनु

शरीरमा अचानक कमजोरीको महसुस हुनुले स्ट्रोकतर्फ इशारा गरेको हुनसक्छ । यसका अन्य सङ्केत पनि छन् । अचानक अन्योल महसुस हुने, बोली लर्बर्‍याउने, धमिलो देखिन थाल्ने वा हिँड्नमा समस्या हुने यी सबै स्ट्रोकका सङ्केत हुन् ।

सास फेर्न समस्या

हाम्रो मुटुले पर्याप्त मात्रामा अक्सिजन पाएन भने सास फेर्न समस्या हुन्छ । पुरुषको तुलनामा महिलाहरूलाई ‘साइलेन्ट’ हर्ट अट्याकको खतरा धेरै हुन्छ । यसको दुइओटा मुख्य लक्षण हुन्छन् सास फेर्न समस्या हुन्छ अनि निकै धेरै थाकेको महसुस हुन्छ । रक्त अल्पता वा फोक्सोको रोगका कारण  पनि सास फेर्न समस्या भएको हुनसक्छ ।

छातीमा पीडा

छातीमा सहनै नसक्ने पीडा भइरहेको छ, मुटुको चाल तीव्र भएको छ अनि पाखुरा, काँध अनि बङ्गारा दुखिरहेको छ अनि सास फेर्न समेत समस्या भइरहेको छ भने यसले मुटुमा समस्यातर्फ सङ्केत गर्छ ।

हेर्नमा समस्या 

उमेर बढ्दै जाँदा आँखाको दृष्टि पनि कमजोर हुन थाल्छ । तर तपाईँले अचानक दुवै आँखाले हेर्न समस्या हुन थालेको छ भने यो स्ट्रोकको सङ्केत हुन सक्छ । त्यस्तै गरी, माइग्रेनका कारण पनि दृष्टिमा समस्या हुन थाल्छ । कसै कसैमा चम्किलो प्रकाश वा रङ्गिन आभा देखिएको महसुस हुन थाल्छ । यो चाँहि रेटिना फाटिएको वा टुक्रिएको सङ्केत हुन सक्छ । यसको समयमै उपचार गरिएन भने सधैँको लागि आँखाको दृष्टि गुम्न सक्छ ।

तौलमा अचानक बदलाव

बिना कुनै कारण तौल घटबढ हुनु पनि गम्भीर समस्याको पूर्व सङ्केत हुन सक्छ । प्रायः थायरोइड, मधुमेह, साइकोलोजिक डिस्अर्डर, कलेजोसम्बन्धी रोग र क्यान्सरको कारणले पनि यस्तो समस्या देखिन्छ । तौल अचानक बढ्नु शरीरमा थायराइडको स्तर घटेको, डिप्रेसन भएको वा मेटाबोलिज्म कम भएको सङ्केत हुन सक्छ ।

स्तनमा गाँठो

महिलाको स्तनमा कतै कतै गाँठो जस्तो भेटिन्छ । यो सामान्य नै हो । तर छाम्दा गिर्खा गिर्खी भेटिनु वा स्तनको मुन्टोको रंग फेरिन चाँहि राम्रो होइन । यस्तो लक्षण देखिने बित्तिकै डाक्टरकहाँ जँचाउन गइहाल्नुपर्छ । यस्ता लक्षणले स्तन क्यान्सरतर्फ इङ्गित गर्छ ।

धेरै तनाव र एङ्गजाइटी

हरेक व्यक्तिले तनावको सामना गर्नुपर्छ । तर यसको अर्थ तपाईँले निरन्तर भइरहने तनावलाई बेवास्ताचाहिँ गर्नुहुन्न । आफूले सम्हाल्नै नसक्ने गरी तनाव भइरहेको महसुस भइरहेको छ र दिनहुँ गर्ने काममा पनि समस्या भइरहेको छ भने तत्कालै स्वास्थ्य संस्था जानुपर्छ ।

महिनावारीमा बदलाव

महिनावारीमा सानातिना हेरफेर सामान्य हो । कहिलेकाहीँ छिटो महिनावारी हुन्छ, कोही दिन ढिला अनि कोही समयमै । तर आफैँलाई असहज वा अप्ठ्यारो लाग्ने गरी महिनावारीमा गडबडी देखिएको छ भने चाँहि तुरुन्तै जँचाउन जानुपर्छ । महिनावारीको समय, रक्तस्रावमा बदलाव देखिने बित्तिकै डाक्टरलाई देखाइहाल्नु पर्छ । मेनोपजपछि पनि रगत बग्ने समस्या देखिएको छ भने पनि डाक्टरसँग परामर्श लिन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप