बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
संसद

एकैपटक १७ जना सांसद चीन उडेपछि संसदीय समितिको काम प्रभावित

सोमबार, ०२ पुस २०८०, ११ : ५४
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेर संसदीय समितिका बैठक बस्न नसकिरहेका बेला सांसदहरूको विदेश भ्रमण भने बाक्लिएको छ । सोमबार एकैपटक १७ सांसद चीन भ्रमणमा निस्किएका छन् । चिनियाँ जनकङ्ग्रेसको निमन्त्रणा, वाणिज्य मन्त्रालय चीनको संयोजन र एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियलको आयोजनामा पुस ४ गतेदेखि १३ गतेसम्म चीनको राजधानी बेइजिङमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन १७ सांसद सहित ३ कर्मचारी चीन लागेका हुन ।

माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा एयर चाइनाको विमानबाट सांसदहरूको टोली चाइना उडेको हो । चीन भ्रमणमा जाने टोलीमा सांसद पाण्डेको साथमा प्रतिनिधिसभाका सांसदहरू सरस्वती वजिमय, कुसुमदेवी थापा, युवराज शर्मा, दामोदर पौडेल वैरागी, मानवीर राई, रुकमणि राना बराइली, रामनाथ अधिकारी, नारायणी शर्मा, जगप्रसाद शर्मा, मेटमणि चौधरी, सन्तोष परियार, प्रकाश अधिकारी, ऐनबहादुर शाही रहेका छन् ।

यस्तै राष्ट्रियसभा सदस्यहरूमा भगवती न्यौपाने र जगप्रसाद शर्मा रहेका छन् । यता कर्मचारीतर्फ सङ्घीय संसद्का सचिव सुदर्शन खड्का, सभामुखका प्रेस विज्ञ शेखर अधिकारी र शाखा अधिकारी जीवनकुमार निरौला रहेका छन् । उनीहरू १० दिन चीनले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

बैठक राख्ने सांसदको गणपूरक सङ्ख्या नपुगे पनि बैठक राख्छु : सभापति रामहरि खतिवडा

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सांसदहरूको गणपूरक सङ्ख्या नपुग्दा पटक–पटक समितिको बैठक स्थगित गर्नुपरेको बताए । सांसदहरू जिल्लातिर जाने, कार्यक्रममा व्यस्त हुने र विदेश भ्रमणमा जाने गरेका कारण समितिको बैठक राख्न कठिन भएको उल्लेख गरे ।

रातोपाटीसँग सभापति खतिवडाले भने– ‘एमालेका सांसद समृद्धिको यात्रामा भनेर विभिन्न जिल्लातिर लाग्नुभयो । उहाँहरूले बैठक रोक्न आग्रह गर्नुभयो । मैले २७ गते नै प्रधानसेनापतिलाई फास्ट ट्र्याक र उमेर विवादको विषयमा छलफल गर्नका लागि बोलाइसकेको थिएँ । हाम्रा दुई महामन्त्री पनि प्रदेश सम्मेलनका लागि व्यस्त हुनुभयो । एमालेले त अझ प्रमुख प्रतिपक्षी दल बेगर बैठक राख्नुभयो भने राम्रो हुँदैन भनेर रघुजी पन्तले नै भन्नुभयो । कृष्णगोपाल श्रेष्ठलाई फोन गरेँ, उहाँले पनि बैठक नराख्नुस् भन्नुभयो ।’

सभापति खतिवडाले अहिले गम्भीर खालका मुद्दाहरू रहेको बताउँदै एनसेल लगायत सेनामा उमेर विवाद, फास्ट ट्र्याक लगायत गम्भीर विषयका मुद्दामा छलफल गर्नुपर्ने भए पनि सांसदहरूलाई बैठकमा बोलाउन मुस्किल परेको सुनाए । उनले भने– ‘२७ जनाको कमिटीमा सबैलाई फोन गर्दा ७ जना सांसद पनि बैठकमा नआउने अवस्था छ । कसको कहिले के पर्ने, कोही कता जाने गर्दा बैठक बसाल्न कोरम पुर्याउनै समस्या छ । उपेन्द्र यादवको एक जना सांसद चाइना जाने, उहाँ पनि कहिले आउने कहिले नआउने गर्नुहुन्छ ।’

समितिले मङ्गलवार एनसेल शेयर बिक्री विवादबारे छलफल राखिएको र प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको सभापति खतिवडाले जानकारी दिए । यस्तै पर्सी फास्ट ट्र्याकको काम सुस्त भएको बारेमा छलफलका लागि प्रधानसेनापतिलाई बैठकमा बोलाइएको उनले बताए । साथै सेनामा सधैँ उमेर हदको विवाद हुने गरेकोले सो बारे पनि सेनासँग समितिले छलफल गर्न लागेको सभापति खतिवडाले जानकारी दिए ।

उनले अब पनि कोरम पुगेन भनेर बैठक रोक्ने काम नगर्ने बताउँदै ४० प्रतिशत सांसद भएमा वा त्यो पनि नभए ३० प्रतिशत सांसदको उपस्थितिमा भए पनि बैठकलाई अगाडि बढाउने जानकारी दिए ।

खतिवडाले भने– ‘कस्तो भयो भने संसदीय समितिमा नआउने कोही गाउँतिर जाने, कोही विदेश जाने यता समितिमा विधेयक थन्किएर बसेको अवस्था छ । समितिले विधेयक पारित नगरी संसद् चल्दैन, माननीयहरू सदन नचलीकन संसदीय समितिमा नआउने कस्तो चलन बस्यो ? संसद् कमजोर भयो भने जनताप्रति, व्यवस्थाप्रति असर गर्छ नि त ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप