शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश

शुक्रबार, २९ जेठ २०८३, २३ : ०९
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश प्रवेश गरेको छ ।
  • मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो ।
  • आजका अन्य खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई र बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेका छन् ।

कर्णाली । वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश प्रवेश गरेको छ । प्रतियोगिताका कुल ६ खेलमध्ये मधेसले ५ खेल जितेर १० अङ्क जोड्दै एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले निर्धारित ओभरमा तीन विकेट गुमाएर १६१ रनको योगफल बनायो । एक सय ६२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा चार विकेट गुमाउँदै १३७ मा सीमित भयो ।

मधेसका लागि ‘प्लेयर अफ दी म्याच’ प्रतिमा साह र ओपनर सना प्रवीनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । ओपनर एलिशा यादव पाँच रनमा आउट भएपछि क्रिजमा आएकी प्रतिमाले ४७ बलमा तीन चौका र पाँच छक्काको मद्दतले अविजित ६८ रनको इनिङ्स खेलिन् । त्यस्तै, सना प्रवीनले ५७ बलमा १० चौका प्रहार गर्दै ६२ रनको योगदान दिइन् ।

लुम्बिनीका लागि बलिङतर्फ आशना चौधरी र आयुषा भुसालले समान एक(एक विकेट लिए । लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर सुप्रिया बुढामगरले ५३ बलमा चार चौकासहित सर्वाधिक ४४ रनमा अविजित रहिन् । कप्तान अञ्जली पाठकले १८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ३२ रन जोड्न सफल भइन् । युनिशा सारुमगरले १४ र रितु रावलले अविजित १५ रन बनाएका छन् । मधेसका लागि साक्षीकुमारी यादव, सुस्मिताकुमारी यादव, आरती महतो र प्रतिमा साहले समान एक–एक विकेट लिए ।

आजको अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशमाथि रोमाञ्चक जित दर्ता गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले कमजोर ब्याटिङका बाबजुद रञ्जना साउदको उत्कृष्ट बलिङको मद्दतमा गण्डकीलाई रोक्दै महत्त्वपूर्ण जित निकालेको हो । अठासी रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा पराजित भयो । कोशीका लागि पूर्णिया राजवंशीले ३६ बलमा पाँच चौका प्रहार गर्दै सर्वाधिक २७ रन बनाइन् । कप्तान टीका शाहले १९ बलमा १५ रन जोडेकी छिन् ।

गण्डकीका बलरले बलिङ गर्दै कोशीलाई कम रनमा समेट्न मुख्य भूमिका खेलेका थिए । जवाफी ब्याटिङमा उत्रिएको गण्डकीका कप्तान कुसुम गोदारले इनिङ्स खेल्दै ४३ बलमा पाँच चौका प्रहार गरी अविजित ४२ रन बनाइन् । चन्द्रमाया बरालले ३७ बलमा १७ रन जोड्दै गर्दा टोलीका अन्य ब्याटर आउट र तीन जना ब्याटर रनआउट भए ।

कोशीको जीतको मुख्य नायक बलर रञ्जना साउदले बलिङ गर्दै गण्डकीका मुख्य ब्याटरलाई ‘पेभिलियन’को बाटो देखाइदिइन् । रञ्जनाले कप्तान टीका शाहको क्याचमार्फत कुसुम गोदारलाई सघाउनुका साथै पूर्णिया राजवंशी र खुसीकुमार राजवंशीलाई आफ्नै बलमा क्याच आउट गराइन् । उनले दीपशिखा भुजेललाई बोल्ड र कृतिका धामीलाई एलबीडब्लु धरापमा पार्दै उत्कृष्ट प्रदर्शन गरेकी छिन् । कोशीका रञ्जना साउद ‘प्लेयर अफ दी म्याच’ घोषित भएकी हुन् ।

खेलमा घरेलु टोली कर्णाली बागमतीका अगाडि कमजोर बन्यो । लगातार पाँचौँ खेलमा पराजित भएको कर्णालीविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा १३० रनको सम्मानजनक योगफल खडा गरेको थियो । एक सय ३१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली बागमतीका बलर कृष्मा गुरुङको बलिङसामु निरीह बन्नुपर्‍यो ।

पहिले ब्याटिङ गरेको बागमतीका लागि ब्याटर लक्ष्मीमाया रुम्बा लामाले उत्कृष्ट इनिङ्स खेल्दै ४३ बलमा छ चौकाको मद्दतले सर्वाधिक ४७ रन जोड्न् । यस्तै, विकेटकिपर प्रथा श्रेष्ठले ३३ बलमा तीन चौका प्रहार गर्दै ३० रन बनाउँदा कृष्मा गुरुङले १५ बलमा अविजित १५ रन जोड्न सफल भइन् । बलिङतर्फ कर्णालीका सोनिसा चन्द, पास्ना योञ्जन र सोबिका शाहीले एक–एक विकेट लिए ।

एक सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशको सुरुआत निराशजनक रह्यो । टोलीका लागि कप्तान तिर्सना विश्वकर्माले एक्लै ४६ बलमा सात चौका प्रहार गरी ४३ रनको इनिङ्स खेलिन् । ओपनर सोबिका शाहीले नौ रन जोड्दा टोलीका चार जना ब्याटर शून्य (डक) रनमा आउट भए ।

कर्णालीको इनिङ्सलाई कमजोर पार्ने बागमतीकी कृष्मा गुरुङ एक्लैले पाँच विकेट लिँदै सोबिका शाही, उमा चौधरी, पास्ना योञ्जन, अन्जिला थापा र समीक्षा बिसीलाई ‘पेभिलियन’को बाटो देखाइदिइन् । त्यस्तै दिपिकाकुमारी बोहराले दुई तथा पूजा साउद र सम्भाव्या ढकालले एक(एक विकेट लिए । अलराउन्ड प्रदर्शन गर्दै अविजित १५ रन र पाँच विकेट लिएकी बागमतीकी कृष्मा गुरुङ खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप