बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

मेयर बालेनको आरोपमा यसरी झोक्किए प्रधानमन्त्री प्रचण्ड

सोमबार, ०२ पुस २०८०, १३ : ०७
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । सोमबार ललितपुर महानगरपालिकाले १०५ औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्त्याएको थियो । संघ र प्रदेश सरकारका मन्त्रीहरूलाई विशेष अतिथिका रुपमा बोलाएको थियो ।

कार्यक्रमको अतिथिको रुपमा छिमेकी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आएका थिए । सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड बालेनको व्यवहारप्रति रुष्ट हुँदै आफूलाई इरिटेसन भएको अभिव्यक्ति दिए । सोही कार्यक्रममा बालेनले आफुले गरेको काममा प्रदेश र संघ सरकारले भाँजो हालेकोमा आक्रोश पोखेका थिए । पाँच मिनेटदेखि एक घण्टामा हुने काममा पनि सहयोग नगरेकोमा प्रधानमन्त्रीसँग उनले आक्रोश पोखेर उनी मञ्चबाट हिँडेका थिए ।  

आफूमाथि आरोप लगाउने अनि प्रमुख अतिथिले बोलेको सुन्दै नसुनि हिँडेको भन्दै प्रचण्ड निकै झोक्किए । प्रधानमन्त्रीले यस्तो आक्रोश पोखिँरहँदा मञ्चमा आसिन अन्य अतिथि र सहभागीहरू मज्जाले हाँसेका थिए ।  

‘बालेन्द्रजी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँडिहाल्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ । आफूले जे–जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने हुनुहुँदैन । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म’, बालेनसँग झोक्किँदैन प्रचण्डले भने, ‘उहाँले भन्नुभयो, यहाँबाट निस्कने बित्तिकै हुन्छ । बालेन्द्रजी चाहे तपाईंले बागमतीको किनारमा बसेकामथि हस्तक्षेपको कुरा होस् वा तीनकुनेको मुआब्जाको विषय होस्, चाहे काठमाडौँ उपत्यकाभित्र फोहोर व्यवस्थापनका लागि मिलेर काम गर्ने सम्बन्धमा सिंहदरबारमा कति पटक बैठक भयो ? के अहिलेको प्रधानमन्त्रीको जत्तिको सकारात्मक, रचनात्मक रुपले समस्या समाधान गर्न समन्वय गरेको अन्य कोही कतै देख्नुभएको छ ?’ 

प्रधानमन्त्रीले भने– ‘तपाईँ त्यसलाई ‘रिकजनाइज’ गर्न किन डराउनुहुन्छ ? तपाईँ काठमाडौं महानगरपालिकाको मेयर भएका नाताले काठमाडौँ र ललितपुरका अन्य पालिकाकासँग समन्वय गर्न बढी जिम्मेवारी छ । म तपाईंलाई सहयोग गर्छु भनेर गरेका कुरा रिकजनाइज गर्न  केले  रोक्यो ? प्रधानमन्त्रीले बल गरिराखेको छ भन्न केले रोक्यो ?  यतिको सहयोगी  प्रधानमन्त्री अरु पाउन सक्नुहुन्छ ? मैले गरेको कामको रिकजनाइज गर्न तपाईँलाई केले रोक्यो ?’  

त्रिविको ४९ औं दीक्षान्त समारोहमा जान अलि हतार देखिएका प्रधानमन्त्रीले तीनवटै सरकारसँग सहकार्य गर्न आफु तयार रहेको बताएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप