चिनियाँ जहाज लिलामी नगर्न सांसदहरुको माग

काठमाडौँ । पाँच वटा चिनियाँ जहाज लिलामी नगर्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले नेपाल एयरलाइन्सले आज नै दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको जानकारी आएको भन्दै लिलामी रोक्नुपर्ने बताए ।
उनीहरुले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भरमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे । सांसदहरुले जहाज किन्ने बेलामा कुन सर्त र औचित्यको आधारमा खरिद भएको र अब किन कवाडीको मूल्यमा बेच्न लागिएको भन्नेकुरा संसदलाई जानकारी दिनुपर्ने बताए । उनीहरुले जहाज खरिदपछि २ अर्ब रुपैयाँ खर्च लाग्नु देशको लागि दुभाग्यपूर्ण भएको उल्लेख गरे ।
सांसदहरुले अर्बौं रुपैयाँ ऋण गरेर जहाज खरिद गर्ने र प्रयोगमा नल्याई राज्यलाई अर्बौंको घाटा लगाएर लिलामी गर्नु राज्यको कमजोरी भएको बताए । उनीहरुले भएका जहाज लिलामीमा राख्ने र नयाँ जहाज खरिद गर्दा २२ वटा विमानस्थलहरु सञ्चालनमा आउने ग्यारेन्टी कसले लिने ? भन्दै प्रश्न गरे ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले चिनियाँ जहाज खरिद गर्दाको सर्त र औचित्यको पुष्टि गर्नुपर्ने बताए । चिनियाँ जहाज खरिद गरेर राज्यलाई ३ अर्बको ऋण बोकाउने काम भएको बताए । अहिलेसम्मको खर्च हेर्दा करिब २ अर्ब बढी भार थपिनु दुर्भाग्य भएको उनले उल्लेख गरे । उनले चीन सरकारको ३ अर्ब रुपैयाँ जहाज लिलाम गरेर तिर्न सकिन्छ ? भन्दै प्रश्न गरे । उनले हवाई सुरक्षाको विषयमा युरोपियन युनियनले भनेको कुरालाई मान्नुपर्ने भन्ने नभएको बताए । उनले सरकारले वास्तविकतालाई हेरेर काम गर्न आवश्यक रहेको बताए ।
कांग्रेसकै सांसद प्रकाशमान सिंहले पर्यटनमन्त्रीले २२ वटा विमानस्थलहरु जहाज नभएको कारण सञ्चालन गर्न नसकिएको बताएको भन्दै नयाँ जहाज खरिद गर्दैमा विमानस्थल सञ्चालन गर्ने सरकारको योजना बताउन आग्रह गरे । निगमले जहाज मात्रै किन्ने अनि चिनियाँ जहाज जस्तै बनाउने योजना हो ? भन्दै उनले प्रश्न गरे । उनले चिनियाँ जहाज किन्दा पनि राम्रो उडान गर्ने भनेर लिएको भन्दै नेपाल एयरलाइन्सलाई घाटामा लैजाने काम गरेको बताए ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले चिनियाँ जहाज खरिद गर्नेहरुलाई कानुनी कठघरामा सरकारले ल्याउन सक्नुपर्ने बताए । उनले जहाज खरिद गर्ने बेलामा के औचित्यको आधारमा खरिद गरिएको थियो ? भन्ने कुरा अध्ययन नगरी बेच्न नहुने बताए । उनले मन्त्रीपिच्छे उनीहरुको योजनाअनुसार पछाडि हिँड्न नहुने बताए । उनले निगमले ५ चिनियाँ जहाज बेच्ने हो भने समितिले रोक्नुपर्ने बताए ।
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ विधेयकको अवस्थाबारे मन्त्रीले जानकारी दिनुपर्ने बताए । उनले निगमले आइकाओको कालोसूचीबाट हटाउनको लागि केके काम भएको हो सोबारे समितिलाई जानकारी दिनुपर्ने बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याल्डलिङ नेपाल वायुसेवा निगमबाट खोसेर निजी कम्पनीलाई दिनेकुरा स्वीकार गर्न नसकिने बताए ।
निगमले ५ वटा जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेर राखेको छ । आन्तरिक उडानका लागि चीनबाट २०७१ सालपछि भित्राउन सुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र व्यहोरेको छ । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा व्यहोरेको छ । सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो नदिएपछि नेपाल वायुसेवा निगमले भाडामा लगाउन खोजेको थियो । तर भाडामा लिन कोही आएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)