शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल प्रो क्लब च्याम्पियनसिप : पुलिससँग केही लागेन सशस्त्रको

आइतबार, ०८ पुस २०८०, १२ : ५६
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८९ रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा तीन खेल खेलेको पुलिस क्लबले दुई जित र एक हारको नतिजा निकालेको छ ।

एपीएफ क्लबले भने दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको छ । टस जिती पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने १३.२ ओभरमै अलआउट हुनुअघि ५१ रनमात्र बनाउन सक्यो ।

एपीएफ क्लबका लागि एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान प्रदीप ऐरीले २२ रन बनाए । उनले २३ बलमा एक छक्का र एक चौका प्रहार गरे । उनी टोलीका कप्तान पनि हुन् ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफ क्लबका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । पुलिस क्लबका बलर शेर मल्ल एक्लैले पाँच विकेट लिए । उनले २.२ ओभरमा केवल तीन रन खर्चिए । ललित राजवंशीले दुई विकेट हात पारे । सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट लिए ।

त्यसअघि वीरगञ्जस्थित नारायणी रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबका लागि माथिल्ला तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । ओपनर दिलीप नाथाले अर्धसतक बनाए । उनले टोलीको खातामा ५६ रन थपे । उनले केवल ३८ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए ।

अर्का ओपनर सुनिल धमलाले पनि टोलीका लागि ३५ रनको योगदान गरे । सुनिलले ४३ बलमा तीन चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शंकर राणाले अविजित २२ रन बनाए । उनले केवल १७ बलको सामना गरी दुई छक्का प्रहार गरे । कप्तान आरिफ शेख शून्य रनमै पेभेलियन फर्किए भने रासिद खानले पाँच रन बनाए । करण केसीले टोलीको खातामा नौ रन थपे ।

शेर मल्ल भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अमित श्रेष्ठ शून्य रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रुपमा १३ रन पाएको थियो । एपीएफ क्लबका बलर अविनाष बोहराले तीन विकेट लिए । रमेश कुर्मीले पनि दुई विकेट हात पारे । कमल खत्रीले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप