शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस जिल्ला समितिहरुले पठाए पार्टीका रिक्त पदको विवरण

सोमबार, ०९ पुस २०८०, १८ : ५२
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसको प्रदेश र जिल्ला कार्यसमितिले पार्टीका विभिन्न तहमा भएको रिक्त पदको विवरण पठाएका छन् । कांग्रेस महामन्त्री गगन थापाले मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ–नगरपालिका र वडा तहका कार्यसमितिमा निर्वाचन र मनोनयन गर्न बाँकी पदको विवरण मागेको थियो । कांग्रेसमा विधानअनुसार केन्द्रीय समितिसहित आठ तहमा संगठन संरचना छ । पार्टी विधानमा हरेक तहका कार्यसमितिका सभापतिलाई २० प्रतिशत सदस्य मनोनयनको अधिकार छ भने पदाधिकारीमध्ये कोषाध्यक्ष कार्यसमिति बैठकबाट मनोनीत गर्ने व्यवस्था छ ।

कांग्रेसले तल्ला तहका रिक्त पद पूर्तिका लागि पहल गरे पनि केन्द्रीय कार्यसमितिकै महत्त्वपूर्ण पद भने रिक्त छन् । सभापति शेरबहादुर देउवाले अहिलेसम्म पनि केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष मनोनीत गर्न सकेका छैनन् । अझै केही केन्द्रीय सदस्य पदसमेत रिक्त छन् भने पार्टीका विभाग गठन हुन सकेका छैनन् ।

प्रदेशले पठाएको विवरणमा जिल्ला सभापति, उपसभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पालिका र वडाका पदाधिकारी संख्या बढी छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलालका अनुसार ८६ जना महाधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

संखुवासभामा नेपाली कांग्रेसको जिल्ला सभापतिको पद रिक्त छ । १४ औँ महाधिवेशनताका निर्वाचित दीपक खड्काले राजीनामा दिएपछि संखुवासभामा सभापति पद रिक्त छ ।

जिल्ला सभापति खड्काले गत असोज १० गते पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेस मादी नगर सभापतिको पद पनि रिक्त छ । नगर सभापति यादव खड्काले पार्टी परित्याग गरेको जिल्ला सभापति टंकमान घलेले केन्द्रमा पठाएको विवरणमा उल्लेख छ ।

उदयपुरमा कांग्रेसमा विभिन्न तहमा १६ पद रिक्त रहेको अवस्था छ । उदयपुरको क्षेत्र नम्बर २ मा सभापतिको पद रिक्त छ । क्षेत्रीय सभापति रामकुमार राई २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवार बनेपछि निस्कासित भएका थिए ।

यस्तै उदयपुरको क्षेत्र नम्बर २ प्रदेश (ख) मा सभापति र उपसभापति पद रिक्त छ । प्रदेश (ख)का सभापति कृष्ण थापा कटहरी नगर प्रमुखमा बागी र उपसभापति माधव रास्कोटी उपप्रमुखको बागी उम्मेदवार बनेका थिए ।

यस्तै बागी उम्मेदवार बनेका महाधिवेशन प्रतिनिधि रमिला राई र मनकुमारी भुजेल पनि पार्टीबाट निष्कासित हुँदा पद रिक्त छ । दुई जना प्रदेश महाधिवेशन प्रतिनिधि, उदयपुरगढी गाउँपालिका उपसभापति, सचिव, चौदण्डीगढी नगर उपसभापति, चार वटा वडा सभापतिको पद रिक्त छ ।

कांग्रेस सुनसरीमा ६ जना जिल्ला कार्यसमिति सदस्यको पद रिक्त छ । जिल्ला कार्यसमिति सदस्य किशोर कुमार पाल, सहजादी प्रवीण आलम, सत्य नारायण मण्डल खत्वेले कांग्रेस छाडेर अर्को पार्टी रोजेका छन् भने धनकुमारी चौधरी र सतेन्द्रप्रसाद मेहता जिल्ला सदस्यबाट राजीनामा दिएर शिक्षक सेवामा फर्किएका छन् । मोहनकुमार श्रेष्ठले स्वेच्छाले पार्टी छाडेको जिल्ला सभापति केदार भण्डारीले पठाएको विवरणमा भनिएको छ ।

नेपाली कांग्रेस बाँकेका विभिन्न तहका अधिकांश पद रिक्त देखिन्छन् । दर्जनौँ क्षेत्रीय प्रतिनिधि, नगरसभापति, उपसभापति, सचिव, विभिन्न वडामा सभापति, सचिव, सदस्यको पद रिक्त रहेका जिल्ला सचिव सुधान्शु कोइरालाले पठाएको विवरणमा उल्लेख छ ।

रुपन्देही कांग्रेसले दुई नम्बरका क्षेत्रीय सभापति हरिप्रसाद लम्साल, क्षेत्रीय सहसचिव राजबहादुर क्षेत्री, देवदह नगरपालिका– ६ का सभापति रुकात्मक भारती र पदाधिकारीको पद रिक्त रहेको जनाएको छ । केहीले राजीनामा दिएको, केही अन्य पार्टीमा सक्रिय भएको, केही बागी उम्मेदवार हुँदा पद रिक्त हुन पुगेको रुपन्देही सचिव हरिप्रसाद काफ्लेले बताए ।

यस्तै नेपाली कांग्रेस दार्चुलामा जिल्ला उपसभापति, जिल्ला कार्यसमिति सदस्य र प्रदेशसभा (ख) सचिवको पद रिक्त छ । जिल्ला उपसभापति माओवादी केन्द्र प्रवेश गरेको अवस्था छ भने सदस्यको मृत्यु भएको हो । यस्तै प्रदेश (ख) सचिव वैदेशिक रोजगारीमा जाँदा पद रिक्त रहेको जिल्ला सभापति ललित सिंहले जनाए ।

नेपाली कांग्रेस गोरखामा विभिन्न तहका ८ पद रिक्त छन् । शहिदलखन गाउँपालिकाका सचिव बासु रेग्मी र गण्डकी गाउँपालिका ७ का सभापति ठाकुर थापा मगर विदेश लागेका छन् । यस्तै  गण्डकी गाउँपालिका ६ का सभापति माओवादी प्रवेश र भीमसेनथापा नगरपालिका–६ का उपसभापति रास्वपा प्रवेश गरेका छन् ।

शहिदलखन गाउँपालिका ९ का सचिव बागी उम्मेदवार, भीमसेनथापा नगरपालिका–१, ५ र ६ का वडा सभापतिले राजीनामा दिएपछि पद रिक्त छ । मङ्सिर समान्तसम्म रिक्त पदको विवरण बुझाउन निर्देशन दिए पनि अहिलेसम्म करिब ५० जिल्लाबाट विवरण आइपुगेको सचिव दुलालले बताए ।

उनले भने, ‘गएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवार, अन्य पार्टी प्रवेश, स्वेच्छाले राजीनामा, वैदेशिक रोजगारी, मृत्यु भएपछि पद रिक्त भएको विवरण प्राप्त भएको छ ।’ कांग्रेसले रिक्त पदमा तत्काल नै निर्वाचन गराउने छ । यही पुस १२ मा बस्ने केन्द्रीय समिति बैठकमा रिक्त पदबारे निर्णय कांग्रेसको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप