बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय निकुञ्ज

मानव–जनावरबिचको द्वन्द्व : बर्सेनि राहत वितरणमै सकिन्छ ३० करोड

वन्यजन्तुको बासस्थान बनाउन र जोगाउन सकस
शुक्रबार, १३ पुस २०८०, ०९ : २२
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । पछिल्लो पटक मानव र जङ्गली जनावरबिचको द्वन्द्व बढ्दै गएको छ । मानव बस्तीमा हात्ती, बँदेल, बाँदर लगायत जङ्गली जनावर प्रवेश गरेर घर भत्काउने, बालीनाली नष्ट गर्ने र स्थानीयमाथि आक्रमण गर्ने क्रम रोकिएको छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यी समस्या सुधारसँगै जनावरको व्यवस्थापनका लागि वार्षिक करोडौँ बजेट छुट्याउँदै आएको छ । तर, पनि मानव–जनावरबिचको द्वन्द्व रोकिएको छैन । निकुञ्जबाट बाहिर निस्किएर बाघले पशुपन्छीसँगै मान्छे मार्दै आएका घटना प्रकाशमा आइरहेका छन् ।

निकुञ्जले निकुञ्ज र आरक्ष (वन्यजन्तुको सुरक्षा र रुख–बिरुवाहरुको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम) को लागि २०७८ मा चालु र पुँजीगत गरी एक अर्ब ६१ करोड ८२ लाख रुपैयाँ छुट्याएको थियो । यो सँगै प्रत्येक वर्ष साढे १६ करोडको हाराहारीमा निकुञ्ज तथा आरक्षका लागि बजेट छुट्याउँदै आएको निकुञ्जका लागि अझै बजेट अपुग हुने बताइन्छ ।

निकुञ्ज विभागका प्रमुख एवं महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाका अनुसार वन्यजन्तुको संरक्षण र त्यसमाथि पनि बाघको उचित संरक्षण र व्यवस्थानका लागि बजेट अपुग छ । उनका अनुसार एउटा बाघ राख्ने खोर बनाउनमात्रै एक करोड रुपैयाँ भन्दा धेरै लाग्छ । ‘खोर बनाउन त महँगो हुने नै भयो, एउटा बाघको दैनिक खुराक ६ किलो रातो मासु हो, सामान्य खोरमा बाघलाई राखेर हुँदैन,’ ढुंगानाले रातोपाटीसँग भने, ‘आरक्षलाई छुट्याइएको भनेको एक अर्ब रुपैयाँ त्यसका लागि मात्रै खर्च हुँदैन । अन्य शीर्षकमा पनि हुन्छन् । यतिले पुग्दैन ।’

अहिले पनि १९ वटा हिंस्रक बाघ विभिन्न राष्ट्रिय निकुञ्जका खोरमा राखिएका छन् ।

विभागका अनुसार जावलाखेलमा ६, चितवनमा ६, बर्दियामा ४, पर्सामा २ र बाँकेमा १ वटा गरी १९ वटा बाघ खोरमा छन् । यी बाघको संरक्षणका लागि दैनिक एक सय ४४ किलो राँगाको मासु आवश्यक पर्छ ।

‘हामीले बाघको संख्या दोब्बर बनाउनुपर्छ भन्यौँ, तर तेब्बर भयो । बाघ पाल्न गाह्रो रहेछ,’ डा. ढुंगानाले भने, ‘अब जङ्गल बढाउन पनि सकिएन । बाघ कुनै न कुनै रुपमा निकुञ्जबाट सडकमा निस्किएर मानिसमाथि आक्रमण गरिहाल्छ ।’

त्यसो त तारबार बेर्नका लागि समेत निकुञ्जसँग बजेट अभाव हुने गरेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा विभिन्न निकुञ्जले जम्मा २५ किलोमिटर पेरिमिटरमा मेषजाली सहितर तारबार गरेको थियो । यो वर्ष त्यति पनि नहुने ठम्याइ विभागको छ । यो वर्ष मङ्सिरसम्म बाँकेको रानीमा जम्मा एक किलोमिटर मेषजालीसहित तारबार निर्माण भएको विभागले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजनाका लागि मङ्सिरसम्ममा ३६३.२ हेक्टर (शुक्लाफाँटा, कोशी, बर्दिया र पर्सा राष्ट्रिय निकुञ्ज) मा घाँसे मैदान व्यवस्थापन गरिएको छ । यसै आयोजना अन्तर्गत संरक्षणमा खटिने एक हजार एक सय ६४ कामदारहरुको जोखिम बीमा गरिएको विभागले जनाएको छ । विभागका अनुसार यो आर्थिक वर्षको मङ्सिरसम्ममा आयोजना अन्तर्गत जनावरलाई आवश्यक पर्ने १२ वटा पानी पोखरी, १९७ किलोमिटर वनपथ मर्मत, १० किलोमिटर अग्नि रेखाको निर्माण र मर्मतसँगै ११ किलोमिटर पर्यटक पदमार्ग मर्मत तथा निर्माण र ९ वटा भ्यू–टावर (मचान) को मर्मत गरिएको छ । विभागका महानिर्देशक डा. ढुंगानाले भने, ‘यो पनि पर्याप्त होइन । बजेटले भ्याएसम्म हामीले काम गरेका छौँ ।’

घाँसे मैदान व्यवस्थापन कार्यविधि भर्खरमात्रै स्वीकृत भएको छ । तर, सार्वजनिक खरिद ऐनका कारण ठेक्का लगाउन समस्या छ । भदौ, मङ्सिर र चैतमा गरी तीन पटक घासे मैदान व्यवस्थापनको कार्य अगाडि बढाउनुपर्ने कार्ययोजना रहे पनि ऐनका कारण पुसमा मात्रै काम सुरु हुने हुँदा समस्या आएको ढुंगाना बताउँछन् । यो आर्थिक वर्षको मङ्सिरसम्ममा निकुञ्ज तथा आरक्षणले घाइते तथा टुहुरा भएका विभिन्न ७ सय २५ वटा वन्यजन्तुको उद्धार र पुनर्स्थापना गरेको छ ।

विभागलाई यस वर्ष पुँजीगत र चालुगरी दुई अर्ब १३ करोड ६६ लाख बजेट छुट्याइएको छ ।

राहत वितरणमै जान्छ बर्सेनि ३० करोड ९ लाख

वन्यजन्तुबाट आक्रमणसँगै बाली नष्ट हुँदा राहतबापत बर्सेनि ३० करोड ९ लाख रुपैयाँ खर्च हुने गरेको विभागले जनाएको छ । राहत वितरणको अवस्था हेर्दा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज खर्चिलो देखिन्छ । आर्थिक वर्ष २०७५-०७६ देखि २०७९-०८० सम्म चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १० करोड २० लाख ६१ हजार रुपैयाँ राहतबापत वितरण गरिएको विभागले जनाएको छ । चितवनपछि क्रमशः बर्दिया, कोशीटप्पु, शिवपुरी, सगरमाथा, शुक्लाफाँटा, शे–फोक्सुण्डो, बाँधे, पर्सा, लामटाङ, गौरीशंकर, मकालुवरुण राष्ट्रिय निकुञ्ज र आरक्षहरु क्रमशः अपिनाम्पा, अन्नपूर्ण, मनास्लु, कृष्णसार, कञ्चनजङ्गा, रारा र ढोरपाटनमा राहत वितरण हुँदै आएका छन् । निकुञ्ज र आरक्ष गरी २० वटा सेक्टरमा चार वर्षयता राहत वितरणस्वरुप एक अर्ब २० करोड ३७ लाख ४१ हजार रुपैयाँ खर्च गरिसकेको विभागले जनाएको छ ।

१६ वटा वन्यजन्तुबाट भएको क्षतिस्वरुप राहत पाइन्छ

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० मा १६ वटा वन्यजन्तुबाट आक्रमण, पशुधन क्षति, अन्नको क्षति, घरगोठ क्षति, माछा क्षति र कुखुराको क्षति भएको अवस्थामा राहत पाइने ÷ नपाइने भनेर उल्लेख गरेको छ । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्बाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरीगाई, अजिङ्गर, नीलगाई र बाँदरले मानवीय क्षति (सामान्य घाइते, गम्भीर घाइते र मृत्यु) पुर्याएमा राहत पाउँछन् ।

janawar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप