सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस प्रदेशमै पहिलो हाइकिङ रुट बारामा

आन्तरिक तथा बाह्य पर्यटकका लागि राम्रो गन्तव्य बन्ने दाबी
शनिबार, १४ पुस २०८०, १५ : ३७
शनिबार, १४ पुस २०८०

बारा  । उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने हाइकिङ तराई, मधेसका जिल्लाहरूमा बिरलै भेटिन्छ । तर मधेस प्रदेशमा बाराको अमलेखगन्जमा पर्यटकका लागि पहिलो हाइकिङ रुट निर्माणको काम धमाधम भइरहेको छ । पर्यटन बोर्ड र जितपुर–सिमरा उपमहानगरपालिकाको संयुक्त लगानीमा बाराको अमलेखगन्जमा करिब ४ किलोमिटर क्षेत्रमा हाइकिङ रुटको निर्माण थालिएको हो । 

यो हाइकिङ रुट मधेस प्रदेशकै पहिलो हो । करिब ९ सय मिटर उचाइमा रहेको यो हाइकिङ रुट पर्सा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ । 

h1

मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन सचिव सुशील साहले अमलेखगन्जमा निर्माण भइरहेको हाइकिङ रुट मधेस प्रदेशमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि राम्रो गन्तव्य हुन सक्ने बताएका छन् । ‘मधेस प्रदेशमा यो राम्रो सम्भावना बोकेको हाइकिङ गन्तव्य हुन सक्छ । यसका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मिलेर अझ राम्रो र व्यवस्थित बनाउनु पर्छ,’ मधेस प्रदेशका पर्यटन सचिव साहले भने, ‘यसमा प्रदेश सरकारको खासै लगानी छैन तर अगामी आर्थिक वर्षको कार्यक्रममा यो रुट निर्माणका लागि मधेस प्रदेश पर्यटन मन्त्रालयबाट अवश्य केही न केही बजेट छुट्याएर व्यवस्थित गर्छौं ।’

यसका लागि अमलेखगन्जबाट चकरी जाने बाटोमा पर्ने दुधौरा खोलामा रहेको झोलुङ्गे पुलदेखि तेर्सो उकालो हुँदै झन्डै ३ किलोकिटर यात्रा गरेपछि सिद्धबाबा मन्दिर पुगिन्छ । त्यहाँबाट करिब ४ किलोमिटर यात्रा गरेपछि पूर्वपश्चिम राजमार्गको ३ नम्बर पुलसम्म पुग्न सकिन्छ । सोही अनुसार पहिलो चरणमा सिद्धबाबा मन्दिरसम्म पुग्ने रुट निर्माणको काम भइरहेको छ । 

यो हाइकिङ रुट निर्माण गर्न पर्यटन मन्त्रालयले २१ लाख र जितपुर सिमरा उपमहानगरले २० लाख बजेट विनियोजन गरेको छ । जसअन्तर्गत उपमहानगरको वडा नं ६ मा होमस्टे निर्माण गर्ने योजनामा उल्लेख गरिएको छ । जितपुर सिमरा वडा नं २२ का वडाध्यक्ष शेखरकाजी रुम्बाले हाइकिङ रुट निर्माणका लागि २१ लाख रुपियाँ बजेट अत्यन्तै कम भएको बताएका छन् । ‘१५ लाख रुपैयाँ सिँढी निर्माणका लागि मात्रै लाग्छ भने बाँकी रकम ट्रस्ट बनाउन खर्च हुने योजनामा उल्लेख छ । तर ४१ लाख बजेट हाइकिङको रुट निर्माणसँगै प्रतीक्षालय, खानेपानी, फोहोर व्यवस्थापन र सौन्दर्यीकरणमा खर्च गरौँ भन्ने हाम्रो विचार हो,’ वडाध्यक्ष रुम्बाले भने । 

h4

पर्यटकहरूले सो क्षेत्रमा हाइकिङ गर्ने क्रममा सिद्धबाबाको मन्दिरसम्म पुग्दा दक्षिणतर्फ हरियाली र मनमोहक दृश्यसँगै चुरेबाट बग्ने दर्जनौँ खोलानाला, पर्सा राष्ट्रिय निकुञ्ज, नजिकैको अमलेखगन्ज र सिमरा बजारको मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । 

साथै सफा मौसम भएको बेला उत्तरतर्फ प्रस्टसँग हिमाल, तल मधेसका फाँटका सुन्दर बस्ती देख्न सकिन्छ । 

नेपाल ट्रभल एन्ड टुर गाइड एसोसिएसन (नाटा) का मधेस प्रदेश अध्यक्ष मोहन शर्माले पर्सा राष्ट्रिय निकुञ्ज र पूर्वपश्चिम राजमार्गको एक छेउबाट सुरु भएर अन्तिम बिन्दु पनि राजमार्ग जोड्ने खालको हाइकिङ रुट मधेस प्रदेशमा मात्रै नभएर नेपालका थोरै ठाउँमा भएको बताएका छन् । ‘यो हाइकिङ रुटले पर्यटन र होटल व्यवसाय क्षेत्रलाई आर्थिक चलायमान बनाउँछ भने बारा जिल्लाको चिनारीसमेत बढाउँछ । यसका लागि निजी क्षेत्र र तीनै तहको सरकार मिलेर थप लगानी बढाएर यसलाई अझ आकर्षक बनाउनु पर्छ,’ नाटाका मधेस प्रदेश अध्यक्ष शर्माले भने । 

समुद्री सतहबाट करिब ९ सय मिटर उचाइमा रहेको यो हाइकिङ रुट उत्तरतर्फ मकवानपुर जिल्लासँग जोडिएको छ । छिमेकी जिल्ला मकवानपुर, बाराको पवित्र धार्मिक स्थल गढीमाई मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरूका लागि हाइकिङले झनै आनन्द दिने पर्यटन व्यवसायी मोहन शर्माले बताएका छन् । बारामा विशेष गरी गढीमाई दर्शन, निकुञ्ज सफारी गर्न भारतीय पर्यटक आउने गर्छन् । तर राम्रो प्रचारप्रसार गर्न सके चितवन राष्ट्रिय निकुञ्ज आएका तेस्रो मुलुकका पर्यटकलाई पनि हाइकिङमा जोड्न सकिने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

h8

जितपुर–सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले चालु आर्थिक वर्षमा नेपाल पर्यटन बोर्ड र उपमहानगरको संयुक्त लगानीका हाइकिङ रुट निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाएर अगामी महिनाभित्रमा सञ्चालनमा ल्याउने जनाएका छन् । ‘यो आर्थिक वर्षमा छुट्याइएको ४१ लाखमध्येबाट वडा नं ६ मुसहर बस्ती र वडा नं २२ को चकरीमा हामेस्टे स्थपना गर्ने लक्ष्य छ,’ नगप्रमुख पौडेलले भने ‘पर्यटन प्रवद्र्धन गर्ने र जनतालाई आयआर्जनसँग जोड्ने गरी हामीले काम गरिरहेका छौँ ।’ 

सो हाइकिङ रुट निर्माणको अवस्था बुझ्नको सोमबार मधेस प्रदेशका पर्यटन सचिव सुशील साह, नगरप्रमुख राजन पौडेल नाटाका मधेस प्रदेश अध्यक्ष मोहन शर्मा, वडाध्यक्षहरू सुभाष श्रेष्ठ, शेखरकाजी रुम्बालगायतले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगरप्रमुख पौडेलले हाइकिङ रुट निर्माणका लागि नपुग बजेटका लागि उपमहानगरले सहयोग गर्ने तर छिटोछरितो र गुणस्तरीय काममा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । पौडेलले विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि पनि राम्रो भ्रमण गन्तव्य बन्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप