शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी पुग्यो, २११ जना बेपत्ता

शनिबार, २१ पुस २०८०, २२ : १३
शनिबार, २१ पुस २०८०

टोकियो ।  जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् । 

यसैबिच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ । भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएकोे छ । भवन भत्किँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।  

जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यस क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।

जापानको राष्ट्रिय समाचार संस्था (क्योदो) का अनुसार भूकम्पका कारण इशिकावाका पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।  स्थानीय समयअनुसार शनिबारसम्म २४ हजार घरधुरीले विद्युत अवरोधको सामाना गर्नुपरेको छ ।  १४ वटा सहरका ६६ हजार घरधुरी खानेपनी विहीनताको अवस्थामा छन् । 

वाजिमाबाट ३० किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित भएको विनाशकारी भूकम्पको अधिकतम तीव्रता ७ रेक्टर रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप