आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल

आइतबार, २२ पुस २०८०, १३ : ०७
आइतबार, २२ पुस २०८०

काठमाडौँ । सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवारको टुंगो लगाउन छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति भएसँगै ती दल आन्तरिक छलफलमा जुटेका हुन्। उक्त सहमतिपछि कांग्रेसका शीर्ष नेता सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आन्तरिक छलफलमा छन् ।

संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र संसदीय प्रमुख सचेतक रमेश लेखक सहभागी छन् भने इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापा छन् । आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।

यस्तै माओवादी केन्द्रका पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । उक्त बैठकबाट उम्मेदवार टुंगो लगाउने माओवादीको तयारी छ ।

यस्तै एकीकृत समाजवादीको  सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा चलिरहेको छ । एकीकृत समाजवादीले गठबन्धनमा भएको सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ । ती सिट दाबी गरेपनि दुई मात्र पाएपछि एकीकृत समाजवादी असन्तुष्ट देखिएको छ ।

यता जनता समाजवादी पार्टीको पनि उम्मेदवारको टुंगो लगाउन कार्यकारिणी समितिको बैठक चलिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको जसपाका नेताहरूले बताएका छन् । 

माघ ११ मा हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ । लामो रस्साकस्सीपछि गठबन्धनमा सिट बाँडफाँट टुंगिएपछि दलहरू उम्मेदवार टुङ्ग्याउन लागि परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप