बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट डिप्लोमेसी

भारतसँग कस्तो सहयोग लिन सक्छ नेपाली क्रिकेटले ?

परराष्ट्र मन्त्रालयमा ‘स्पोर्टस डिप्लोमेसी’ को अभाव
सोमबार, २३ पुस २०८०, १२ : १६
सोमबार, २३ पुस २०८०

काठमाडौँ । नेपाली राजनीतिज्ञ वा सरकार प्रमुखहरूको विदेश भ्रमण होस् वा विदेशी सरकारका प्रतिनिधि वा राजनीतिज्ञहरूको नेपाल भ्रमण, खेलकुद क्षेत्र खासै छलफल वा चासोको विषय बन्दैन । यस्ता भ्रमणमा खेलकुदको विषयमा सामान्य चर्चासमेत हुँदैन । 

गत बिहीबार भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल भ्रमणमा आए । छोटो भ्रमणमा नेपाल आएका भारतीय विदेशमन्त्रीले नेपाली क्रिकेटलाई पनि आफ्नो एजेन्डामा पारे । आफ्नै विशेष पहलमा भारतीय विदेशमन्त्रीले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र राष्ट्रिय टोलीका खेलाडीहरूसँग भेटे । 

भारतीय विदेशमन्त्रीले नेपाली क्रिकेटको स्तरवृद्धिका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको सन्देश पनि दिए । काठमाडौँको द्वारिका होटलमा भएको भेटका क्रममा जयशङ्करले क्यानका पदाधिकारी र राष्ट्रिय टोलीका खेलाडीसँग भारतले गर्न सक्ने सहयोगको विषयमा लामै छलफल गरे । 

भेटका क्रममा भारतीय विदेशमन्त्रीले नेपाली क्रिकेटको स्तरवृद्धिका लागि स्पष्ट योजना लिएर आए भारत सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । भारतीय विदेशमन्त्री जयशङ्करले नेपाली क्रिकेटको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना लिएर आउन क्यानका पदाधिकारीलाई सुझाव दिए । 

jay sankar

क्यानका पदाधिकारीले तत्कालका लागि कीर्तिपुर क्रिकेट मैदानको स्तरवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाइदिन आग्रह गरे । यसका अतिरिक्त क्यानका पदाधिकारीले नेपाल र भारतबिच दुई पक्षीय क्रिकेट शृङ्खला खेलाउने वातावरण मिलाइदिन पनि आग्रह गरे ।

त्यसको जवाफमा भारतीय विदेशमन्त्रीले क्यानले सम्बन्धित निकायमार्फत स्पष्ट योजना लिएर आए भारत सरकार नेपाली क्रिकेटको स्तरवृद्धिका लागि हरेक प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । जयशङ्करसँगको भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीलगायत ६ खेलाडीको उपस्थिति रहेको थियो ।

सम्भवतः कुनै पनि देशको वरिष्ठ सरकारी अधिकारी नेपाल भ्रमणमा आउँदा खेलकुद क्षेत्रको विकासका बारेमा खुलेर छलफल भएको यो पहिलो अवसर थियो । तर यस्तो वातावरण एकाएक भने बनेको होइन । यसको प्रमुख कारण हो नेपाली क्रिकेटले छोटो समयमा अन्तर्राष्ट्रिय खेलमञ्चमा हासिल गरेको महत्त्वपूर्ण उपलब्धि । 

  • सीमित स्रोत–साधनबिच महत्त्वपूर्ण उपलब्धि

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्राको इतिहास धेरै लामो छैन । नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको २८ वर्ष पनि पुगेको छैन । नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । 

त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २८ वर्ष पुग्न लागेको छ । नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि नै भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एकदिवसीय विश्वकपको उपाधि नै चुमिसकेका थिए । 

तर पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छोटो समयमै नेपालले विश्व क्रिकेटमा कोरेको इतिहास भने निकै गौरवशाली छ । यसबिचमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यतासमेत पाइसकेको छ । 

यसै गरी क्षेत्रीय स्तरका प्रतियोगिताहरूमा आफूलाई अब्बल राष्ट्रका रूपमा स्थापित गराएको छ । भारत, पाकिस्तान, श्रीलङ्का जस्ता बलिया टेस्ट राष्ट्रहरूसँग एसिया कप खेलिसकेको छ भने एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेको छ । 

यसका अतिरिक्त सन् २०१४ मै आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपाली टोलीले यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको नवौँ संस्करणमा पनि आफूलाई उभ्याएको छ । 

यति मात्र होइन, छोटो समयमै नेपाली क्रिकेट टोलीले उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश जस्ता प्रभावशाली राष्ट्रहरूलाई समेत हारको स्वाद चखाइसकेको छ । अनि सबैभन्दा महत्त्वपूर्ण पक्ष, यी गौरवपूर्ण उपलब्धि नेपाली खेलाडीले देशभित्र उपलब्ध निकै सीमित स्रोत–साधनको बिचबाट हासिल गर्दै आएका छन् । 

भौतिक पूर्वाधारको हिसाबले अवस्था कतिसम्म निराशाजनक छ भने देशभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न एउटा सुविधा सम्पन्न क्रिकेट स्टेडियमसम्म छैन । आवश्यकता अनुसार नियमित प्रतियोगिता छैनन् । एकदिवसीय मान्यतापछि टेस्ट मान्यताको लक्ष्य बोकेका नेपाली खेलाडीले ५० ओभरमै प्रतियोगिताहरू पनि प्रशस्त खेल्न पाएका छैनन् । 

अझ त्योभन्दा लामो ढाँचाको प्रतियोगिता त नेपाली खेलाडीका लागि आकाशको फल बन्न पुगेको छ । खेलाडीहरू आर्थिक रूपले ढुक्क हुन सक्ने अवस्था छैन । यी र यस्ता थुप्रै समस्याका बाबजुद नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन भने लोभलाग्दो छ । 

  • जब नेपाली क्रिकेटरले विश्वको ध्यान आफूतिर ताने

हरेक ठुला प्रतियोगितामा नेपाली टोलीले सफलता हासिल गरेपछि प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार जस्ता विषय चर्को रूपमा उठ्न गर्छन् । त्यसपछि फेरि अवस्था उस्तै निराशाजनक । तर गत अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजित एसिया कप क्रिकेट प्रतियोगितापछि भने अवस्था केही फेरिएको छ । 

एसिया कपको पछिल्लो संस्करणमा नेपाली टोली दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानको समूहमा परेको थियो । नेपाली खेलाडीले पहिलो पटक त्यो स्तरको प्रतियोगिता खेल्ने अवसर पाएका थिए । भारत र पाकिस्तानका कतिपय खेलाडी त नेपाली खेलाडीका लागि आदर्शसमेत थिए । 

नेपाली खेलाडीका लागि रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह, हार्दिक पाण्डेया, मोहम्मद सिराज, बाबर आजम, साहिन शाह अफरिदी, ह्यारिस रउफ जस्ता खेलाडीसँग खेल्न पाउनु नै ठुलो उपलब्धि थियो । तर त्यो प्रतियोगितामा भारत र पाकिस्तानको राष्ट्रिय टोलीसँग नेपाली खेलाडीले जुन स्तरको प्रदर्शन गरे त्यसले नेपाली क्रिकेटलाई एकाएक चर्चाको शिखरमा पुर्‍याउने काम गर्‍यो । 

खेलपछि भारत र पाकिस्तानका खेलाडीहरूले मुक्त कण्ठले नेपाली खेलाडीको प्रसंशा गरे । थुप्रै भारतीय समर्थकले समेत नेपाली खेलाडीको प्रदर्शनको सराहना गरे । भारतीय खेलाडीले त नेपाली खेलाडीलाई पदकसमेत लगाइदिए । उनीहरूले नेपाली खेलाडीसँग आफ्नो अनुभवसमेत साटासाट गरे । 

त्यही प्रतियोगितापछि चर्चित भारतीय क्रिकेट कमेन्टेटर आकाश चोपडाले नेपाली क्रिकेटको स्तर उकास्न भारतले समेत साथ दिनुपर्ने धारणा व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा लेखेका थिए, ‘भारतले नेपाली क्रिकेटलाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो माथि लैजाने जिम्मेवारी लिनुपर्छ । भारतकोे ‘ए’ टिम नेपाल पठाउनु पर्छ । नेपाललाई भारतको घरेलु क्रिकेट प्रणालीमा सहभागी गराउनु पर्छ । नेपालमा क्रिकेटप्रतिको लगाव अतुलनीय छ र नेपाली क्रिकेटले सफलताको आकाश छिचोल्ने सम्भावना पनि उत्तिकै छ ।’

एसिया कपको त्यो संस्करणपछि यस्ता थुप्रै सकारात्मक प्रतिक्रिया नेपाली क्रिकेटले पाएको थियो । नेपालमा क्रिकेटको पूर्वाधारको अवस्था, प्रशिक्षण र प्रतियोगिताको अपर्याप्तता जस्ता विषयले पनि ठुलै चर्चा पाएको थियो । हो, यो त्यही प्रतियोगिता थियो जसले छिमेकी राष्ट्र भारतको ध्यान पनि गम्भीर रूपमा नेपाली क्रिकेटतर्फ तानिएको थियो । 

  • विश्व क्रिकेटमा भारतको अवस्था

विश्व क्रिकेटको नेतृत्वदायी निकाय हो, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) । विश्व क्रिकेट अर्थतन्त्रको ६० प्रतिशतभन्दा बढी हिस्सा भारतीय क्रिकेटसँग जोडिएको छ । आईसीसी पनि आर्थिक पक्षमा भारतीय क्रिकेटसँग अभिन्न रूपमा गाँसिएको छ । 

भारतीय क्रिकेटको नेतृत्वदायी निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड आफैँमा विश्वको सबैभन्दा धनी क्रिकेट बोर्ड हो । केही अपवादबाहेक विश्वका अधिकांश देशका क्रिकेट बोर्डहरूको आर्थिक आर्जनको पाटो पनि भारतीय क्रिकेटसँग जोडिएको छ । 

क्रिकेट भनेपछि हुरुक्क गर्नेहरूको निकै ठुलो जमात छ, भारतमा । अर्को अर्थमा भन्दा भारतका लागि क्रिकेट खेल मात्र होइन, संस्कृतिको अभिन्न अङ्ग पनि हो । भारतका लागि क्रिकेट राष्ट्रिय एकताको प्रतीक पनि बन्न पुगेको छ । 

भारतका अधिकांश अभिभावक आफ्ना छोराछोरीले देशको राष्ट्रिय टोलीबाट खेलुन् भन्ने मिठो सपना देख्छन् । किनभने भारतमा क्रिकेटमा प्रशस्तै पैसा छ र भारतीय क्रिकेटरहरू सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा दरिँदै आएका छन् । 

यति मात्र होइन, भारतले घरेलु क्रिकेटको संरचनामा पनि निकै ठुलो लगानी गरेको छ । भारतका प्रत्येक राज्य र ठुला सहरहरूमा क्रिकेटमा विशाल संरचनाहरू बनेका छन् । विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशाला पनि भारतमै छ । 

बङ्गलादेश र अफगानिस्तानको क्रिकेटलाई माथि उठाउन पनि भारतले महत्त्वपूर्ण सहयोग गरेको छ । नेपालभन्दा पनि पछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको राष्ट्र हो, अफगानिस्तान । कुनै समय थियो, जतिबेला अधिकांश प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हराउँथ्यो । 

तर अहिले अफगानिस्तानको क्रिकेटले अन्तर्राष्ट्रिय रूपमा निकै ठुला उचाइ हासिल गरिसकेको छ । अफगानिस्तानको यो सफलतामा भारतको निकै ठुलो सहयोग रहेको छ । अफगानिस्तानलाई भारतले आफ्नो देशभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुविधा सम्पन्न रङ्गशाला पनि उपलब्ध गराएको छ ।

  • परराष्ट्र मन्त्रालयमा ‘स्पोर्टस डिप्लोमेसी’ को अभाव 

अत्यन्तै नजिकको छिमेकी भएर पनि नेपाली क्रिकेटले भने भारतबाट हालसम्म कुनै सहयोग पाउन सकेको छैन । यसमा कमजोरी नेपाली पक्षकै हो । हालसम्म न नेपाली खेल पदाधिकारीले न त सरकारी स्तरबाटै कहिल्यै क्रिकेट विकासको पक्षमा भारतसँग छलफल वा वार्ता गरिएको छैन ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको बुझाइमा परराष्ट्र मन्त्रालयमा स्पोर्टस डिप्लोमेसी (खेलकुद कूटनीति) बुझेका अधिकारीको अभाव हुनु यसको प्रमुख कारण हो । नेपाली क्रिकेट टोलीको पहिलो उपकप्तान र दोस्रो कप्तानका रूपमा चर्चित क्षेत्री सबैभन्दा पहिले सरकारले यसतर्फ ध्यान पुर्‍याउनुपर्ने धारणा राख्छन् । 

lb-chettri

‘अन्तर्राष्ट्रिय विषयमा कुरा हुँदा परराष्ट्र मन्त्रालय जोडिन आउँछ । हाम्रो देशमा परराष्ट्र मन्त्रालयमा स्पोर्टस डिप्लोमेसी बुझेका अधिकारी नै छैनन् । त्यसैले खेलकुद पनि द्विपक्षीय सहयोग आदान–प्रदानको विषय बन्न सक्छ भन्ने कुरा कहिल्यै पनि अन्तर्राष्ट्रिय मञ्चमा उठने गरेको पाइँदैन,’ उनी भन्छन्, ‘सबैभन्दा पहिले सरकारको ध्यान यसतर्फ जानु आवश्यक छ ।’ 

क्षेत्रीको विचारमा विगतदेखि नै खेलकुदलाई सधैँ अनुत्पादक क्षेत्रका रूपमा हेर्ने सरकारी नीतिका कारण यस्तो अवस्था सिर्जना भएको हो । ‘खेलकुदलाई अनुत्पादक क्षेत्रको रूपमा हेर्ने मान्यता अब निकै पुरानो भइसक्यो । वर्तमान विश्वमा खेलकुद अर्थतन्त्रको निकै महत्त्वपूर्ण खम्बा भइसकेको छ । विश्वमा स्पोर्टस डिप्लोमेसीको पनि निकै ठुलो महत्त्व छ । त्यसैले परराष्ट्र मन्त्रालयमा पनि स्पोर्टस डिप्लोमेसी बुझेका व्यक्तिहरू चाहिन्छन्,’ उनी भन्छन् । 

यसै गरी नेपाली खेलकुदको नेतृत्वदायी निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मै पनि खेलकुद कूटनीति बुझेका व्यक्तिहरूको अभाव देखिन्छ । ‘खेलकुद बुझ्नु र खेलकुद डिप्लोमेसीको ज्ञाता हुनु फरक विषय हो । खेलकुद बुझेका हेरक व्यक्ति खेलकुद डिप्लोमेसीको ज्ञाता हुन सक्दैन । हामी भने अझै पनि यही भ्रममा अल्झिएर बसेका छौँ,’ क्षेत्री भन्छन् ।

अतः भारतीय विदेशमन्त्री जयशङ्कर आफैँले नेपाली क्रिकेटको स्तरवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि अब नेपाली क्रिकेटले यसबाट सक्दो फाइदा लिन सक्नुपर्ने पूर्वकप्तान क्षेत्रीको धारणा छ । यसका लागि नेपालले आफ्नो प्राथमिकता निर्धारण गरेर आफ्ना मागहरू अघि सार्नुपर्ने उनको बुझाइ छ ।  

  • भौतिक पूर्वाधार विकासमा जोड

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकपछि अर्को महत्त्वपूर्ण सफलता हात पार्दै गए पनि देशभित्रै भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने एउटा सुविधा सम्पन्न रङ्गशालासम्म छैन । कीर्तिपुरस्थित क्रिकेट मैदानले जसातसो क्रिकेट खेलको भार थेग्दै आएको छ । 

तर कीर्तिपुर क्रिकेट मैदान पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छैन । प्रतियोगिताहरू हुँदा दर्शकले खुला चौर वा रुखमाथि चढेर खेल हेर्नुपर्ने अवस्था छ । क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्ड र रात्रिकालीन खेलका लागि फ्लड लाइटसम्म छैन । 

मूलपानीस्थित क्रिकेट मैदानको अवस्था पनि उस्तै छ । एकेडेमीका रूपमा विकास गर्ने लक्ष्य राखिएको मूलपानी क्रिकेट मैदान बन्न सुरु गरेको लामो समय बितिसक्दा पनि यसले पूर्णता पाउन सकेको छैन । अवस्था यस्तै रहे अझ लामो समय यो क्रिकेट मैदान निर्माणको कामले पूर्णता पाउने सम्भावना देखिँदैन । 

‘हामीसँग क्रिकेटका भौतिक पूर्वाधारको निकै अभाव छ । एउटा स्तरीय रङ्गशालासम्म छैन । यस्तो अवस्थामा क्रिकेटका पूर्वाधारहरू निर्माणमा भारतले नेपाललाई सहयोग गर्न सक्ने अवस्था देखिन्छ । यसका लागि सरकारी स्तरबाटै स्पष्ट योजना बनाएर भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । देशका अन्य भागमा पनि क्रिकेटको पूर्वाधार विकासमा भारत सरकारले हामीलाई राम्रो सहयोग गर्न सक्छ,’ पूर्वकप्तान क्षेत्री भन्छन् । 

नेपाली क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द पनि भारतीय विदेशमन्त्रीसँगको भेटमा आफूहरूले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको बताउँछन् । ‘हामीले भारतीय विदेशमन्त्रीज्यूसँग कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाका रूपमा विकास गर्नका लागि अनुरोध गरेका छौँ । उनी पनि यसमा सकारात्मक देखिनु भएको छ,’ चन्द भन्छन् । 

  • खेलाडीका लागि उच्चस्तरीय प्रशिक्षण

भनिन्छ, अधिकांश नेपाली क्रिकेटर ‘गड गिफ्टेड’ हुन् । नेपाली क्रिकेटमा खेलाडीको क्षमतालाई तिखार्ने काम प्रभावकारी रूपमा हुन सकेको छैन । ठुला प्रतियोगिताहरूको सङ्घारमा केही समय बन्द प्रशिक्षण सञ्चालन गरेकै भरमा खेलाडीहरू अन्तर्राष्ट्रिय यात्रामा निस्कन्छन् । 

तर अबका दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता हात पार्न यो प्रदर्शन मात्र पर्याप्त छैन । खेलाडीका लागि उच्चस्तरीय प्रशिक्षण आवश्यक पर्छ । तीव्र गतिका बलर वा स्पिन बलरलाई उसको विधामा अझ निपुर्ण बनाउन विशेष प्रशिक्षणको आवश्यकता पर्छ ।

यसै गरी ब्याट्सम्यानहरूका लागि पनि सोही अनुरूपको विशेष प्रशिक्षण आवश्यक पर्छ । यस्तो स्थितिमा नेपाली क्रिकेटले छिमेकी राष्ट्र भारतबाट गतिलो सहयोग पाउन सक्छ । पूर्वकप्तान क्षेत्री भन्छन्, ‘हाम्रा खेलाडीका लागि अब हाइपरफरमेन्स ट्रेनिङको आवश्यकता छ । परम्परागत शैलीमा अगाडि बढ्न निकै गाह्रो छ । यसका लागि भारतले हामीलाई आवश्यक सहयोग गर्न सक्छ,’ उनी भन्छन् । 

प्रतियोगिता नभएको बेला खेलाडीलाई भारतका विभिन्न प्रशिक्षण केन्द्रमा विशेष प्रशिक्षणका लागि पठाउन सकिने उनको बुझाइ छ । ‘हाम्रा खेलाडीलाई विशेष तालिमका लागि भारतका विभिन्न प्रशिक्षण केन्द्रमा पठाउन सकिन्छ । यस्ता विशेष ट्रेनिङले खेलाडीको प्रदर्शनमा थप निखार ल्याउन मद्दत पुर्‍याउँछ । उनीहरू आफ्नो विधामा पोख्त भएर निस्कन्छन् । नेपाली क्रिकेटले भारतबाट यो सहयोग लिन सक्छ,’ उनी भन्छन् । 

  • रणजी, इरानी ट्रफीलगायतका प्रतियोगितामा नेपाली खेलाडीको प्रवेश

रणजी ट्रफी र इरानी ट्रफी भारतको प्रतिष्ठित घरेलु प्रतियोगितामा पर्छन् । भारतीय क्रिकेटलाई समृद्ध बनाउन यी दुई प्रतियोगिताको निकै ठुलो भूमिका रहेको छ । भारतको राष्ट्रिय क्रिकेट टोलीलाई यी प्रतियोगिताले एकसे एक प्रतिभाशाली खेलाडी दिएको छ । 

भारतका यस्ता घरेलु प्रतियोगिताहरूमा नेपाली खेलाडीलाई पनि प्रवेश गराउन सक्ने बलियो सम्भावना रहेको छ । कुनै समय जिम्बाबेका क्रिकेट खेलाडीले दक्षिण अफ्रिकाका विभिन्न घरेलु प्रतियोगिता खेलेर आफ्नो क्षमता तिखार्ने गरेका थिए । 

अहिले पनि अमेरिकाको व्यावसायिक फुटबल प्रतियोगिता मेजर लिग सकर (एमएलएस) मा क्यानडाका टोलीले समेत प्रतिस्पर्धा गर्ने गरेका छन् । यस्तो स्थितिमा नेपाली क्रिकेट खेलाडीको क्षमता वृद्धि गर्न रणजी ट्रफी, इरानी ट्रफी जस्ता भारतका चर्चित घरेलु प्रतियोगिता खेलाउन सक्ने सम्भावना रहन्छ । 

‘रणजी ट्रफी र इरानी ट्रफी भारतका निकै प्रतिष्ठित घरेलु प्रतियोगिता हुन् । भारतमा क्षमतावान खेलाडी उत्पादन गर्न यी प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । हामीले यी प्रतियोगितामा आफ्ना खेलाडी प्रवेश गराउन सक्यौँ भने उनीहरूको प्रदर्शनमा पनि निखार आउने छ । भारतसँग सहयोग आदान–प्रदानको कुरा गर्दा हामीले यो पक्षलाई पनि भुल्नु हुँदैन,’ क्षेत्री भन्छन् ।

  • नेपाली खेलकुदमा अत्याधुनिक प्रविधिहरू भित्र्याउने प्रयास

पछिल्लो समय द्रुततर रूपमा विकास हुँदै गएको विज्ञान र प्रविधिको प्रत्यक्ष प्रभाव सामाजिक जीवनको रहेक क्षेत्रमा परेको छ । खेलकुद क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । खेलकुद क्षेत्रमा पनि नयाँ–नयाँ प्रविधिहरू प्रयोगमा आएका छन् । 

खेलकुदलाई निश्पक्ष बनाउन रङ्गशालामा जडान गरिने प्रविधि होस् वा खेलाडीको प्रशिक्षणमा प्रयोग गरिने अत्याधुनिक प्रविधि । यी सबै प्रविधिले विश्व खेलकुदलाई जटिल पनि बनाएका छन् र फाइदा पनि पुर्‍याएका छन् । 

तर नेपाली खेलकुद भने प्रविधिको प्रयोगमा निकै कमजोर देखिएको छ । नेपाली खेलकुदले सामान्य प्रविधिसम्म भित्र्याउन सकेको छैन । विश्व क्रिकेटमा वर्षौंअघि प्रयोगमा आएको डिजिटल स्कोर बोर्डमा समेत हाम्रो पहुँच पुग्न सकेको छैन । 

जब कि विश्व क्रिकेटमा बलरले फालेको बलको गति नाप्नेदेखि लिएर बलले ब्याट्सको कुनै भागमा थोरै पनि छोएको छ वा छैन भन्ने पत्ता लगाउनसमेत प्रविधिको प्रयोग गरिँदै आएको छ । यस्तो अवस्थामा नेपाली खेलकुदमा समेत पछिल्ला प्रविधिहरू भित्र्याउन नेपालले भारतबाट आवश्यक सहयोग लिन सक्छ ।

‘पछिल्लो समय प्रविधिबिनाको खेलकुदको कल्पनासम्म गर्न सकिँदैन । नेपाली खेलकुद भने प्रविधिको प्रयोगमा निकै कमजोर छ । त्यसैले हामीले नेपाली खेलकुदमा पछिल्ला प्रविधिहरू भित्र्याउन पनि हामीले भारतसँग आवश्यक सहयोग प्राप्त गर्न सक्छौँ । यो पनि नेपाली खेलकुदका लागि महत्त्वपूर्ण पाटो हुन सक्छ,’ पूर्वकप्तान क्षेत्री भन्छन् । 

  • भारतका प्रदेश स्तरीय टोलीहरूसँग नियमित प्रतियोगिता

भारतमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो अर्थात् क्रिकेट खेल भारतीय संस्कृतिकै एउटा अभिन्न अङ्ग बन्न पुगेको छ । भारतका हरेक राज्य वा सहरमा क्रिकेटका बलिया टोलीहरू अस्तित्वमा छन् । भारतका राज्यस्तरीय टोलीहरू नै निकै बलिया हुन्छन् । 

यस्तो स्थितिमा भारतीय क्रिकेटसँग सहकार्य गरेर त्यहाँका प्रदेशस्तरीय टोलीहरूसँग नियमित रूपमा प्रतियोगिता खेल्ने वातावरण बनाउन सकेमा पनि त्यसले नेपाली खेलाडीको स्तरवृद्धिमा निकै ठुलो सहयोग पुग्न सक्छ । 

यसका अतिरिक्त भारतका घरेलु प्रतियोगिता खेल्ने अन्य टोलीहरूसँग पनि समय समयमा प्रतियोगिता खेल्ने वातावरण बनाउन सकिन्छ । ‘भारतका प्रदेशस्तरीय टोलीहरू पनि निकै स्तरीय हुन्छन् । यस्तोमा हामीले भारतीय क्रिकेटसँग सहकार्य गरेर उनीहरूसँग नियमित प्रतियोगिता खेल्न सक्छौँ । हाम्रो देशमा प्रतियोगिताको पनि निकै कमी छ । भारतका प्रदेशस्तरीय टोलीहरूसँग नियमित रूपमा द्विपक्षीय शृङ्खलाहरू खेल्दा यसले हामीलाई निकै फाइदा पुग्छ,’ क्षेत्री भन्छन् । 

  • भारतको ‘ए’ टोलीसँग लामो ढाँचाको प्रतियोगिता 

भारतको ‘ए’ टोली त्यहाँको राष्ट्रिय टोलीकै छाया हो । ‘ए’ टोलीबाटै निखारिएका खेलाडीहरूले क्रमशः राष्ट्रिय टोलीमा स्थान बनाउने हुन् । करोडौँ खेलाडीबाट छानिएर आएका खेलाडीले भारतको ‘ए’ टोलीमा स्थान पाउने हुन् । 

त्यसैले समय समयमा भारतको ‘ए’ टोलीलाई नेपाल बोलाएर वा नेपाली टोली भारत गएर त्यहाँको ‘ए’ टोलीसँग ५० ओभरभन्दा लामो ढाँचाको प्रतियोगिता खेलाउने वातावरण बन्न सके पनि त्यसले नेपाली क्रिकेटलाई बलियो बनाउन सहयोग पुर्‍याउने छ । 

हिजोका दिनमा मलेसिया, हङ्कङ, संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता राष्ट्रहरू हाम्रा लागि ठुला प्रतिद्वन्द्वी थिए । तर अहिले अवस्था फेरिएको छ । नेपालले एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलै फड्को मारेको छ । 

आईसीसीबाट एकदिवसीय टोलीको मान्यता पाएको छ । टी–२० विश्वकप पनि खेलिसकेको छ । अब नेपाली खेलाडीलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव आवश्यक छ । नेपाली खेलाडीले अब आफूभन्दा बलिया टोलीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्छ । 

त्यसले एकातिर नेपाली खेलाडीको आत्मविश्वास बढाउने छ भने अर्कोतिर खेलाडीको प्रदर्शनमा पनि निखार ल्याउने छ । एसिया कपको पहिलो खेलमा पाकिस्तानका तीव्र गतिका बलरलाई झेलेका नेपाली ब्याट्सम्यानले दोस्रो खेलमा भारतविरुद्ध राम्रो ब्याटिङ गरेका थिए । त्यसको कारण पनि पहिलो खेलमा हालिस गरेको अनुभव नै थियो । 

नेपालमा खेलाडीहरूका लागि प्रतियोगिताको निकै अभाव छ । त्यसमाथि एकदिवसीय ढाँचाको प्रतियोगिता त झनै कम छ । आक्लझुक्कल हुने फ्रेन्चाइज प्रतियोगिताहरू पनि टी–२० ढाँचाका छन् । नेपालले सन् २०१८ मै एकदिवसीय टोलीको मान्यता पाएको थियो । एकदिवसीय मान्यता पाएसँगै नेपाली क्रिकेटमा दुईवटा चुनौती थपिएका थिए । 

पहिलो, लामो समयसम्म एकदिवसीय मान्यता जोगाएर राख्ने । अनि दोस्रो, टेस्ट मान्यता पाउनका लागि थप सङ्घर्ष गर्ने । यी दुवै उद्देश्य प्राप्तिका लागि बढीभन्दा बढी लामो ढाँचाको प्रतियोगिताको आवश्यकता छ । हाम्रा खेलाडीलाई कम्तीमा पनि ५० ओभरका प्रतियोगिता र अझ तीन दिवसीय प्रतियोगिताहरूमा अभ्यस्त बनाउन सक्नु पर्छ ।

यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको पाइँदैन । देशभित्र टी–२० प्रतियोगिता बढी हुने भएकाले खेलाडीहरू पनि सोही ढाँचाप्रति बढी अभ्यस्त हुनु स्वाभाविक हो । टी–२० प्रतियोगितासँग आर्थिक पक्ष पनि जोडिने भएकाले प्रायोजकहरू पनि बढी यही ढाँचाप्रति आकर्षित हुने गरेको पाइन्छ । 

‘यसका लागि पनि भारतको सहयोग नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण हुन सक्छ । भारतको ‘ए’ टोलीसँग नियमित रूपमा लामो ढाँचाका प्रतियोगिताहरू खेल्ने वातावरण बनेमा यसले नेपाली खेलाडीको प्रदर्शनमा थप निखार आउने छ । भारतसँग क्रिकेटमा सहयोग आदान–प्रदानको कुरा गर्दा यो पक्ष पनि भुल्नु हुँदैन,’ पूर्वकप्तान क्षेत्री भन्छन् । 

अतः भारतीय विदेशमन्त्री जयशङ्कर आफैले नेपाली क्रिकेटको स्तरबृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि अब नेपाली क्रिकेटले यसबाट सक्दो फाइदा लिन सक्नु पर्छ । क्यानका अध्यक्ष चन्द पनि भारतीय विदेशमन्त्रीसँगको भेटपछि आफूहरूले यसतर्फ आवश्यक गृहकार्य गरिरहेको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप