सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरूले बनाए मानव मलबाट प्लेनको इन्धन

सोमबार, २३ पुस २०८०, १२ : ५८
सोमबार, २३ पुस २०८०

लन्डन । पछिल्लो समय वैज्ञानिकहरू खनिज इन्धनको विकल्पको खोजीमा छन् । जसअनुसार दिगो जेट विमानको इन्धन बनाउने दौड चलिरहेको छ । यो होडमा केही कम्पनीहरूले सृजनशील अनि नयाँ नयाँ उपाय निकालिरहेका छन् । 

होटेल तथा रेष्टुराँहरुबाट खेर गएको खाना पकाउने तेलबाट जेट इन्धन बनाएको त हामीले सुनेका छौँ । तर पूरै मानव मलबाट तयार पारिएको जेट इन्धनबारे तपाईँलाई थाहा छ ? बेलायतको ग्लाउसेष्टरशायरस्थित उड्डयन कम्पनी फायरफ्लाई ग्रिन फ्यूल्सले मानव मलबाट जेट इन्धन तयार पारेको छ । दिगो हवाई इन्धन नयाँ कुरा होइन । तर मानव मलबाट इन्धन बनाउनु चाहिँ बिलकुल नयाँ कुरा हो । के मानव मलबाट बनाइएको जेट इन्धन हवाई यात्राको भविष्य बन्न सक्ला ?

विश्वको हुने कूल कार्बन उत्सर्जन मध्ये साढे २ प्रतिशत व्यावसायिक उड्डयन क्षेत्रबाट हुन्छ । जलवायुमा उड्डयन क्षेत्रले पार्ने प्रभावलाई कम गर्न विश्वभर कयौँ प्रयासहरू भइरहेका छन् । विद्युतीय र हाइड्रोजनबाट चल्ने विमानहरू पनि बन्न थालेका छन् । तर लामो दूरीको हवाई यात्रामा यी विमानको प्रयोग हुन अझै लामो समय कुर्नु पर्नेछ । सन् २०५० सम्ममा उड्डयन क्षेत्रबाट हुने ६५ प्रतिशतसम्म कार्बन उत्सर्जन कटौती गर्न दिगो हवाई इन्धनको प्रयोग गर्न खोजिएको छ । यसरी बनाइएको इन्धन बल्दाखेरि यसले अवशोषण गरेको सीओटू मात्रै वायुमण्डलमै फर्किन्छ । दिगो हवाई इन्धन बनाउन अहिलेसम्म मानव मलको प्रयोग गरिएको छैन । यसलाई गुमाएको अवसर भन्छन् फायरफ्लाईका सीईओ जेम्स हाईगेट । ‘यो त टन्नै छ, विश्वमा हरेक ठाउँमा पाइन्छ । अहिलेको लागि सस्तो खालको इन्धन बनाउनमा जस्तो यसको राम्रो प्रयोग अरु केही हुन सक्दैन ।’ हाईगेटले भने । कम्पनीले अहिले कार र ट्रकहरूका लागि तोरीको तेलबाट बायोडिजेल बनाइरहेको छ भने मानव मलबाट जेट इन्धन ।

मानव मललाई प्रयोग गर्न मिल्ने इन्धन बनाउन फायरफ्लाईले हाइड्रोथर्मल लिक्विफ्याक्शन विधि प्रयोग गर्ने गरेको छ । उच्च चाप र तापक्रममा मललाई कार्बन यथेष्ट भएको बायोचार र कच्चा तेलमा परिणत गरिन्छ । अहिले ल्याबमा न्यून स्तरमा इन्धनको उत्पादन भइरहेको छ । शुरुआती नतिजाहरु आशाजनक देखिएको बताइएको छ ।

 ईयू र अमेरिकाकाका विश्वविद्यालयका अनुसन्धाताहरुले गरेको स्वतन्त्र विश्लेषणमा भने यो इन्धन उत्कृष्ट जैविक इन्धन जत्तिकै पाइएको छ । यसमा परम्परागत जेट इन्धनको तुलनामा ९० प्रतिशत कम कार्बन उत्सर्जन भेटिएको छ । कम्पनीले आगामी वर्षमा इन्धनको उत्पादन बढाउन खोजेको छ । कम्पनीले यो वर्ष इन्धनको प्रमाणीकरण प्रक्रियाका लागि आवेदन पनि दिने आशा गरिएको छ । त्यसपछि कम्पनीले बेलायतमा प्रशोधन कारखाना खोल्नेछ । सन् २०३० देखि सञ्चालनमा आउने यो कारखानाले वार्षिक ४ करोड लिटर इन्धन उत्पादन गर्न सक्ने बताइएको छ । यो भनेको लन्डनबाट न्यूयोर्कबीचको ८०० वटा हवाई उडान भर्न पुग्ने हाईगेटले बताएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप