शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुल बनेपछि विकट गाउँ पालिकाको केन्द्रसँग जोडियो

बुधबार, २५ पुस २०८०, १४ : ४४
बुधबार, २५ पुस २०८०

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–६ को दोगाडीघाटमा मोटर गुड्ने पुल निर्माण भएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको छ । पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्न वञ्चित रहेका गाडीखोला क्षेत्रका नागरिकलाई पुल बनेपछि सहज भएको हो । 

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रकमबाट पुल निर्माण भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार १६ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पूर्वधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । विसं २०७९ असार १० गते पहिलो पटक निर्धारित म्याद सकिएको थियो । 

म्याद थप भएकामा पनि काम नसकेपछि पुनः म्याद थप भएको थियो । निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थपे पनि गत मङ्सिरमा मात्रै निर्माण सम्पन्न भएको इञ्जिनियर प्रकाश श्रीसले जानकारी दिए । उनका अनुसार मङ्सिरमा पुल सम्पन्न भएपछि यही पुस पहिलो सातादेखि सञ्चालनमा आएको छ । पुल रू चार करोड ८२ लाखमा निर्माण भएको थियो ।

पुल सञ्चालनमा आएपछि ढोरपाटन–६ को ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायत ढोरपाटन क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगर बताए । सडक खुलेको वर्षौँ वितिसक्दा पनि स्थानीयवासीले सहज रुपमा यात्रा गर्न नपाएको भन्दै अब पहिलेको जस्तो समस्या भोग्न नपर्ने उनको भनाइ थियो ।

सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्याउन निकै समस्या भोगेको वडाध्यक्ष मगरले स्मरण गरे । “यो पुल नबन्दा यस क्षेत्रका नागरिकलाई आवागमनमा सास्ती हुने गरेको थियो । पालिकाको केन्द्रसम्म पुग्न निकै गाह्रो हुन्थ्यो । हिउँदमा जसोतसो खोला तरे पनि बर्खामा बाढीको समस्या थियो”, उनले भने, “अहिले पुल बनेसँगै गाउँगाउँमा मोटरबाटो पुगेको छ । यात्रा गर्न र सामान ढुवानीमा सहज हुन थालेको छ । वर्षौँदेखि भारी भोक्ने जनता अब गाडीमा चढेर गाउँ–बजार गर्छन् ।” 

बजार बुर्तिबाङ पालिकाको केन्द्र हो । बजारदेखि गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुई वटा पुल तर्नु पथ्र्यो । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । यसअघि दोगाडीसम्म गाडीमा पुगेपछि अर्को फेर्नुपर्ने  समस्या थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप