सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

मधेस प्रदेशमा बलिदानी दिवस र स्वाभिमान दिवस किन ?

शनिबार, २८ पुस २०८०, २१ : १०
शनिबार, २८ पुस २०८०

काठमाडौँ । मधेस प्रदेश सरकारले मधेसमा मधेस स्वाभिमान दिवस र मधेस बलिदानी दिवस एक दिनको फरकमा मनाउने भएको छ । मधेस प्रदेश नामकरण भएको स्मरणमा माघ ३ लाई स्वाभिमान दिवसको रूपमा मनाउने निर्णय भएको छ भने मधेसी सहिदको सम्झनामा मधेस बलिदानी दिवस मनाउन लागिएको मधेस प्रदेश सरकारका अर्थ मन्त्री एवं प्रवक्ता सञ्जय यादवले बताए ।  

‘दुवै दिवसको प्रदेशका लागि आ–आफ्नो महत्त्व र गरिमा छ,’ उनले भने, ‘पहिचानको आधारमा एक मात्र प्रदेशको नाम मधेस प्रदेश पर्न गएको हो । त्यसले मधेसी जनताको स्वाभिमान बढाएको छ । त्यो गौरवको दिन भएका कारणले मधेस स्वाभिमानी दिवस मनाउन लागिएको हो । माघ ५ गते रमेश महतोले सहादत प्राप्त गरेको कारण त्यो दिनलाई बलिदानी दिवसको रूपमा मनाउन लागिएको हो ।’

मधेस स्वाभिमानी दिवसमा सार्वजनिक बिदा नदिए पनि यो दिवस सरकारी स्तरमा नै मनाउने निर्णय भएको बताउँदै उनले यो दिवस सर्वसाधारण, पार्टी, संघ संस्थाहरूले पनि आआफ्नो तरिकाले मनाउने बताए । सरकारले पनि यो दिनलाई विशेष दिनको रूपमा मनाउने उनको भनाई छ । माघ ३ गते सरकारी कार्यालयमा दीपावली गर्ने, झन्डोत्तोलन गर्ने जस्ता विभिन्न कार्यक्रम रहेको उनले बताए ।

बलिदानी दिवसको दिन भने बिदा दिइएको छ । त्यो दिन पनि विभिन्न कार्यक्रम गरी मनाउने तयारी चलिरहेको उनले बताए । उक्त दिन पार्टीहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछन् । सरकारको तर्फबाट अन्तरक्रिया कार्यक्रम तथा विशेष गोष्ठी कार्यक्रम गर्ने तयारी भइरहेको उनको भनाई छ ।

दुवै कार्यक्रमलाई एकै दिन पारेर एउटै दिवस मनाउने सुझाव आए पनि प्रवक्ता यादवले दिन फरक परेका कारणले बाध्यतावश दुई दिन कार्यक्रम मनाउनु परेको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो चाहना पनि यी दुई महत्त्वपूर्ण कार्यक्रम फरक–फरक दिन मनाउनुभन्दा राम्रो एकैदिन पारेर मनाउँदा खर्च र समय दुवै बचत हुन्थ्यो भन्ने थियो । तर मिति नै फरक परेको कारण गर्न सकिएन अगामी वर्ष यसमा पुनः विचार गर्न सकिन्छ ।’

पुस २९ गते मधेस प्रदेश सरकार गठन भएको एक वर्ष भएको छ । पुस २९ गतेको कार्यक्रमलाई पनि माघ ३ गतेलाई सारिएको मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले बताए । मधेस प्रदेश सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा माघ ३ गते नै मुख्यमन्त्री यादवले आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप