बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु भयो टाइगर कप भलिबल, डिफेन्डिङ च्याम्पियन एपिएफको पहिलो जित

सोमबार, ०१ माघ २०८०, १२ : ४४
सोमबार, ०१ माघ २०८०

पोखरा । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ महिला टीमले पोखरामा आयोजित टाइगर कपमा जीतको सुरुवात गरेको छ । टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगितामा एपिएफले पुलिस विरुद्ध ३–२ को सेटमा जीत निकालेको हो । एपिएफले २ अंक पाएको छ भने पुलिसले १ अंक पाएको छ ।

निकै प्रतिस्पर्धात्मक भएको खेल अन्तर्गत पहिलो सेट २५–१८ र दोस्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेस्रो र चौथो सेट क्रमशः २५–१९ र २५–१८ ले गुमायो । अन्तिम सेटमा १५–१३ को नतिजा निकालेको हो । खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् ।

आजै महिलातर्फको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र न्यु डायमन्डबिच हुने छ । पुरुषतर्फको पहिलो खेल विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको महिला तर्फ भारत हरियाणा राज्यको महिला पुलिस क्लब सहित पुलिस, आर्मी, एपिएफ, न्यु डायमण्ड र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ पुरस्कार पाउने छन् । तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले करिब १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप