इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
सारांश
- पेन्टागनले इरान युद्धमा मारिएका अमेरिकी सैनिकको सूची १८ बाट १४ मा घटाएपछि नयाँ विवाद उत्पन्न भएको छ ।
- सूचीबाट हटाइएका चार सैनिकमध्ये तीन जनाको मृत्यु जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको आक्रमणमा भएको थियो ।
- रिपब्लिकन सांसद थोमस मासीले ट्रम्प प्रशासनले युद्धविरामपछि मारिएका सैनिकलाई छुट्टै युद्धको घटनाजस्तो देखाउन खोजेको आरोप लगाएका छन् ।
वासिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको इरान युद्धमा मारिएका सैनिकहरूको आधिकारिक सूचीलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ । द न्यु योर्क टाइम्सका अनुसार बुधबारसम्म उक्त सूचीमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो । तर बिहीबार सो सङ्ख्या घटाएर १४ बनाइएको छ ।
पेन्टागनको डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम वेबसाइटमा अहिले पनि अपरेसन एपिक फ्युरीअन्तर्गत इरान युद्धमा १४ जना अमेरिकी सैनिक मात्र मारिएको देखाइएको छ । तर गत साता मारिएका चार सैनिकको शव अमेरिकामा ल्याइएको जानकारी भने पेन्टागनले छुट्टै विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।
न्यु योर्क टाइम्सका अनुसार सूचीबाट हटाइएका चार सैनिकमध्ये तीन जनाको मृत्यु गत शुक्रबार, शनिबार र आइतबार जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको आक्रमणमा भएको थियो । चौथो सैनिकको मृत्यु इराकको एर्बिल हवाई अड्डामा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा भएको थियो ।
तीन अमेरिकी सैन्य अधिकारीहरूले न्यु योर्क टाइम्सलाई बताएअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा युद्धविराम घोषणा गरिसकेपछि मृत्यु भएका सैनिकलाई इरान युद्धको आधिकारिक सूचीबाट हटाउने निर्णय गरिएको थियो । तर पेन्टागनका प्रवक्ताले भने सैनिकको सङ्ख्या घट्नु अस्थायी तथ्याङ्क सम्बन्धी समस्याका कारण भएको दाबी गर्दै त्यसलाई चाँडै सच्याइने बताएका छन् ।
यो विवाद ट्रम्पले गत बुधबार डेलावेयरस्थित डोभर वायुसेना अड्डामा ती चार सैनिकको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरेको भोलिपल्ट सार्वजनिक भएको हो । ट्रम्पले इरान युद्धमा भएको अमेरिकी सैनिकको मृत्यु सङ्ख्या कोरिया, भियतनाम, इराक र अफगानिस्तानजस्ता लामो युद्धको तुलनामा निकै कम रहेको दाबी गर्दै आएका छन् । बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै अघिल्ला युद्धहरूको मृतक सङ्ख्या तुलना गर्ने चार्ट सार्वजनिक गरेका थिए ।
सो पोस्टमा उनले ‘यी नै वास्तविक तथ्य हुन्, यही समाचार दिनुस्’ भन्ने सन्देशसमेत लेखेका थिए । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले डोभर जाँदै गर्दा ती सैनिकहरूलाई महान् अमेरिकी वीरको संज्ञा दिएका थिए । उनले इरानलाई आणविक हतियार बनाउन नदिन युद्ध आवश्यक रहेको र मारिएका सैनिकहरू पनि यही विश्वास राख्ने गरेको दाबी गरेका छन् । यद्यपि अमेरिकी गुप्तचर निकायले इरानले सन् २००३ मै आफ्नो आणविक हतियार कार्यक्रम रोकिसकेको मूल्याङ्कन गर्दै आएको छ ।
ट्रम्पले इरान युद्ध चार महिना मात्र भएको र १८ सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा दुई लाख अमेरिकी सैनिक मारिएको दाबी गरेका थिए । तर ऐतिहासिक तथ्यअनुसार भियतनाम युद्धमा ५८ हजार २२० अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
यसैबिच रिपब्लिकन सांसद थोमस मासीले पेन्टागनले युद्धविरामपछि मारिएका सैनिकलाई छुट्टै युद्धको घटनाजस्तो देखाउन खोजेको आरोप लगाएका छन् । उनका अनुसार ट्रम्प प्रशासनले इरान युद्धलाई दुई भागमा विभाजन गरेर तथ्याङ्क प्रस्तुत गर्न खोजेको छ । उनले कांग्रेसको स्वीकृतिबिना ९० दिनभन्दा बढी समय युद्ध सञ्चालन गर्नु कानुन विपरीत भएको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण