आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

विराटनगरमा अवैध रक्सीको विक्री वितरण : हालसम्म पाँच जनाको मृत्यु भएको स्थानीयको दाबी

बुधबार, ०३ माघ २०८०, २० : ५१
बुधबार, ०३ माघ २०८०

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १८ मा अवैध रक्सीको उत्पादन गर्ने भट्टीहरू दर्जनौँ छन् । ती भट्टीहरूमा मानव जीवनमा प्रत्यक्ष असर पर्ने गुँड, चप्पल, मोजा, सुर्तीजन्य पदार्थ गुल, नशालु गोटी, बच्चालाई बाफ लगाउन प्रयोग गरिने आस्थालिन र महिलाहरूले महिनावारीको समयमा लगाएको सेनिटरी प्याड समेत प्रयोग गरी रक्सी उत्पादन हुने गरेको स्थानीय दाबी गर्छन् । 

यसरी बनाएको रक्सी सेवनबाट विराटनगर १७ र १८ नम्बर वडामा मात्रै पाँच जनाको ज्यान गइसकेको स्थानीय सत्यनारायण शाह बताउँछन् । ‘विगत दुई वर्षयता घरेलु रक्सी सेवन गरी अशोक साह, मो. पुल्लु मिया, छोटे दास, मो. सञ्जीव मिया, भुटु मुसहरको मृत्यु भएको हो,’ उनले सुनाए । रक्सी सेवनबाटै मान्छे मरेको विषयमा गाउँ समाजले पुष्टि गर्ने उनको भनाइ छ । 

उनका अनुसार विराटनगर १८ दागराटोलमा अवैधानिक प्रक्रियाले रक्सी बनाउनेको अखडा नै छ । जितेन साह त्यहाँका प्रमुख हुन् । ‘त्यस क्षेत्रमा दैनिक ५ सय लिटर रक्सी दैनिक उत्पादन गरी भारततिर निर्यात हुन्छ,’ उनले भने ।

घरेलु मदिरा उत्पादक तथा बिक्रीकर्ताहरूमा विराटनगर–१८ का अशोक साह, प्रकाश साह, सन्तोष साह, शिवराज साह, जितेन्द्र साह, चुनुदेवी साह, रम्भा साह, वासुदेव साह, रञ्जन साह, दीपेन्द्र साह, विराटनगर–१७ का विपिन बैठा र कमल साहलगायत छन् ।

विराटनगरको १८ नम्बर वडामा स्थानीय ७३ जनाले उक्त रक्सी भट्टीहरू बन्द गर्न माग गर्दै निवेदन दिएका छन् । तर, निवेदनमाथि सुनुवाइ नभएको साह बताउँछन् । वडाध्यक्ष जितेन साहको नातेदारहरू नै रक्सी भट्टी सञ्चालक रहेको कारण निवेदनमाथि छलफल नभएको निवेदकहरू बताउँछन् ।

यसरी निवेदन दिनेहरूमा विराटनगर–१७ का सत्यनारायण शाह, १८ वडाका दागराटोल बस्ने मो. नजिम मिया, शङ्कर पासवान, जगनारायण साहसहित छन् । निवेदनमा विगत केही दिनदेखि मादक पदार्थ उत्पादनकर्ताको आपसी झैझगडाका कारण समाज नै प्रभावित बन्न लागेको उल्लेख छ । उनीहरूले दिएको निवेदनमै रक्सी सेवनका कारण मानिसहरूको मृत्यु भएको उल्लेख छ ।

उता, वडाध्यक्ष साहले भने विराटनगरको १७ र १८ नम्बर वडामा मात्रै नभएर देशैभरि लोकल रक्सी उत्पादन हुने बताए । ‘यहाँ मात्रै होइन धेरै ठाउँ लोकल रक्सी उत्पादन हुन्छ । उनीहरूको रोजीरोटीको सवाल पनि छ,’ उनले भने, ‘अहिले नै सबै बन्द गर्न पनि सकिँदैन ।’ उनले सीमा क्षेत्रमा बस्ने सर्वसाधारण तथा स्कुले बालबालिकाहरू पनि जीविकोपार्जनका लागि भारतको जोगवनी जाने गरेकोले नयाँ कुरा नभएको प्रतिक्रिया दिए । 

सरकारले घरेलु रक्सीलाई अवैध घोषणा गरेको छ । उक्त रक्सी विक्री, वितरण तथा उत्पादन गर्न कानुनले नै बन्देज लगाएको छ । तर, वडाध्यक्ष साहले भने खुलेआम आफ्नो वडामा उत्पादन र विक्री भइरहेको बताए । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले आफूले त्यस क्षेत्रमा निगरानी गराएर कारबाही अगाडि बढाउने बताए । ‘अवैध मदिरा उत्पादन र विक्री वितरण गर्न पाइँदैन,’ उनले भने, ‘हामी यो विषयमा आवश्यक कारबाही गर्छौँ ।’ 

1234

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप