आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बरगाछी–रानी सडकको सौन्दर्यकरण गर्ने महानगरको तयारी

बैंकर्स एसोसिएसनका अध्यक्षको संयोजकत्वमा समिति गठन
बिहीबार, ०४ माघ २०८०, १९ : ३८
बिहीबार, ०४ माघ २०८०

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी–रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । 

महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र बिरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । 

त्यसका लागि महानगरले विराटनगर क्षेत्रभित्र रहेका विभिन्न बैंकका प्रदेश प्रमुख र प्रतिनिधिहरूसँग छलफल गरेको छ । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलबाट बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा समितिसमेत बनाइएको छ । 

समितिमा ग्लोबल आईएमी बैंकका प्रदेश प्रमुख निश्चल अधिकारी, एनआईसी एसियाका प्रमुख हीराप्रसाद पौडेल, स्ट्यान्र्ड चार्टर बैंककी प्रदेश प्रमुख शर्मिला होमागाईं र कृषि विकास बैंकका प्रदेश प्रमुख रञ्जन खनाल सदस्य रहेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत सबै बैंकहरू विराटनगरलाई सुन्दर र हराभरा बनाउन तयार भएका छन् । बरगाछीदेखि रानीसम्म ४६ वटा डिभाइडर छन् । ती सबै डिभाइडरमा एकै प्रकारका फूल र बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने गरी सिक्स लेन सडकको सौन्दर्यकरण गर्न लागिएको मेयर नागेश कोइरालाले बताए । 

समितिले माघ १५ गतेभित्र सौन्दर्यकरणमा लाग्ने खर्च, दीर्घकालीन संरक्षणका लागि महानगरले गर्नुपर्ने कार्यलगायतका सुझावसहितको प्रतिवेदन तयार पार्नेछ । 

प्रतिवेदन तयार गर्नका लागि प्राविधिक सहयोग महानगरले उपलब्ध गराउनेछ । समितिले तयार पारेको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको काम अगाडि बढाइने महानगरको सरसफाइ तथा वातावरण शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । 

महानगरले सौन्दर्यकरणका लागि सहजीकरण गर्न शाखा प्रमुख दाहालसहित नगर प्रहरी प्रमुख राजन पौडेल र वातावरण शाखाकी इन्जिनियर सुदीक्षा कार्कीलाई तोकेको छ । 

“विराटनगर बनाउने दायित्व महानगरपालिकाको मात्रै नभएर यहाँका सबै संघसंस्था र व्यक्तिहरूको पनि हो,” मेयर कोइरालाले भने, “त्यसका लागि पहिलो चरणमा बैंकर्सहरूसित छलफल गरेका छौँ । पहिलो चरणमा सिक्स लेन सडक र त्यसपछि घिनाघाट–मिलनचोक सडक र महानगरका प्रमुख सडकहरूको क्रमशः सौन्दर्यकरण गर्ने योजना छ ।” सबैको अपनत्व हुनेगरी महानगरले सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको मेयर कोइरालाको भनाइ छ । रोपेको फूल र विरुवाको दीर्घकालीन संरक्षण गर्ने गरी महानगरले सौन्दर्यकरण गर्न लागेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । संरक्षणमा लाग्ने आर्थिक र जनशक्ति सबैको खाका तयार भइसकेपछि वृहत् रुपमा सौन्दर्यकरण अभियान सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । 

भाटभटेनी सुपरमार्केटले २ र पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठबाट ३ वटा डिभाइडरको सौन्दर्यकरण गर्ने प्रतिबद्धता आइसकेको दाहालले जानकारी दिए । विराटनगरमा २० वटा वाणिज्य बैंकका प्रदेश र शाखा कार्यालयहरू सञ्चालनमा छन् । त्यसबाहेक वित्तीय संस्थाका केन्द्रीय र प्रदेश कार्यालयहरू पनि रहेका छन् । यसअघि नेपाल उद्योग परिसंघ कोशी प्रदेशले बरगाछी दक्षिणको एउटा डिभाइडरमा फूल र बिरुवा रोपिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप