आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
नवजात शिशु विक्री प्रकरण

डाक्टर कर्ण र राजवंशीलाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

बिहीबार, ०४ माघ २०८०, २३ : ०७
बिहीबार, ०४ माघ २०८०

विराटनगर । नवजात शिशु बेपत्ता पारेको (विक्री गरेको) कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत असोज २४ गते मोरङ जिल्ला अदालतले भने डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

कर्णसहित तीनै जनाले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए । सोही निवेदनको आधारमा उनीहरुलाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रृधरा कुमारी पुडासैनीको संयुक्त ईजालशले डाक्टर कर्ण र सूर्यनारायण राजवंशीलाई धरौटिमा छोड्न आदेश गरेको हो । राई र अन्यको हकमा भने जिल्लाको आदेशलाई नै उच्चले सदर गरेको छ ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । ६ जनामध्ये पाँच लाखमा शिशु बिक्री गरेको खुलेकोले डाक्टर कर्ण, खरिद गर्ने राजवंशी र शिशुका बुबा गोविन्द राईसहित तीन जना पुर्पक्षको लागि थुनामा थिए । उनीहरुको सहयोगी तीन जना भने धरौटीमा रिहा भएका थिए । त्यसबेला मोरङ कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ कि ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका थिए ।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको अवैध सम्बन्धबाट असार १४ मा विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा शिशु जन्मिएकी थिइन् । अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले मोरङ कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ । प्रहरीले यस घटनामा ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिनक्रस हस्पिटलका संचालक कृष्ण खवासलाई भने मुद्दा चलाइएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप