बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्थानी व्रत तथा शालीनदी मेला बिहीवारदेखि सुरु हुँदै : शंखरापुर नगरपालिकाले गर्‍यो १५ निर्णय

बुधबार, १० माघ २०८०, २१ : ०१
बुधबार, १० माघ २०८०

काठमाडौँ । काठमाडौँको साँखुमा यो वर्ष माघ ११ देखि फागुन १२ गते १ महिनासम्म चल्ने श्री स्वस्थानी व्रत तथा शालीनदी मेलाको व्यवस्थापन गर्न शंखरापुर नगरपालिकाले १५ वटा निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले मेला क्षेत्रमा रहने खाजा पसलहरुलाई मूल्यसूची अनिवार्य रुपमा राख्न लगाउने, काठमाडौँका विभिन्न स्थानबाट शालीनदी पुग्ने सार्वजनिक बसमा देखिने गरी भाडादरको सूचना टाँस गर्न लगाउने, हरेक दिन सरसफाइको व्यवस्थापन गर्ने, मेला स्थलमा मदिराजन्य र मासुजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने, शालिनदी चोकस्थित विजा पुखुमा निःशुल्क सार्वजनिक शौचालयको व्यवस्था गर्ने, कुनै गुनासो भएमा त्यसको सुनुवाइका लागि ‘फोकल पर्सन’ तोक्ने लगायतका विभिन्न निर्णय गरेको छ ।

एक महिनासम्म चल्ने सो मेलाको व्यवस्थापन सम्बन्धी सरोकारवाला सम्पूर्ण निकायद्वारा एकीकृत सेवा व्यवस्थापन गरी अन्तरनिकाय सहकार्य तथा समन्वय गरी सघन अनुगमनको लागि नगरप्रमुख रमेश नापितको संयोजकत्वमा शालीनदी मेला व्यवस्थापन मूल अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।  

सो समितिका संयोजक एवं नगरप्रमुख नापितले भने,‘एक महिनासम्म चल्ने श्री स्वस्थानी माधवनारायण व्रत तथा सालीनदी मेला व्यवस्थापनको तयारी पूरा गरेका छौँ । मेलामा आउने श्रद्धालु भक्तजनको सहज रुपमा पूजा गर्न तथा मेला भर्नका लागि शान्ति सुरक्षा, सरसफाइ, बजार व्यवस्थापन तथा अनुगमन लगायतका कामलाई उच्च प्राथमिकतामा राखेका छौँ । कुनैपनि भक्तजनलाई मेलामा असहज अवस्था नआओस् भनेर गम्भीर ढंगले नगरपालिका लागि परेको छ । कतै केही गुनासो भएमा गुनासो सुन्ने पदाधिकारीहरुको फोन नम्बर मेला स्थलमा ठाउँ ठाउँमा राख्दैछौँ र त्यस्ता गुनासोलाई तत्काल सुनुवाइ गर्ने प्रबन्ध गरेका छौँ । मेलालाई व्यवस्थित गर्नका लागि विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्दैछौँ ।’

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौँको शंखरापुर नगरपालिकामा रहेको साँखुमा ठूलो मेला लाग्दै आएको छ । सो मेलामा देश विदेशबाट लाखौँ भक्तजन पुग्ने गरेका छन् ।

WhatsApp Image 2024-01-24 at 8.45.09 PM (1)

यस्ता छन् १५ निर्णयहरु:

· स्वस्थानी मेलाको समयमा १ महिनासम्म व्रत बस्ने व्रतालुहरूलाई स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले गर्ने

·स्वस्थानी मेलाको समयमा मेला क्षेत्रमा राख्ने सबै पसलहरुमा मूल्य सूची अनिवार्य रुपमा राख्न लगाउने ।

·मेला क्षेत्रमा सञ्चालन भएका सबै बस व्यवसायी समिति र प्रा.ली.हरुलाई अनिवार्य रुपमा भाडादर सबै यात्रुहरुले देख्ने गरी सबै बसमा र बसपार्कहरूमा राख्न लगाउने ।

·सोधपुछ तथा सहायता कक्षसहित स्वास्थ्य शिविर शालिनदी मन्दिर परिसरमा राख्नको लागि माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले स्थानको व्यवस्थापन गर्ने ।

·शालिनदी मेलाको समयमा कुचिकार तथा अन्य सरसफाइको उचित व्यवस्थापन माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति र व्लु वेष्ट टु भ्यालु प्रा.ली गर्ने र हरेक दिन साँझ ५ बजे पछि फोहोर संकलन गर्ने व्यवस्था व्लु वेष्ट टु भ्यालु प्रा.ली.ले मिलाउने ।

·मेला अवधिमा कुनै पनि प्रकारको जुवाजन्य खेलहरु, मदिराजन्य पदार्थ तथा मासु पसलहरु राख्न प्रयोगमा पूर्ण रुपमा बन्देज लगाउनेछ । यदि बन्देज गरिएका खेलहरु सञ्चालन भएको अवस्थामा वा मदिराजन्य र मासुजन्य पदार्थ बेचबिखन गरेमा कानुन बमोजिम कारबाही गर्ने ।

·मेला क्षेत्रमा खुल्ला रुपमा रहने मगन्तेर माग्नेहरुलाई शालिनदी परिसरमा रहन नदिने ।

·शालिनदी मेलामा ट्राफिक व्यवस्थापन गर्नका लागि वैकल्पिक मार्गहरु समेत प्रयोग गर्ने सम्बन्धमा ट्राफिक व्यवस्थापन उप समितिले स्थलगत अनुगमन गरी यातायात सहज हुने व्यवस्था मिलाउने ।

·शालिनदी मेलामा सडक पेटीमा सवारी आवागमन तथा पैदल यात्रीहरुलाई असर पर्ने गरी कुनै पनि पसलहरु राख्न नदिने ।

·शालिनदी मेलाको अवसरमा स्वागत गेट राख्नको लागि नगरपालिकाले मापदण्ड तयार गरी सो मापदण्ड बमोजिमको गेट राख्न दिने । र उक्त गेटमा राखिने विज्ञापन बापतको रकम नगरपालिकाको आर्थिक ऐन, २०८० अनुसार लिने ।

·शंखरापुर नगरपालिकाभित्र रहेका विभिन्न मठ मन्दिर तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा अन्य सूचना मूलक सन्देश प्रवाहका लागि नगरपालिकाले विभिन्न स्थानमा फ्लेक्स तयार गरी राख्ने ।

·शालिनदी मेलामा आउने श्रद्धालु भक्तजनहरुको सुविधाको लागि वडा नं. ७ शलिनदी चोक स्थित विजा पुखुमा निःशुल्क सार्वजनिक शौचालयको व्यवस्था नगरपालिकाले गर्ने ।

·शालिनदी मेला व्यवस्थापन मूल अनुगमन तथा समन्वय समितिका पदाधिकारीहरुलाई शालिनदी मेला अवधिभर परिचय पत्रको व्यवस्था नगरपालिकाले गर्ने ।

·शालिनदी मेला व्यवस्थापन मूल अनुगमन तथा समन्वय समितिले शालिनदी मेलालाई व्यवस्थित रुपमा सन्चालनका लागि हप्ताको कम्तीमा २ दिन अनुगमन गर्ने व्यवस्था गर्ने ।

·शालिनदी मेलामा आउने श्रद्धालु भक्तजनहरुबाट हुने गुनासोहरु सम्बोधन गर्नको लागि गुनासो सुन्ने अधिकारीको फोन नम्बर मेलास्थलमा राख्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप