सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?

आइतबार, ०१ असार २०८२, २२ : ३७
आइतबार, ०१ असार २०८२

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले शनिबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ४२ हजार रुपैयाँ (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ (५९.२५ प्रतिशत) रहेको छ।

त्यसैगरी, अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख, सङ्घीय रोयल्टी बाँडफाँटबाट ८ करोड, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित ७ अर्ब ६६ करोड ६३ लाख ४८ हजार रुपैयाँ रहने अनुमान गरिएको छ। यसैगरी सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानबाट बाँकी स्रोत जुटाइनेछ ।

बजेटले समृद्ध सुदूरपश्चिम निर्माणका लागि विकास, समृद्धि र सामाजिक न्यायलाई मुख्य आधार बनाएको छ । 

१. कृषि, पशुपन्छी तथा सहकारी

एक स्थानीय तहः दुई उत्पादन“ अभियान सञ्चालन गर्न ७० करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस कार्यक्रममार्फत प्रत्येक स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास गरी फलफूल, दलहन, तरकारी, माछा, भैँसी/गाई, बङ्गुर तथा बाख्रा पालनलाई व्यवसायीकरण गरिनेछ ।

भीमदत्त पन्त कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत युवाहरूलाई कृषिमा आकर्षित गर्न युवा लक्षित तरकारी खेती, च्याउ उत्पादन र मौरीपालनका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ ।

कृषि कर्जामा ब्याज अनुदानका लागि १३ करोड ८५ लाख, सुदूरपश्चिम दुग्ध विकास बोर्डका लागि २ करोड ८५ लाख र रासायनिक मलमा अनुदानका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

२. पूर्वाधार विकास, ऊर्जा तथा सिँचाइ

प्रदेश गौरव र बहुवर्षीय आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखी राजमार्गदेखि स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल विस्तार गरिनेछ। प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कैलाली र कञ्चनपुरमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउन जलवायु अनुकूलित सिँचाइमा विशेष जोड दिइएको छ ।

धनगढी बजारको मूल सडकलाई सहरी सडकमा स्तरोन्नति गर्ने कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि समग्रमा १५ अर्ब ४० करोड ३० लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

३. शिक्षा तथा स्वास्थ्य

’जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम’मार्फत ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका एक–एक माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन २३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न ५ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

“मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम“ अन्तर्गत अस्पतालहरूको स्तरोन्नति, निःशुल्क रक्त सेवा र विशेषज्ञ सेवा विस्तार गरिनेछ ।

घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम मार्फत सिकलसेल एनिमिया, थालासेमिया जस्ता रोगको पहिचान र उपचारको व्यवस्था गरिनेछ ।

४. उद्योग, पर्यटन तथा रोजगार

एक जिल्ला एक उद्योग प्रवर्द्धन कार्यक्रम का लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम मार्फत विपन्न वर्गलाई रोजगारी र उत्पादनमा जोड्न बजेट व्यवस्था गरिएको छ ।

खप्तड, बडिमालिका, रामारोसन जस्ता पर्यटकीय स्थलमा केबुलकार स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ भने ’बाँकाबीर पर्यटन प्रवर्द्धन कार्यक्रम’लाई निरन्तरता दिइनेछ ।

सामाजिक विकास मन्त्रालयका लागि कुल ७ अर्ब ७ करोड ४ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

५. सामाजिक क्षेत्र र सुशासन

स्वस्थ बालबालिका, सबल नारी र सम्मानित जेष्ठ नागरिकः सुदूरपश्चिमको प्रतिबद्धता नाराका साथ महिला, बालबालिका तथा जेष्ठ नागरिक दशक (२०८२–२०९२) कार्यक्रम सञ्चालन गरिनेछ ।

सिएम एक्शन रूम मार्फत आयोजनाहरूको डिजिटल अनुगमनका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीहरूको मनोबल बढाउन २०८२ साउन १ देखि लागू हुने गरी ३ हजार महँगी भत्ता र प्रदेश विशेष प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप