जिबी र रविले मेरो घर धितो राख्न खोजेपछि तीन महिनामै कम्पनी छाडेको हुँ : छविलाल जोशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा आइतबार वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दर्ता भएको छ । जसमा पूर्वडीएसपी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ ।
जोशीले प्रहरीसामु बयानका क्रममा गितेन्द्रबाबु (जीबी) राई र लामिछानेलाई पोलेका छन् । उनले कम्पनी तथा सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबिच कुनै सम्बन्ध सरोकार रहेको आफूलाई जानकारी नभएको बताएका छन् । २०७७ भदौ १४ गते कम्पनी रजिस्ट्रार कार्यालयबाट गोर्खा मिडिया प्रालि दर्ता गरी सञ्चालनमा ल्याउन लामिछानेसँग सहकार्य गरेको र आर्थिक कारोबारको जिम्मा जिबीको रहेको बताएका छन् ।
शेयर वृद्धि गरी बैङ्कबाट कर्जा लिन लामिछाने र राईले आफूलाई धेरै कुराबाट बाइपास गरी आफ्नो घर समेत धितो राख्न थालेपछि तीन महिनामै कम्पनीबाट आफू अलग भएको दाबी उनले गरेका छन् ।
यस्तो छ उनको बयान
गोर्खा मिडिया नेटवर्क प्रा.लि. को नाउँमा ग्लोबल आईएमई बैंकमा संचालनमा रहेको ००४०१०१००००५७७ नम्बरको खाताको केवाईसी फारम र दस्तखत नमुना मेरो हो । उक्त कम्पनीको दैनिक आर्थिक कारोवार वापतको रकम पूर्णरुपमा गितेन्द्रबाबु राई र रवि लामिछानेले गर्ने गर्नु भएको थियो । उक्त कम्पनी तथा सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच कुनै सम्बन्ध सरोकार रहेको मलाई जानकारी छैन, म समेत संस्थापक भई मिति २०७७ । ०५ । १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट गोर्खा मिडिया नेटवर्क प्रालि दर्ता गरी सञ्चालनमा ल्याउने क्रममा रवि लामिछाने समेतको सहकार्य रहेको थियो । आर्थिक कारोवारको सम्पूर्ण जिम्मेवारी र दायित्व गितेन्द्रबाबु राईको रहेको हुँदा कम्पनीको खाताबाट रकम भुक्तानी को–कसलाई र किन दिने भन्ने विषय पनि निजमै निर्भर रहन्थ्यो ।
कम्पनीको शेयर वृद्धि गरी बैकबाट कर्जा लिने भन्ने विषयमा गितेन्द्रबाबु राई र रबि लामिछानेले मेरो घर धितो राख्ने समेतको कार्य गर्न लागेपछि र कम्पनी सञ्चालन गर्दा मलाई धेरै कुराबाट बाईपास गरी मेरो जानकारी विना कामहरू हुन लागेको कारण गितेन्द्रबाबु राई र रवि लामिछानेको काम, व्यवहारसँग मेरो तिक्तता र असहमति हुन गई मैले उक्त कम्पनी स्थापनाको करिव ३ महिना नवित्दै छाड्ने निर्णय गरी सो कुरा निजहरूलाई जानकारी गराउँदा गितेन्द्रबाबु राईले कम्पनीमा तपाईंको कुनै रकम लगानी छैन र यस पछि पनि पर्दैन । हामीले यति ठुलो टिभी सञ्चालनमा ल्याउन लागेका छौँ, यसमा हजुरको असहयोगले गर्दा काम रोकिन सक्छ बरु हजुरले नीतिगत काममा सहयोग गर्नुस् त्यसपछि हजुर अलग हुनुहोला भनी मसँग अनुरोध गरेको कारण कम्पनीको पूँजी वृद्धि गर्ने सम्मको निर्णय गर्ने बैठकमा उपस्थिति जनाई कम्पनीलाई काम गर्ने वातावरण सृजना गरी आफू कम्पनीमा कुनै पनि दायित्वमा नरहने गरी अलग हुन्छु भनी राजीनामा सहितको सबै कागजपत्रहरू निजलाई बुझाई मिति २०७७।०७।०३ गते वैदेशिक भ्रमणको लागि अमेरिका प्रस्थान गरेको हुँ, जुन कुरा मेरो ट्राभल हिस्ट्रीबाट समेत खुल्छ ।
मिति २०७७।०९।०३ गते नेपाल फर्केपछि गोर्खा मिडियामा आफ्नो शेयर कायम नै रहेको र म अमेरिका गएको भोलीपल्ट मिति २०७७।०७।०४ गते मेरो हस्ताक्षर किर्ते गरी कम्पनीको उद्देश्य थप गर्ने बारेमा निर्णय गरेको भन्ने थाहा पाई मैले गितेन्द्रबाबु राईलाई भेटी तपाईँहरूले मेरो हस्ताक्षर समेत किर्ते गर्नु भएको रहेछ, मलाई तपाईँसँग बस्नु छैन, मैले राजीनामा नै बुझाएर तपाईँलाई शेयर समेत फिर्ता गरेको कबुल कागज गरेर छाडिसक्दा पनि किन मेरो शेयर यथावत् राख्नु भएको हो, मलाई यसबाट तुरुन्त अलग गराउनुस् भन्दा निजले तपाईँको केही हस्ताक्षरहरू छुटेका छन् त्यसैले तपाईँको शेयर कायम नै भएको हो ।
हामीले कम्पनीको पुँजी वृद्धि गर्ने लगायतको काम गर्न बाँकी रहेको र सञ्चालक तपाई समेत रहेको कारण सो काम गर्न तपाईँको आवश्यकता भएकोले सहयोग गर्नुस्, कम्पनीको पुँजी वृद्धि गरी बाँडफाँड भएपछि तपाईंको नाउँको शेयर मलाई नै फिर्ता गर्नुहोला, त्यसपछि तपाईँलाई हामी कम्पनीबाट अलग गराउँछौँ भनेको कारण मैले निजको कुरामा विश्वास गरी सो कार्यमा सहयोग गरेको हुँ, सो पश्चात् २०७७ साल चैत्र महिनामा गितेन्द्रबाबु राई, म र रवि लामिछानेको नाउँमा शेयर कायम भएकोमा मैले मिति २०७८ । ०६ । २३ गते मेरो नाउँमा रहेको सम्पूर्ण शेयर गितेन्द्रबाबु राई (Face of the Company) लाई हस्तान्तरण गरी कम्पनीको विनियम अनुसारको प्रक्रिया पुरा गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा उपस्थित भई सम्पूर्ण दायित्व र जिम्मेवारी समेतबाट अलग भएको हुँ ।
म उक्त गोर्खा मिडिया नेटवर्क प्रा. लि. स्थापना कालदेखि मिति २०७८ । ०६ । २३ गतेसम्म कानूनी रूपमा रहेतापनि स्थापनादेखि मिति २०७७।०७।०३ गतेसम्म मात्र उक्त कम्पनीमा थिएँ । सो पश्चात् अमेरिका गई फर्केपछि कम्पनीमा उपस्थित समेत जनाएको अवस्था थिएन । कम्पनी छाड्ने विषयमा पटक–पटक कुरा गरी प्रक्रियागत रूपमा छाड्ने क्रममा केही समय ढिलाइ मात्र हुन पुगेको थियो त्यसैले कम्पनीमा लगानी के–कसरी, कहाँबाट जुटाइयो वा खर्च कसरी गरिएको थियो मलाई पूर्णरुपमा जानकारी छैन । म यस कम्पनीमा छोटो समय मात्र साझेदार रहेको हुँदा सहकारीको बचत रकम अपचलन गरी कम्पनीमा लगानी गरिएको, यसरी अपचलनबाट प्राप्त रकम कम्पनीले धारणा अकाउन्ट प्रयोग गरेको भन्ने विषयमा वा सहकारीको रकम अपचलन गर्नको लागि संलग्नता जनाउने भन्ने जस्ता कुनै पनि कार्यमा संलग्न, मिलेमतो तथा उपस्थिति समेत नभएको हुँदा मलाई प्रस्तुत कुनै पनि कसूरमा कारबाही हुनु हुँदैन। हिरासतमा रहेका रवि लामिछानेले भनेका छन् थाहा छैन तर उनिलाई स्पष्ट रूपमा थाहा छ की मैले २/३ महिना मात्र गोर्खा मिडियामा रही गोर्खा मिडिया नेटवर्क छाडी उक्त टिभीमा नगई कुनै रकम तथा बोनस, आर्थिक लाभ नलिई गितेन्द्रबाबु राई र रवि लामिछानेलाई पूर्णरुपमा आधिकारिक तवरबाट छाडी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सम्पूर्ण दायित्व र जिम्मेवारबाट अलग भएको हुँ सहकारीको रकम अपचलनको विषयमा रवि लामिछाने र गितेन्द्रबाबु राईलाई नै थाहा होला ।