सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

टर्कीले भन्यो - अहमदावादमा भएको विमान दुर्घटनासँग कुनै सम्बन्ध छैन

आइतबार, ०१ असार २०८२, १६ : ०१
आइतबार, ०१ असार २०८२

काठमाडौँ । अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको टर्कीले बताएको छ । दुर्घटनाग्रस्त एयर इन्डिया बोइङ ७८७–८ ड्रीमलाइनरको मर्मतसम्भारमा टर्की कम्पनीको नाम जोडिएको थियो ।

तर, अब टर्कीले यी दाबीहरूलाई अस्वीकार गरेको छ । दूर्घटनामा परेको विमान टर्किस प्राविधिकले मर्मत गरेको दाबीसहितका समाचार गलत भएको एक विज्ञप्तिमा टर्कीको सञ्चार निर्देशनालयको काउन्टरिङ डिसइन्फर्मेसन सेन्टरले भनेको छ ।

दुर्घटनाग्रस्त एयर इन्डिया यात्रुवाहक विमान बोइङ ७८७–८ को मर्मत टर्किस टेक्निकले गरेको दाबी पूरै झुटो भएको विभागले भनेको छ । टर्की र भारत सम्बन्धबारे जनताको रायलाई प्रभाव पार्ने उद्देश्यले यो झुटो खबर फैलाइएको बताइएको छ । अहमदावादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जान उडेको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।

जमिनमा खस्नुअघि यो विमान विमानस्थलको छेउमा रहेको मेघानी नगरमा रहेको बी.जे. मेडिकल कलेजको होस्टेलमा ठोक्कियो । यस दुर्घटनामा विमानमा रहेका यात्रुबाहेक मेडिकल विद्यार्थीहरू र डाक्टरको  पनि ज्यान गयो । 

२०२४ र २०२५ मा एयर इन्डिया र टर्किस टेक्निकबिच बी७७७ वाइड बडी विमानको लागि मात्रै मर्मत सेवा सम्झौता भएको टर्कीको भनाइ छ । दुर्घटनामा परेको बोइङ ७८७–८ ड्रीमलाइनर यस सम्झौताको दायरा भित्र नपर्ने बताइएको छ । आजसम्म, टर्किस टेक्निकले एयर इन्डिया कुनै पनि बोइङ ७८७–८ ड्रीमलाइनर मर्मत नगरेको पनि विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप