कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोडको बजेट सार्वजनिक गरेको छ ।
त्यसमध्ये ७ अर्ब ६६ करोड रुपैयाँ अघिल्लो वर्ष खर्च हुन नसकेर आएको छ । प्रदेश सरकारको आफ्नै आन्तरिक स्रोतको अनुमानित राजश्व १ अर्ब ६५ करोड अर्थात् कुल बजेटको ५ प्रतिशत भन्दा कम छ । तर, प्रदेशले बजेटमा भने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार, कृषि, सामाजिक विकास र पर्यटनलाई समृद्धिको मुख्य प्राथमिकतामा राखिएको छ ।
भौतिक पूर्वाधार विकास अन्तर्गत प्रदेश सरकारले कनेक्टिभिटी र पूर्वाधार निर्माणलाई विशेष जोड दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि सबैभन्दा बढी १५ अर्ब ४० करोड ३० लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कूल बजेटको करिब ४७ प्रतिशत हो ।
यस अन्तर्गत राजमार्ग र सहायक राजमार्गबाट स्थानीय तहको केन्द्रसम्म जोड्ने सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिइएको छ । यसका लागि नेपाल सरकार र स्थानीय तहसँगको लागत साझेदारीमा प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना सञ्चालन गर्न १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ ।
हालसम्म सडक सञ्जाल नपुगेका बझाङको साईपाल, बैतडीको सिगास र दार्चुलाको अपि हिमाल गाउँपालिका जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ। साथै, धनगढी बजारको मुख्य सडकलाई सहरी सडकका रूपमा स्तरोन्नति गर्ने कार्यलाई पनि बजेटमा समेटिएको छ ।
कृषि क्षेत्र अन्तर्गत ३ अर्ब ३० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस अन्तर्गत व्यवसायीकरण, आधुनिकीकरण र उत्पादन वृद्धि गर्न कार्यक्रम राखिएका छन् ।
‘एक स्थानीय तह– दुई उत्पादन’ नामक अभियानलाई अघि सारिएको छ। यसका लागि ७० करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसबाट प्रत्येक स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास गरी फलफूल, तरकारी, दलहन, तेलहन र पशुपालनलाई व्यावसायिकरण गर्ने उल्लेख गरिएको छ ।
सामाजिक विकासका लागि ७ अर्ब ७ करोड ४ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस अन्तर्गत ‘जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम’ मार्फत ३२ वटा निर्वाचन क्षेत्रमा नमुना माध्यमिक विद्यालय विकास गर्न २३ करोड रुपैयाँ छुट्याइएको छ ।
स्वास्थ्यको हकमा मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रदेशका अस्पतालहरूको स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।
डोटी अस्पतालमा डायलाइसिस सेवा विस्तार, कैलाली र कञ्चनपुरमा सिकलसेल एनिमिया जस्ता रोगको उपचारका लागि ‘घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम’ र मानसिक स्वास्थ्य सेवा विस्तार जस्ता कार्यक्रमहरू बजेटमा समावेश छन् ।
सामाजिक सुरक्षा अन्तर्गत स्वस्थ बालबालिका, सबल नारी र सम्मानित जेष्ठ नागरिकस् सुदूरपश्चिमको प्रतिबद्धता नाराका साथ महिला, बालबालिका तथा जेष्ठ नागरिक दशक २०८२–२०९२ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।
महिला सशक्तीकरणका लागि 'द्वारिकादेवी ठकुरानी महिला आत्मनिर्भरता एवं सशक्तीकरण कार्यक्रम' र दलित समुदायको परम्परागत सीपलाई आधुनिकीकरण गर्न ‘टिकाराम पार्की दलित सशक्तीकरण कार्यक्रम’ जस्ता नवीन कार्यक्रमहरू ल्याइएको छ ।
उद्योग, पर्यटन र रोजगार अन्तर्गत प्रदेशमा लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न र रोजगारी सिर्जना गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ३४ करोड ४८ लाख ९४ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
उद्योग र रोजगारी प्रवद्र्धनका लागि एक जिल्ला एक उद्योग प्रवद्र्धन कार्यक्रम अघि सारिएको छ । विपन्न वर्गलाई लक्षित गरी ‘मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम’ र युवाहरूमा उद्यमशीलता विकास गर्न विजनेस इन्कुवेशन सेन्टर स्थापना गर्ने उल्लेख गरिएको छ ।
पर्यटन विकासका लागि खप्तड, बडिमालिका, मालिकार्जुन, सिगासधाम जस्ता पर्यटकीय स्थलमा केबलकार स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने कार्यक्रम छ । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि ‘बाँकाबीर पर्यटन प्रवद्र्धन कार्यक्रम’ लाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची