बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रिय सभा निर्वाचनमा बढेको मतले एमाले दङ्ग !

शुक्रबार, १२ माघ २०८०, २१ : ४१
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । माघ ११ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा मतभार बढेको निष्कर्ष नेकपा एमालेले निकालेको छ ।

राष्ट्रिय सभाका १९ पदमा भएको निर्वाचनमा सत्ता गठबन्धनको समेत मत पाएर कोशी प्रदेशको महिला क्लस्टरमा एमालेकी रुकमिणी कोइराला निर्वाचित भएकी थिइन् । कोइरालाले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पा कार्कीलाई हराउँदै एक मात्र जित निकालेकी थिइन् । यसको अलवा एमालेका उम्मेदवारहरूले आफ्नो मतबाहेक अरू केही थप मत सबै प्रदेशमा पाएका छन् ।

‘राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा(एमाले)को मतभार २७९१, तर उम्मेदवारले प्राप्त गरेको मत झपिन्द्र जिसी ३०११ । तुलसा केसी २८६७, विजयी हुन नसके पनि मत बढेको छ’, एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले भने ।

गठबन्धनको भोट क्रस भएर एमाले उम्मेदवारको पक्षमा पर्नुको कारण गठबन्धनमा असन्तुष्टि नै प्रमुख रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् ।

‘कुनै प्रदेशमा पनि हाम्रो भोट घटेर आएन बरु बढेर नै आयो । यो हाम्रा लागि सकारात्मक हो’, प्रचार विभाग प्रमुख गौतमले भने, ‘पार्टी कमिटीमा राष्ट्रिय सभाको औपचारिक समीक्षा हुन बाँकी छ तर सबैले देखेको र बुझेको के हो भने हामीप्रति जनताको आस्था बढ्दै गएको छ जुन कोशीमा एक सिट जितेर यो निर्वाचनमा एमाले शून्य हुनबाट समेत जोगियो ।’

नेकपा एमालेले पहिलेदेखि नै गठबन्धनमा रहेका दलहरूसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । सोही अनुसार एमालेले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनसँग सहकार्यको प्रस्ताव गरे पनि सफल हुन सकेको थिएन ।

‘सहकार्यका लागि वार्ता, छलफल र संवाद हुँदा सहमति जुट्न नसकेर गठबन्धन एक ठाउँमा उभिएपछि स्थानीय जनमतको आधारमा हामीले हाम्रो पक्षमा नतिजा आउने गरी प्रयत्न र पहल गरेका थियौ’, नेता गौतमले भने, ‘कोशी प्रदेशमा राप्रपासँग एलाइन्स पनि भयो । हामीले हाम्रो भोट उता हाल्यौ, उनीहरूले हामीलाई हाले त्यही भोटको सहयोगमा एक सिट हामीले जित्यौ ।’

नेता गौतमले एमालेको उपलब्धि शून्य भएको ठाउँमा पनि पहल र प्रयत्नले सानो उपलब्धि गर्न सकेको बताए । उनले उपलब्धि सानो भएपनि सन्देश ठुलो गएको बताए ।

‘उपलब्धि सानै भएपनि यसलाई हामीले सकारात्मक ढंगले लिएका छौँ र सन्देश ठुलै गएको छ’, गौतमले रातोपाटीसँग भने, ‘यो अपेक्षित परिणाम नै हो ।’ उनले यो निर्वाचनमा राष्ट्रिय सभामा एमाले शून्य हुने कुरालाई रोक्न व्यापक पहल र प्रयत्न गरेकाले नै परिणाम आएको भन्दै निर्वाचित उम्मेदवार पनि पुरानो र कम्युनिस्ट आन्दोलनबाटै आएको भएकाले सहज भएको बताए ।

नेता गौतमले राष्ट्रिय सभा निर्वाचनमा आएको नतिजाले केन्द्रीय सत्ता गठबन्धनमा उलटफेर भइहाल्ने अवस्था नरहेको पनि आफ्नो बुझाइ रहेको बताए । ‘यो परिणामले हरेक पार्टीमा आन्तरिक छलफलको विषय हुन्छ । त्यो देखियो नै’गौतमको भनाइ छ । उनले मत स्वीङ हुने कुराले पनि हरेक दलभित्र छलफल गर्न बाध्य बनाएको भन्दै गठबन्धन नै तलमाथि भइहाल्ने आफूले नदेखेको बताए ।

Capture

अध्यक्ष ओलीलाई रुघाखोकी

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चिसोको एलर्जी भएको छ । अध्यक्ष ओलीलाई चिसोका कारण रुघाखोकी लागेकाले राष्ट्रिय सभा निर्वाचन लगत्तै बस्ने भनेको एमाले सचिवालय बैठक केही दिन पछि धकेलिएको छ । ‘अध्यक्षलाई चिसोले रुघाखोकी लागेको छ । त्यसकारण तत्काल बस्ने भनेको सचिवालय केही दिन पर धकेलिएको छ’, एमाले प्रचार विभाग प्रमुख गौतमको भनाइ छ । एमालेले सरकार विरोधी आन्दोलनको तयारी गरिरहेको छ । सचिवालय बैठकमार्फत आन्दोलनका एजेन्डा तय गर्ने र माघ अन्तिम साता केन्द्रीय कमिटी बैठकमार्फत आन्दोलनको मिति घोषणा गरेर आन्दोलन चर्काउने एमाले तयारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप