आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमको साँख गाउँमा लाग्ने अचम्मको 'पापिनी मेला'

सोमबार, १५ माघ २०८०, १५ : १८
सोमबार, १५ माघ २०८०

पापिनि मेला-  सुन्दा अनौठो लाग्न सक्छ । रुकुम पश्चिममा यस्तो मेलाको परम्परा छ ।  सहजताका लागि "पापिनी मेला" अथवा "पापिनिको मेला" पनि भनिन्छ। यो मेला प्रत्येक वर्ष माघ एक गतेदेखि सुरु हुन्छ र माघ पन्ध्रमा समापन गरिन्छ।

 रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको छ- सुन्दर साँख गाउँ । हाल मुसिकोट नगरपालिका अन्तर्गत एउटा वडामा सीमित साबिक नमुना गाविसको मुटु गाउँ हो यो। यस साँख गाउँको ठिक बिचमा सुन्दर साँख दह छ। त्यसको तलतिर र माथितिर अथवा उत्तर र दक्षिणतिर दुई वटा गाउँहरू मिलेर बसेका छन्। उत्तरतिरको गाउँलाई माथि गाउँ र दक्षिणतिरको गाउँलाई तलिगाउँ भनिन्छ।

प्रत्येक वर्ष माघ एक गतेदेखि माथि गाउँको धर्मशालामा र तलिगाउँको सिलिङ्गेको बुटानेर घर बनाएर दह नजिकै दुई वटा क्याम्प बस्छन्। दिनभरि घरको काम गरेर राति राति क्याम्पहरूमा बस्न जान्छन् कुमारी युवतीहरू (जसलाई पापिनीको नाम दिइन्छ) र तिनका सहयोगी अनि सहजकर्ताहरू। विशेष गरी मगर समुदायका महिलाहरूद्वारा रचिने यो रमाइलो नाटक साँच्चिकै बिहे गरे जस्तै हुन्छ।

 माघ एक गतेदेखि नै उक्त बिहेका लागि नाच गान, भोजभतेर र दुलाहा दुलहीको तयारी सुरु गरिन्छ। अथवा भनौँ रिहर्सल गरिन्छ। ती दुई क्याम्प मध्य एउटा क्याम्पमा दुलाहा तयार गरिन्छ भने अर्को क्याम्पमा दुलही तयार गरिन्छ।दुलाहा दुलही चाहिँ तल्लो माथिल्लो गाउँले प्रत्येक वर्ष पालो गरेर तयार गर्ने गर्दछन्।जस्तो यो वर्ष माथिगाउँको दुलाहा र तलिगाउँको दुलही बन्यो भने अर्को वर्ष तलिगाउँको दुलाहा र माथि गाउँको दुलही बन्नेछ।यसरी बिहे गर्ने दुलाहा दुलही चाहिँ दुवै कन्या कुमारी हुन्छन्। दुलाहा दुलही बन्नलाई पनि योग्यताको जरुरी हुन्छ।

१. मगर समुदायको हुनु पर्ने,

२. कन्या कुमारी हुनु पर्ने,

३. नाच गान गर्न जान्नु पर्ने!

 यी योग्यता पूरा भएका कुमारीलाई माथि उल्लेख गरिए बमोजिम दुलाहा दुलहीकोभेसमा तयार गरिन्छ। सम्पूर्ण तयारी पूरा गरे पछि माघ चौध गते साँझ दुलाहा पक्ष दुलहीको गाउँमा अथवा दुलहीको क्याम्प राखिएको घरमा दुलही माग्न जान्छन् र विधिवत दुलही लिएर फर्किने परम्परा छ। अनि पन्ध्र गतेको बिहान उज्यालो नहुँदै दुलाहाको घरमा अथवा दुलाहा क्याम्पमा धुमधामसँग बिहे सम्पन्न गर्ने परम्परा छ। हाल सबै दर्शनाभिलासीहरुलाई बिहेको सबै प्रक्रिया देखाउने हिसाबले बिहे दिउँसोमा गर्ने चलन पनि सुरु भएको छ। नत्र सबै काम रातिमै सम्पन्न गर्ने चलन थियो। यसरी बिहेको परम्परा सम्पन्न भएपछि पन्ध्र गतेको दिनभरि नाचगान वा भोज भतेर  गर्ने गरिन्छ। सबै प्रक्रिया सक्कली बिहेकाे जस्तै हुन्छ । 

 यस मेलामा एउटा अर्को अचम्मको परम्परा छ।त्यो के भने सिस्नोले हान्ने र दन्ड जरिवाना गर्ने। माघ एक गते देखि सुरु भएर माघ महिना भरी चल्ने मिल्ने केटा केटीबिच सिस्नो खेलेर रमाइलो गर्ने सामान्य परम्परा रुकुम, रोल्पा,सल्यान जाजरकोट लगायतका क्षेत्रमा सबैतिर हुन्छ। तर यस मेलामा सिस्नोले हान्ने चलन भने त्यस्तो सामान्य रमाइलोको चलन जस्तो होइन।ती कुमारीहरू अथवा मेला हेर्न आउने मान्छेहरूलाई गाउँ प्रवेश गर्ने चारैतिर चोक र गौडा बथानेर बस्छन् र जो जान्छ झ्याप्प समातेर सिस्नोले हान्न थाल्छन्।त्यसरी समातिने तन्नेरी या त ती पापिनिहरुलाई उछिनेर भागेर जान सक्नु पर्‍यो या त जरिवाना तिरेर जान पाउँछ।यसरी जरिवाना गरिएको रकम नै उक्त बिहेको व्यवस्थापन खर्चमा प्रयोग गरिन्छ।

   यस्तो परम्परा भएको हुँदा उक्त मेला हेर्न केटाकेटी वा बुढा बुढी सबै खाले मान्छे जान सक्दैनन्। पापिनीहरु सँग दङ्गा फसल गर्न रमाइलो मान्ने, पापिनीहरु सँग डराइदैन भनेर घमन्ड गर्ने खालका तन्नेरीहरु प्रायः त्यस मेलाका दर्शनाभिलासी हुन्छन्। यस कार्यमा कहिले काहीँ अलि बढी नै हुने गरी अत्याचार गरिने गरेको पनि सुनिए पनि उक्त समयमा त्यस गाउँका महिलाहरूले गर्ने सबै व्यवहार मान्य हुन्छ।हाल उक्त मेलालाई संरक्षण प्रवर्द्धन गर्ने हेतुले गाउँको अलि सुझबुझ वाला र सबैले मान्न सक्ने व्यक्तिलाई व्यवस्थापकीय जिम्मा दिन थालिएको छ।

 यस मेला लाग्नुको पौराणिक र धार्मिक मान्यता खासै थाहा पाउन सकिएको नभए पनि यस्तो बिहे नगरेमा उक्त वर्ष त्यस गाउँमा मान्छे अकालमा मृत्यु हुने जनविश्वास भएको पाइएको छ।

 यसै सन्दर्भमा पुस पन्ध्रलाई पनि थोरै जोडेर हेरौं। पुस पन्ध्रबाट सूर्य पन्ध्र हात फाल हाल्छन् र माघ पन्ध्रबाट सूर्य तिलागेडी सर्छन् भन्ने मान्यता त्यस क्षेत्रका समुदायमा रहेको पाइन्छ।सायद त्यसै भएर होला पुसको पन्ध्रमा गाउँका युवा युवती जति सबै सल्लाहले  कुनै एउटा घरमा जम्मा हुन्छन् र पन्ध्र हातको दाउरो बालेर रातभरि रमाइलो गर्दै बस्छन्।त्यस्तो दाउरो केही महिना पहिले नै तयार गरेर राखिन्छ।त्यस्तो दाउरो बाँस, चोया वा छिटै जलेर सकिनेखाले काठको हुन हुँदैन। बनको कुनै रुख वा लहराको ठिक्क दाउरा बाल्न मिल्ने खालको सुकेको हुनुपर्छ ।उक्त दाउरो बालेर पुरै सकाउनु पर्ने हुनाले त्यो नसुकेको कचिलो पनि हुन भएन र अलि रातभरि रमाइलो गर्नलाई छिटै सकिनेखाले पनि हुन हुँदैन।प्रायः तन्नेरीले उक्त दाउरो खोज्ने जिम्मा लिन्छन् भने युवतीहरू  दूध, घ्यु, चामल आदि जम्मा गरेर उक्त दाउरो बाले सँगै खिर वा अन्य मिठो खाने कुरा पकाएर जम्मा भएका सबैले खादै रमाइलो गर्दछन्। यो पनि लोपोन्मुख परम्परा बन्न थालिसकेको छ। पन्ध्र हातको दाउरो बाल्ने काम त सकियो तर पापिनिको मेला भने आज अथवा माघ पन्ध्रमा लागिरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हर्क सिंह के.सी.
हर्क सिंह के.सी.
लेखकबाट थप