बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बाँदरको निकासी गर्नुहुँदैन:, रुख काटेर पनि समाधान निस्किँदैन : संरक्षणविद्

मङ्गलबार, १६ माघ २०८०, १५ : २७
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मङ्गलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् । 

उनीहरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन् । बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए । 

उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताए । उनले बाँदरले अत्यधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राखे । 

संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानुन रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे । यद्यपि बाँदर सिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताए । त्यस्तै बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बता । अथवा बँदेललाई बच्चामै निःशुल्क रूपमा व्यक्तिहरूलाई दिन सकिने बताए । पछिल्लो समय मानव र वन्यजन्तुका बिचमा द्वन्द्व बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनु पनि आवश्यक नभएको बताए । 

बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए ।  त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाई छ । समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘पोखरामा वडा अध्यक्षले बाँदरले दुःख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ । त्यो समाधान होइन । रुख काटेर समाधान हुँदैन । बाँदर मारेर पनि समाधान हुँदैन । बाँदर निकासी गरेर पनि समाधान हुँदैन । बन्ध्याकरण गर्नुप-यो भनेर पनि भन्न थालेका छन् । त्यो पनि समाधान होइन । समाधान के हो त भन्दा जो पीडित छन्, ती पीडितहरू त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान ? हामी समाधान यसरी हेर्न सक्नुप-यो ।’

उनले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकुल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप