आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुख काटेर बाँदर नियन्त्रण गर्ने ‘आइडिया’मा, के भन्छन् जनप्रतिनिधि ?

मङ्गलबार, १६ माघ २०८०, १५ : ३०
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । बढ्दो बाँदर आतंक नियन्त्रणका लागि रुख काट्ने निर्णय सार्वजनिक भएपछि यसबारे व्यापक टीकाटिप्पणी भइरहेको छ ।  सोमबार पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रुख काट्न सूचना नै प्रकाशित गरेको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको हो । 

‘साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र प्रदेश सरकारले आ.व. ०८०/८१ नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा आजको मितिले १० दिन भित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आ– आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनका लागि सम्पूर्ण वडाबासीमा यो सूचना प्रकाशित गरिन्छ’, प्रकाशित सूचनामा उल्लेख छ । 

तर वडाले सूचना प्रशासित गरेको २४ घण्टा नपुग्दै महानगरपालिकाका मेयर धनराज आचार्यले वडाको निर्णयमाथि रोक लगाएका छन् ।  स्थानीय तहमा बाँदर आतंक भए पनि वडाको निर्णय गलत भएकाले अभियानमाथि रोक लगाइएको प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । 

‘वडाबाट बाँदर नियन्त्रणसम्बन्धी सूचना निकाल्नु भएको रहेछ । त्यो अभियान स्थगित गर्न भनेर चिठि पठाइसकेको छ । रुख काट्ने काम तत्काल बन्द गर्न रोक लगाइसकेकाले अभियान स्थगित हुन्छ’, प्रवक्ता तिमिल्सिनाले भने, ‘वातावरणीय हिसाबले पनि रुख काट्नु राम्रो होइन । बाँदरले दुःख दिएकै छ । बस्तीमा आउने, फलफूल, तरकारी खाने, नष्ट गर्ने गरेको छ । त्यसै हिसाबले उहाँहरूले आत्तिएर यस्तो अभियान चलाउनु भएको होला । अब कार्यान्वयन हुँदैन ।’

बाँदर आतंक नियन्त्रणका लागि यसअघि पर्वतको पैयुँ गाउँपालिकाले पनि रुख काट्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, गाउँपालिका अध्यक्ष तोरणमल्ल ठकुरीले आफ्नो निर्णयको बचाउ गरेका छन् । आफूले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान नचलाएको दाबी गर्दै अध्यक्ष ठकुरीले बर्षा याममा बस्ती, बिजुलीका तर लगायत जोखिम क्षेत्रको रुख काटीएको दाबी गरे । पुराना गाउँबस्ती झाडी बढेकाले जोखिम युक्त रुख काट्दा जोखिम नहुने उनले तर्क गरे । 

‘रुखै काटेर बाँदर आतंक किन नियन्त्रण होला र ? तथापि गाउँबस्ती बढ्दै गएको जोखिम युक्त रुख काटेको हो । बाँदर नियन्त्रणका लागि काटेको होइन’, उनले भने । बाँदर नियन्त्रणका लागि विभिन्न विकल्पहरू सम्बन्धमा छलफल भइरहेपनि सफल नभएको उनले गुनासो पोखे । यसअघि भारतबाट बाँदर छोप्ने जनशक्ति ल्याएर राष्ट्रिय निकुञ्ज वा आरक्षण क्षेत्रमा पठाइएपनि आतंक नरोकिएको अध्यक्ष ठकुरीले बताए । अब बाँदर नियन्त्रणको विषयमा बाली लगाउने र भित्र्याउने बेला कुरुवाको व्यवस्था पलिकाबाट गर्न लागिएको उनले जानकारी दिए । 

यस्तै पोखरा महानगरपालिका वडा नम्बर २१ की कार्यबहाक अध्यक्ष विमला केसीले समेत रुख काट्ने अभियान प्रभावकारी भएकाले आफ्नो वडामा पनि अभियान चलाउने तयारी भएको जानकारी दिइन् । उनले व्यक्तिको लालपुर्जा भित्रका रुख काट्ने भएकाले त्यसले पर्यावरणमा कुनै असर नपर्ने तर्क गरिन् । 

‘स्थानीय तहमा बाँदर आतंक निकै बढेको छ । नियन्त्रणका लागि रुख काट्ने अभियान निकै प्रभावकारी देखिएकाले हाम्रो वडामा पनि सुरु गर्ने तयारी छ । तर रुख काट्नकै लागि वडाबाट कुनै बजेट छुट्याइएको छैन । व्यक्तिको जग्गाभित्र पर्ने रुखहरू काट्ने हो । वन फँडानी गर्ने होइन’, केसीले भनिन् । 

गाउँघरमा बस्ती पातलिँदै जाने र वनजंगल बढ्दै जाने समस्याका कारण बाँदरको संख्या बढेपछि बस्तीहरूमा बाँदर आतंक बढेको जनप्रतिनिधिहरूको गुनासो छ । गाउँबस्तीमा बाँदर आतंक बढ्दै गएपछि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा समेत यस विषयले प्रवेश पाएको छ । बाँदर नियन्त्रणका लागि समितिमा विभिन्न विकल्पबारे छलफल भए पनि निष्कर्ष निकाल्न सकेको छैन । सांसद डा.आरजु राणाले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् । यसै विषयमा अध्ययन गर्नका लागि २० सांसद भारत जाने तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप