सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

धमाधम ‘कमब्याक’ गर्दै पुराना स्टार

बुधबार, १७ माघ २०८०, १२ : १०
बुधबार, १७ माघ २०८०

काठमाडौँ । मंगलबार फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ ( युओजी¬) घोषणा भयो । फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै घोषणा भएको फिल्ममा अभिनेता सलिनमान बनियाँको पनि मुख्य भूमिका रहनेछ । बनियाँले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । ‘ए मेरो हजुर २’ र ‘यात्रा’ अभिनयपछि फिल्म क्षेत्रमा डिमान्डको हिरो भएका उनी ‘यात्रा’पछि भने फिल्मबाट आफूलाई टाढा बनाएका थिए ।

सलिनमान मात्र होइन, अहिले थुप्रै पुराना स्टार कलाकार फिल्ममा ‘कमब्याक’ गर्दैछन् । कतिले कमब्याकका लागि फिल्ममा अभिनय गरिसके भने कोही अभिनयको तरखरमा छन् । यतिबेला नेपाली फिल्ममा कमब्याकको सिलसिला नै चलिरहेको छ । अभिनेता राजवल्लभ कोइराला, उत्तम प्रधान, अभिनेत्री पूजा चन्द, विपना थापा, ऋचा घिमिरेदेखि रेजिना उप्रेतीसम्म कमब्याक गर्दैछन् ।

अभिनेता राजवल्लभ कोइराला ‘अक्टोर’बाट फिल्ममा कमब्याक गर्ने भएका छन् । प्रदीप खड्का र आना शर्माको मुख्य भूमिका रहने फिल्म राजन भुसालले निर्देशन गर्न लागेका हुन् । थमनकुमार भण्डारीको लगानी रहने फिल्मका सह–निर्माता एनिस भुसाल र सार्थक केसी हुन् । फिल्म सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । राजवल्लभ फिल्म ‘पर्खी बसे’का कारण चिनिन्छन् ।

त्यस्तै पूजा चन्द फिल्म ‘भूठान’ मार्फत कमब्याक गर्दैछिन् । विनोद पौडेलको निर्देशनमा फिल्म अमेरिकाको ओहायो राज्यमा छायाङ्कन भैरहेको छ । हरिवंश आचार्य र दयाहाङ राईको समेत मुख्य भूमिका रहने फिल्ममा हलिउड स्टार ब्रुस डर्नले पनि अभिनय गर्दैछन् । एक समयकी लोकप्रिय अभिनेत्री पूजाले आवारा, बरपिपल, खेलौना लगायत दर्जनौँ फिल्ममा काम गरेकी छन् ।

उत्तम प्रधान पनि फिल्म ‘म्याउँ’बाट कमब्याक गर्दैछन् । जयराज रायको निर्देशन रहने गत माघेसंक्रान्तिमा घोषणा भएको फिल्ममा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस फिल्म समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा बन्न लागेको हो । ‘दर्पण छाया’बाट अभिनयमा डेब्यु गरेका उत्तमको ‘लहना’, ‘बसाई’ लगायत फिल्म दर्शकले रुचाएका थिए ।

यस्तै अभिनेत्री ऋचा घिमिरे फिल्म ‘तेल भिसा’ मार्फत कमब्याक गर्दैछिन् । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशन रहने फिल्मबाट उनी १० वर्षपछि अभिनयमा फर्किन लागेकी हुन् । विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहने फिल्मको आगामी वर्षको भदौ २८ गतेलाई प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं ‘तेल भिसा’को निर्मातामा रहेका छन् । ऋचाले पनि थुप्रै फिल्म तथा सिरियलमा काम गरेकी छन् ।

अभिनेत्री विपना थापाले पनि कमब्याक गर्ने भएकी छन् । उनी अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत कमब्याक गर्न लागेकी हुन् । केही अगाडि फिल्मको छायाङ्कन सकिएको छ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । फिल्म छिट्टै रिलिज हुनेछ । फिल्म ‘वरमाला’का सहायक निर्माता तथा भारतीय नागरिक आशुतोष भारद्वाजसँग २०६४ मा बिहे गरेर भारतको मथुरा बसाइँ सरेकी विपना त्यसपछि फिल्मबाट टाढा रहँदै आएकी थिइन् । बेलाबेलामा काठमाडौँ आइरहने उनी उचित भूमिका र ब्यानरको पर्खाइमा थिइन् । ‘ह्रस्व दीर्घ’ले त्यो अवसर दिलाएको उनको भनाई छ ।

अभिनेत्री रेजिना उप्रेती फिल्म ‘मोदिबेनी’बाट अभिनयमा फर्किँदैछिन् । करिब ९ वर्षअघिको ‘वरदान’ पछि फिल्मबाट बाहिर रहेकी उनको अभिनय रहने ‘मोदिबेनी’ मंगलबार शुभमुर्हूत भएको छ । फिल्ममा उनको अमर प्रताप श्रेष्ठसँग रोमान्स रहनेछ । फिल्म शंकर कोइरालाले निर्देशन गर्दैछन् । फिल्ममा रेजिना र अमरसँगै सरोज खनाल, दिलीप केसी, केकी अधिकारी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायत कलाकारको अभिनय रहनेछ । 

अभिनयका कलाकारको कमब्याक राम्रो मान्छन् कलाकार, निर्माता, निर्देशक अशोक शर्मा । तर कमब्याक गर्नेले अहिलेको समय र माहौल बुझ्नु जरुरी भएको उनको जिकिर छ । ‘अहिले धेरै कुरा पहिलेभन्दा फरक भएको छ । कमब्याक गर्नेले आफूलाई केही परिवर्तित गर्नुपर्छ,’ शर्माले थपे ।

शर्माको विचारसँग मिल्छ कलाकार संघका अध्यक्ष मोहन निरौलाको धारणा पनि उनी कमब्याक गर्नेले आफूलाई परिमार्जन गरेर फर्कनुपर्ने बताउँछन् । ‘फर्किएका पेशागत रूपमा कलाकार हुन् । कलाकार फर्किएपछि अभिनय गर्न सक्छन्,’ निरौलाले थपे, ‘कति भिन्न गर्न सक्छन् वा सक्दैनन् । त्यो दर्शकले मूल्याङ्कन गर्ने कुरो हो ।’

  • फेरि जम्न चुनौती

एक समय अभिनयमा राम्रो जमेका कलाकार पुनः अभिनयमा फर्किनु सकारात्मक हो । यस अगाडि पनि सरोज खनाल, रमेश उप्रेती, बिराज भट्ट, दिलीप रायमाझी, करिस्मा मान्नधर लगायत थुप्रै कलाकारको कमब्याक भएको छ । कमब्याक गरेकाको अहिलेको करियर हेर्दा कमब्याक राम्रो भएको देख्न सकिन्न । 

कमब्याकपछि कलाकारले अभिनय कम र अन्य काम बढी गरेको देखिन्छ । अभिनेता सरोज खनाल कमब्याकपछि अभिनयभन्दा व्यवसाय र फिल्म निर्देशनमा क्रियाशील छन् । सरोज निर्देशित फिल्म ‘बगान’ केही अगाडि रिलिज भएको थियो । 

अभिनेत्री करिस्मा मानन्धरको कमब्याकपछि अभिनयभन्दा बढी राजनीति र व्यवसायको कारणले मिडियामा छाएकी छन् ।

अभिनेता रमेश उप्रेतीको कुरो पनि त्यस्तै छ । ‘ब्रासलेट’बाट कमब्याक गरे पनि त्यसपछि ‘ऐश्वर्य’ मा मात्र अभिनय गरे । अहिले भने उनी राजमहल अभिनय गर्दैछन् । अभिनेता बिराज भट्टको पनि कमब्याक त्यस्तै भयो । कमब्याक फिल्म ‘जय परशुराम’ असफल भएपछि ‘साङ्लो’ मार्फत निर्देशनमा देखिए । तर ‘साङ्लो’ पनि राम्रो हुन सकेन । अहिले उनी छोरा समीर लिएर फिल्म ‘१२ गाउँ’ बनाउँदैछन् । दिलिप रायमाझीको हालत पनि त्यस्तै छ ।

त्यसैले पुराना स्टार भएपनि अभिनयमा कमब्याक चुनौती नै देखिएको छ । लामो समयपछि अभिनयमा फर्किएका कारण कमब्याक चुनौतीपूर्ण भएको अभिनेता रमेश उप्रेती बताउँछन् ।

‘हाम्रो समयको भन्दा अहिले दर्शकको फिल्म प्रतिको सोच फेरिएको छ,’ उप्रेतीले भने ‘पछिल्लो समयको बजारको माग अनुसार हामी फरक भएको पनि होला ।’ पहिले दालभातका लागि जस्तो पनि फिल्म खेलेको बताएका उप्रेतीले अहिले राम्रो फिल्म अभिनय मात्र गर्न खोजेको सुनाउँछन् ।

कलाकारको कमब्याकलाई राम्रो भन्छन् कलाकार रवीन्द्र खड्का । उनी पनि कमब्याक भएपनि फेरि जम्न चुनौती रहेको बताउँछन् । ‘पहिलाको अभिनय र अहिलेको अभिनयमा धेरै परिवर्तन आएको छ,’ खड्काले भने ‘उहाँहरू गएपछि ट्रेन्ड चेन्ज भएको छ ।’ प्राविधिक हिसाबमा पनि धेरै फेरिएकोले फेरि जम्न चुनौती रहेको खड्का सुनाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप