शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको तटबन्ध : महाकालीमा मर्मत, मोहना र खुटियामा नयाँ बन्दै

बिहीबार, १८ माघ २०८०, २० : ५२
बिहीबार, १८ माघ २०८०

कञ्चनपुर । डेढ दशकअघि नदीनाला नियन्त्रण तथा तटबन्ध निर्माणलगायत क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको जनताको तटबन्ध कार्यालयले यहाँका विभिन्न नदीमा तटबन्ध मर्मत तथा नयाँ निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ ।

महेन्द्रनगरस्थित जनताको तटबन्ध फिल्ड कार्यालयले कञ्चनपुरको महाकाली नदीको तटबन्ध मर्मत एवं केही स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण गरिरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालयका प्रमुख श्रीप्रसाद शाहले महाकाली नदीको झोलु्गे पुलदेखि दक्षिण कुतियाकवरसम्मको महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माण भइरहेको जानकारी दिए ।

“दोधारा–चादँनी झोलुङ्गे पुलतलमा मर्मतको काम चलिरहेको छ,” प्रमुख शाहले भने,“कुतियाकवरमा पनि दुई सय मिटर नयाँ तटबन्ध निर्माण भइरहेको छ । कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गतवर्ष रु १६ करोड ८५ लाखमा ठेक्का लगाइएको हो । त्यसैगरी तटबन्ध कार्यालयले कञ्चनपुर र कैलालीको सीमा छुट्याउने मोहना नदीमा पनि तटबन्ध निर्माण  थालिएको छ ।” 

मोहना र कैलालीको खुटियामा नदी नियन्त्रणका निम्ति  ठेक्का दिएको करिब दुई वर्षसम्म भने निर्माण कम्पनीको लापरबाहीका कारण पाँच प्रतिशत पनि भौतिक प्रगति भएको थिएन । यहाँ मोहना र खटियाको गरी १०.२५ किलोमिटर तटबन्ध निर्माण तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको  छ ।

उक्त तटबन्ध निर्माणको काम टिम्स–राजेन्द्र–कुमार जेभीले रु ५२ करोडमा गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु सात करोड भुक्तानी लिएको प्रमुख शाहले बताए  । उनले भने, “दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी गरेपछि कम्पनीले काम द्रुत गतिमा अघि बढाएको  हो । अहिले ५० प्रतिशतभन्दा बढी काम पूरा भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप