सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व क्यान्सरविरुद्धको दिवस

आशाको केन्द्र बन्दै भक्तपुर क्यान्सर अस्पताल

आइतबार, २१ माघ २०८०, १० : ४६

विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरसँग लड्दा लड्दै मृत्युवरण गर्नु भएका सम्पूर्ण क्यान्सर बिरामीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । क्यान्सरले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्व जगतलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पुर्‍याएको क्षति र भविष्यमा अझ पुर्‍याउन सक्ने हानिलाई रोक्न सन् २००० फेब्रुअरी ४ का दिन फ्रान्सको पेरिसमा शिखर सम्मेलन सम्पन्न भयो । नयाँ सहश्राब्दीमा क्यान्सर सम्बन्धी अनुसन्धान, रोकथाम, सेवा सुविधा विस्तार र जनचेतना मूलक कार्यक्रम सञ्चालन गरी विश्व समुदाय एकजुट भएर क्यान्सर विरुद्ध लड्ने प्रतिबद्धताका साथ शिखर सम्मेलन समापन भएको थियो । त्यसपछि फेब्रुअरी ४ का दिनलाई विभिन्न नाराका साथ विश्व क्यान्सर दिवस मनाउँदै आइरहेकोमा यस पटक सन् २०२२–२०२४ का लागि ‘Close the Care Gap’ नाराका साथ विश्व क्यान्सर दिवस मनाउन लागिएको छ ।

नेपालमा पनि वर्षौँदेखि विश्व क्यान्सर दिवस मनाउने गरिएको छ । यस दिवस मनाउन सञ्चार माध्यम सक्रिय देखिन्छ । क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम, अन्तर्वार्ता, गोष्ठी र लेख प्रकाशन गरेर जनतालाई सुसूचित गर्ने कार्य गरी पत्रकार जगतले जनताप्रति आफ्नो दायित्व पुरा गर्दै आएका छन् ।

सरकारी र गैरसरकारी संस्थाहरूले पनि–जनचेतना मूलक कार्यक्रम, पैदल यात्रा, दौड र साइकल र्‍याली गरी क्यान्सर सम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आइरहेको छ । यसको प्रभाव जनस्तरमा देखापरी बिरामी जाँच गराउनेको सङ्ख्या दिनहुँ बढिरहेको हुँदा क्यान्सरको निदान पनि बढ्दो सङ्ख्यामा भइरहेकोले देशमा क्यान्सर बढेको जस्तो देखिन गएको छ । 

क्यान्सरको सबै भन्दा जोखिममा अति अविकसित राष्ट्रहरू परेका छन् । तिनीहरूको सीमित श्रोत साधनले गर्दा क्यान्सर विरुद्ध लड्न कठिनाइ भई ६५ प्रतिशत भन्दा बढी क्यान्सरबाट मृत्यु यी मुलुकहरूमा भइरहेको छ । अन्य अविकसित मुलुकहरूमा जस्तै नेपालमा पनि द्रुतगतिमा वृद्धि भइरहेको क्यान्सरसँग जुध्न समयमा क्यान्सरको सही पचिान गर्नु पहिलो आवश्यकता देखिन्छ । यी कुराहरूलाई मध्यनजर गरी नेपाल सरकारले क्यान्सर बिरामीहरूको लागि सरकारी स्तरमा बी.पी.कोइराला क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (नेपालगन्ज)बाट सेवा प्रदान गरिराखेको छ । त्यसै गरी निजी क्षेत्रका स्वास्थ्य संस्था तथा संघसंस्थाहरुले पनि क्यान्सर विरुद्ध उपचार र रोकथामका जनचेतनामूलक कार्यहरू गरिराखेका छन् । 

काठमाडौँ उपत्यका भित्र स्थापित भक्तपुर क्यान्सर अस्पतालले २०५३ सालदेखि अविरल रूपमा क्यान्सर बिरामीहरूको उपचार र रोकथाम कार्य गर्दै आइरहेको छ । यसको भौतिक संरचना पुरानो देखिएतापनि सेवाको हिसाबले सबै खालका क्यान्सर बिरामीहरूको उपचार अस्पताल भित्रै प्रदान गर्दै आएको छ । जसमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, प्यालिएटिभ केयर, डे–केयर र बच्चाको क्यान्सर सेवा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीबाट प्रदान गर्दै आइरहेका छन् । त्यस्तै क्यान्सर पत्ता लगाउने उपकरण एम.आर.आइ. र पेट स्क्यान बाहेक सबै उपकरणहरूको सुविधा छ । गत वर्ष मात्र ८८४९० बिरामीले ओ.पी.डी.बाट सेवा लिएको त्यसमध्येमा  ३५६४ मा क्यान्सर देखिएको र उनीहरूलाई उपचार सेवा प्रदान गरिएको थियो । गत वर्षको क्यान्सर सम्बन्धी तथ्याङ्क हेर्दा पुरुषमा फोक्सो, नाक, कान, घाँटी, ठुलो आन्द्रा, पेट र कलेजोको क्यान्सर र महिलामा स्तन, पाठेघरको मुख र थाइराइडको क्यान्सर बढी देखिन्छ । 

यस भक्तपुर क्यान्सर अस्पतालले विभिन्न संघ संस्था, स्कुल, कलेजको अनुरोधमा क्यान्सर रोग सम्बन्धी जनचेतनामूलक र रोकथाम सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । एकतिहाइ क्यान्सरलाई जनचेतना र स्वास्थ्य शिक्षाबाट बचाउन सकिन्छ भने अर्को एकतिहाइ क्यान्सर समयमा जाँच बिरामीहरूलाई (screening)  गरी सुरुको चरणमा पत्ता लगाई उपचार गरेमा निको पार्न सकिन्छ भन्ने वैज्ञानिक मान्यता छ । 

भक्तपुर क्यान्सर अस्पतालमा हाल केही नयाँ सेवा सुरु गरिएको छ – फ्रोजन सेक्सन, इमोहिस्टोकेमेष्ट्रि, मलेकुलर ल्याब, HIPEC र CT Scan । फ्रोजन सेक्सन भन्नाले शल्यक्रिया गर्दा गर्दै क्यान्सर फैलिएको छ छैन हेर्ने जाँच हो । इमोहिस्टोकेमेष्ट्रि र मलेकुलर जाँचले क्यान्सर रोग पत्ता लगाउने नयाँ प्रविधिहरू हुन् । त्यस्तै HIPEC (Hyperthermic Intrperitonel Chemotherapy) प्रविधि  जसमा पेटमा फैलिएको क्यान्सरलाई शल्यक्रिया मार्फत ट्युमर निकालिएपछि तुरुन्त पेटभित्र केमोथेरापि दिने उपचार हो । यो प्रविधि नेपालमा पहिलोपटक सञ्चालन गरिएको छ । क्यान्सर पत्ता लगाउने अत्याधुनिक -CT Scan 256 slice)  उपकरण जडान हुने क्रममा छ । 

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर लागेको बिरामीहरूको अध्ययन गर्दा चुरोट, रक्सी, सुर्तीजन्य बस्तुको प्रयोग गर्नेहरूमा बढी क्यान्सर देखिएको छ । केही बिरामीहरूमा भने क्यान्सर वंशाणुगत कारणले हुने देखिएको छ । त्यसैले आमाबाबुलाई क्यान्सर भएको छ भने छोरा छोरीहरूले बढी सतर्कता अपनाउनु पर्दछ । उदाहरणको लागि स्तन र ठुलो आन्द्राको क्यान्सर । यस अस्पतालमा सबैभन्दा बढी बिरामी काठमाडौँ, भक्तपुर, काभ्रेपलान्चोक र सिन्धुपलान्चोकबाट आएका देखिन्छ । 

क्यान्सर सम्बन्धी ज्ञान र प्रयोगात्मक अभ्यासको लागि १५ वटा नर्सिङ कलेजहरू, विश्व विद्यालय र प्रतिष्ठानका रेजिडेन्ट चिकित्सकहरूलाई यस अस्पतालले अध्ययनको लागि स्वीकृति दिएको छ । त्यसै गरी विभिन्न कलेजका विद्यार्थीहरूलाई अनुसन्धानमूलक कार्य गर्न पनि सहमति दिएको छ ।

क्यान्सर बिरामीलाई आर्थिक सहयोगको लागि नेपाल सरकारले प्रत्येक क्यान्सर बिरामीलाई रु. १ लाख बराबरको सुविधा र विभिन्न प्रदेशहरूले आफ्नो भेगका जनताहरूलाई थप आर्थिक अनुदान दिएका छन् । उदाहरणको लागि लुम्बिनी प्रदेशले रु.२ लाख, गण्डकी प्रदेशले रु.१ लाख र बागमती प्रदेशले रु.५० हजार उपलब्ध गराएका छन् । त्यसै गरी विभिन्न नगरपालिकाहरुले पनि आफ्नो क्षेत्रका क्यान्सर बिरामीहरूलाई सहयोगको रकम छुट्याएको छ । स्वास्थ्य बिमाबाट पनि रु.१ लाख सम्म खर्च गर्न सकिन्छ । यी सहयोगहरूका बाबजुद पनि क्यान्सर उपचार महँगो भएकोले रकमको अभाव बिरामीहरूले भोगिराखेका छन् ।

क्यान्सर रोग लागेको जानकारी पाउने बित्तिकै प्राय बिरामी र परिवारलाई छाँगाबाट खसेजस्तो महसुस हुन्छ । के गर्ने, के नगर्ने, कहाँ जाने, कसलाई सोध्ने, अनि कहाँ उपचार गराउने जस्ता थुप्रै प्रश्नहरू उनीहरूका सामु आउँछन् । त्यस्तै रोगको सही पहिचान भएको हो कि होइन, पुन: जाँच गराउने हो कि, अर्कै अस्पताल वा अर्कै मुलुकमा जाँच गराउनु पर्ने हो कि, तुरुन्तै उपचार नगरे रोग फैलिहाल्ने हो कि वा मरिने पो हो कि भन्ने चिन्ताले पिरोल्न थाल्छ । 

यस्तो अवस्थामा बिरामीहरूलाई सही जानकारी दिने, उनीहरूका प्रश्नहरूलाई सम्बोधन गरिदिने तथा अर्को चिकित्सक वा अस्पताललाई थप परामर्श लिन चाहेमा त्यसलाई हतोत्साहित नगर्ने हरेक स्वास्थ्यकर्मीको जिम्मेवारी हो । क्यान्सर पहिचान हुनसाथ भोलिपल्ट नै उपचार सुरु गरे क्यान्सर निको हुने होइन, नत २/४ दिन परामर्शको लागि समय खर्च गर्दा क्यान्सर फैलिन्छ । 

त्यसैले चिकित्सकहरूले बिरामीलाई रोग अवस्था, उपचार विधि, खर्च र परिणाम बारे राम्ररी जानकारी दिनुका साथै बिरामी र बिरामीका परिवारले पनि सो बारे राम्ररी बुझेपछि उपचार सुरु गरेको खण्डमा उपचार सरल, सहज, कम खर्चिलो, गुणस्तरीय र परिणाममुखी हुन्छ । परामर्श सेवालाई क्यान्सर उपचारको अभिन्न अङ्ग मानेर भक्तपुर क्यान्सर अस्पतालले नियमित रूपमा सो किसिमको परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

(लेखकःभक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप