बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो

बिहीबार, ०७ साउन २०८३, १६ : २२
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपालमा इन्टरनेसनल एसोसिएसन अफ तिब्बतसम्बन्धी अन्तराष्ट्रिय गोष्ठी आयोजना हुदैछ ।
  • यस गोष्ठीमा चीनविरोधी गतिविधि हुने कुरामा नेपालस्थित चिनियाँ दूतावासले चासो लिएको छ ।
  • यो कार्यक्रम कुनै देश वा व्यक्तिविरुद्ध नभई प्राज्ञिक कार्यक्रम भएको आयोजकले जनाएका छन् ।

काठमाडौँ । नेपालमा इन्टरनेसनल एसोसिएसन अफ तिब्बतियन स्टडिज (तिब्बती अध्ययन) सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी नेपालमा हुन लागेको छ । 

काठमाडौँ विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज र रंगजुङ येशे इन्स्टिच्युटमा रहेको काठमाडौँ विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रको संयुक्त आयोजनामा भदौ ७ गदेखि १३ गते (अगस्त २३–२९)सम्म काठमाडौँमा आयोजना हुने गोष्ठीमा बौद्ध धर्मावलम्बी तथा अनुसन्धानकर्ता, प्रध्यापकहरूको सहभागिता रहने जनाएको छ । 

विश्वभरका तिब्बती अध्ययनकर्ताहरूको सहभागिता रहने यस कार्यक्रममा चीनविरोधी गतिविधि हुने कुरामा नेपालस्थित चिनियाँ दूतावासले चासो लिएको छ । कार्यक्रममा चीनसम्बन्धी कुनै पनि गतिविधि नहोस् भनी परराष्ट्र मन्त्रालयमा पुगी दूतावासले चासो व्यक्त गरेको हो । 

नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङ पछिल्लो समय जेठको अन्तिम साता परराष्ट्रमन्त्रालयका सचिव अमृतबहादुर राइलाई भेटेर तिब्बती अध्ययनसम्बन्धी अन्तराष्ट्रिय गोष्ठीबारे चासो व्यक्त गरेका थिए । नेपालबाट १५ दलाई लामा नेपालबाट नै घोषणा गर्ने चर्चा भइरहेको बेला यो गोष्ठीले चीनलाई झस्काइदिएको छ । 

तिब्बती अध्ययनले यो कार्यक्रम नेपालमा हुने सन् २०२३ अगस्तमै घोषणा गरेको थियो । त्यहीबेला देखि चीनले यसबारे चासो लिँदै आएको हो । नेपालमा हुने यो कार्यक्रममा चीन–तिब्बतको विषय, दलाई लामाको विषयमा छलफल हुने र यसले चीनलाई असर गर्ने चासो लिइरहेको परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए । 

नेपालमा रहेको चिनियाँ दुतावासले मात्र होइन, त्यसअघि नै चीनबाट अधिकारीहरू आएर यसबारे छलफल र खोजखबर गरेर फर्केका छन् । चीनबाट आएका अधिकारीहरू परराष्ट्र मन्त्रालय तथा काठमाडौँ युनिभर्सिटीका अधिकारीहरूलाई भेटेर कार्यक्रमबारेमा सम्पूर्ण जानकारीहरू लिएर फर्केको स्रोतले जनाएको छ । 

चीनको मुख्य चासो भनेको दलाई लामा हो, नेपालमा दलाइ लामाको अनुनायीहरू छन्, त्यो गोष्ठीमा त्यसको बारेमा छलफल भयो भने अवश्य पनि चर्चाको विषय बन्छ, चीन विरोधी गतिविधि नहोस््, दलाई लामाको विषयमा कुनै पनि छलफल नहोस् भनि चीनको चासो रहेको छ । 

काठमाडौँ युनिभर्सिटीका एकजना प्रध्यापकले भन्छन्, ‘यो कार्यक्रम कुनै देशविरुद्ध वा कुनै व्यक्तिविरुद्धमा होइन, यो प्राज्ञिक कार्यक्रम हो तर प्रस्तुति दिनेहरूले आफ्नो कुरा राख्ने क्रममा मौखिक रूपमा केही कुरा राख्नुभयो भने भन्न सकिँदैन, तर आधिकारिक रूपमा दलाइ लामा वा चीनविरुद्ध बोल्ने वा प्रस्तुत हुने कुनै कार्यक्रम वा एजेन्डा छैनन् ।’ 

पछिल्लो समय दलाई लामाको जन्मदिन नेपालमा धुमधामका साथ मनाएको विषयमा पनि चीनले आपत्ति जनाएको थियो । यसअघि मे २७ मा निर्वासित तिब्बती सरकार (केन्द्रीय तिब्बती प्रशासन) का राजनीतिक नेता पेन्पा छिरिङले आध्यात्मिक नेता दलाई लामाको उपस्थितिमा आफ्नो दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यस कार्यक्रममा नेपालबाट पनि अतिथिका रूपमा सहभागी हुने कुरा थियो । त्यसलाई चीनले दबाब दिएर नै रोकेको थियो ।  

तर जन्मदिन मनाउन रोक लगाउन सकेको थिएन । जेनजी आन्दोलनपछि नेपालमा दलाइ लामाका गतिविधि तीव्र भइरहेका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई दलाई लामाले बधाई तथा शुभकामना पठाएका थिए, त्यसपछि पनि विभिन्न गतिविधिहरू नेपालमा भइरहेका छन् । 

भदौ दोस्रो हप्ता हुन लागेको अन्तराष्ट्रिय गोष्ठी चीनका लागि टाउको दुखाइको विषय बनेको छ । एक हप्तासम्म हुने सो कार्यक्रममा विभिन्न विषयमा प्राज्ञिक छलफल हुनेछ । लगभग ४० वटा देशका विद्वानहरू सहभागी हुनेछन् । 

हिमालयन सेन्टर फर एसियन स्टडिजका निर्देशक प्रो.डा.सागरराज शर्माले सात दिनसम्म चल्ने सो कार्यक्रममा दलाई लामा वा चीनलाई असर पार्ने खालको छलफल गर्ने कुनै एजेन्डा नरहेको बताए । यो कार्यक्रममा अमेरिका, युरोप, बेलायत, भारत, नेपाललगायत चीनका विद्वानहरू सहभागी रहने उनले बताए । चीनबाट मान्छे नै आएर आफूहरूसँग कार्यक्रमबारे जानकारी लिएर गएको उनले बताए । चीनले यो कार्यक्रमबारे माग्ने हरेक जानकारीहरू आफूहरू दिन तयार रहेको उनको भनाइ थियो । यद्यपि चिनियाँ दुतावासले हालसम्म औपचारिक रुपमा कुनै जानकारी नमागेको पनि उनले स्पष्ट पारे । 

उनले भने, ‘चार वर्ष अगाडि घोषणा भएको यो बिल्कुल प्राज्ञिक कार्यक्रमहरू हो, नेपालमा पहिलो पटक यस्तो कार्यक्रम हुँदै छ । नेपालमा यो १७ औं कार्यक्रम हो ।’ नेपाल सरकारलाई यो कार्यक्रमबारे सम्पूर्ण जानकारी गराएर नै आयोजना गर्न लागेको बताउँदै उनले यसमा सरकारको पनि साथ सहयोग रहेको पनि बताए । 

इन्टरनेसनल एसोसिएसन अफ तिब्बती स्टडिजको स्थापना सन् १९७९ मा अक्सफोर्ड विश्वविद्यालयमा स्व.माइकल एरिसद्वारा आयोजित ‘तिब्बती अध्ययन’ सम्बन्धी एक सम्मेलनको अवसरमा भएको थियो । हालसम्म 
हालसम्म बेलायत (१९७९, २००३), अमेरिका (१९८२, १९९८), जर्मनी (१९८५, २००६), जापान (१९८९), अस्ट्रिया (१९९५), नेदरल्यान्ड्स (२०००), नर्वे (१९९२, २०१६), क्यानाडा (२००९), मंगोलिया (२०१३), फ्रान्स (२०१९), र चेक गणतन्त्र (२०२२) मा सम्मेलन भइसकेको छ । १७ औं सम्मेलन नेपालमा भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप