आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
त्रिभुवन विश्वविद्यालय

अति गोप्य रूपमा अघि बढ्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको काम

मङ्गलबार, २३ माघ २०८०, १४ : ५६
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कोठा नम्बर ३०४ । भित्र छन्– उपसचिव तेज प्रकाश प्रसाईं । उक्त कोठाभित्र पनि अर्को गोप्य कोठा छ, जहाँ उनी बस्छन् र कामकाज गर्छन् । बाहिरका आगन्तुकसँग उनको सहजै भेटघाट हुँदैन ।

उनको व्यस्तता त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि हो । सरकारले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न छनोट तथा सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले १५ दिने सूचना आह्वान गरेर सार्वजनिक रूपमा दरखास्त मागेको थियो । त्यही आधारमा ४३ जनाले आवेदन दिएका छन् । ती आवेदनकर्ताको आवेदन रूजु गर्ने, मूल्याङ्कन गर्ने लगायतका कार्य उपसचिव प्रसाईंको हातमा छ ।

बाहिरबाट कसैको पहुँच पुग्न नसकोस् भनेर उनलाई गोप्य रूपमा राखेर काम गर्न दिइएको हो । शिक्षा मन्त्रालयले यतिबेला उनलाई यही कामको लागिमात्रै खटाएको छ । यहाँसम्म कि उनले सञ्चारमाध्यममा समेत धेरै बोल्ने गरेका छैनन् ।

रातोपाटीसँगको छोटो कुराकानीमा उपसचिव प्रसाईंले जति सक्दो चाँडो उपकुलपतिको नाम सिफारिस गर्ने गरी काम भइरहेको बताए । सोमबारसम्ममा ‘सर्ट लिस्ट’ निकालिसक्ने भन्ने थियो तर, सर्ट लिस्ट निकाल्न ढिलाइ भएको छ । उपकुलपति छनौटको काम ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८०’ अनुसार भइरहेको छ ।

उक्त कार्यविधि अनुसार कुल आवेदनकर्तामध्ये एक तिहाइ अथवा बढी अङ्क प्राप्त गर्ने १५ जनाको नाम सर्ट लिस्टमा निकालिनेछ । समितिको सचिवालयले अहिले त्यसैको तयारी गरिरहेको छ ।

सचिवालयले अहिलेसम्म सर्ट लिस्ट निकाल्न नसक्नुको विभिन्न कारण छन् । आवेदनकर्ताहरूले पेस गरेको पुस्तक तथा रिसर्चसँग सम्बन्धित विषयमा केही समस्या देखिएको मन्त्रालय स्रोतको दाबी छ ।

‘आवेदनकर्ताहरूले आईएसबीनसहितको पुस्तकमा समस्या देखिएको छैन । त्यसमा पूर्णाङ्क अनुसारकै नम्बर पाउँछन् । तर, रिसर्च पेपरको हकमा केही समस्या देखियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘रिसर्चको हकमा मेन रिसर्चर हो कि सहायक भन्नेमा केही समस्या देखिएको छ । मेन रिसर्चरले पूर्णाङ्क नै पाउँछ । तर, सहायक छ भने त्यहाँनेर ब्रेक डाउन हुन्छ ।’

समितिले अहिले भिजन पेपर र ‘प्रोफेसनल वर्क प्लान’ चेक गर्ने काम गरिरहेको छ । उक्त कार्य गर्दै आएका उपसचिव प्रसाईंले पहिलो चरणमा कार्यविधि अनुसार कागजात पूरा भएको खण्डमा स्वतः अङ्क पाउनेखालको मूल्याङ्कनको काम भइरहेको बताए ।

प्रत्येक आवेदनकर्ताको पेपरहरू कोडिङ गरेर मात्रै विज्ञहरूलाई जाँच्न लगाइएको थियो । विज्ञहरूलाई नै कसको पेपर जाँच्दैछु भन्ने जानकारी नहुने गरी काम गरिएको उनको भनाइ छ ।

‘काम भइरहेको छ । सुरुमा माग गरेका कागजातको आधारमा कागज पुग्यो कि पुगेन भनेर हेरिरहेका छौँ । कागजात पुगेको आधारमा स्वतः नम्बर पाउने खालको विषयमा मूल्याङ्कनको काम भइरहेको छ,’ उपसचिव प्रसाईंले भने ।

त्यस्तै भिजन पेपर र प्रोफेसनल वर्क प्लानको मूल्याङ्कनको काम समेत भइरहेको उनको भनाइ छ । समितिले मूल्याङ्कनको काममा बढीभन्दा बढी पारदर्शिता अपनाउन खोजेको छ । त्यसका लागि एउटा प्रत्येक भिजन पेपर र प्रोफेसनल वर्क प्लानलाई तीन जना प्राध्यापक डाक्टरहरूले चेक गरिरहेका छन् । र तीनैजना विज्ञहरूले छुट्टाछुट्टै नम्बर दिनेछन् । उनीहरूले दिएको अङ्कको औसत निकालेर नम्बर दिइनेछ । उक्त नम्बरसहितको सिल गरिएको कापी समितिको बैठकमा मात्रै खोलिनेछ ।

‘एउटा पेपरलाई तीन जनाले जाँच्छन् । छुट्टाछुट्टै नम्बर हाल्छन्, अनि सिल गरेर राखेका छौँ । पछि समितिमै खोलेर हेर्ने हो । बढीभन्दा बढी फेयर र एक्युरेसी होस् भन्ने हाम्रो चाहना हो,’ उपसचिव प्रसाईंले भने ।

प्रत्येक आवेदनकर्ताको पेपरहरू कोडिङ गरेर मात्रै विज्ञहरूलाई जाँच्न लगाइएको थियो । विज्ञहरूलाई नै कसको पेपर जाँच्दैछु भन्ने जानकारी नहुने गरी काम गरिएको उनको भनाइ छ ।

समितिले आवेदनकर्ताहरूमध्ये बढी अङ्क प्राप्त गर्नेहरूलाई सिफारिस गर्ने गरी काम गरिरहेको छ । त्यसका लागि समितिले सचिवालयलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिइरहेको छ ।

  • कार्यविधिको प्रक्रिया यस्तो छ   

समितिले कार्यविधि अनुसार नै उपकुलपतिको सिफारिस गर्दैछ । आवेदन दिनेहरूमध्येबाट नै उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । छनोट गर्न शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति अशोककुमार राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा शिक्षा सचिव र चन्द्रकला घिमिरे सदस्य छन् ।  

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले कार्यविधिको प्रावधान अनुसार काम भइरहेको बताए । कार्यविधिमा समितिलाई विज्ञको सहयोग लिन सकिने व्यवस्था छ । सोही आधारमा समितिले विज्ञ ‘हायर’ गरेको हो । विज्ञहरूले उम्मेदवारहरूको प्रस्तुतीकरण, दस्ताबेज लगायतको मूल्याङ्कन गर्नेछ । त्यही आधारमा समितिलाई आवश्यक सुझाव दिने र समितिले अन्तर्वार्ता तथा थप मूल्याङ्कन गरेर सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ ।

कार्यविधि अनुसार छनोट विधिमा उम्मेदवारले पेस गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), त्रिभुवन विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्य योजना (प्रोफेसनल वर्क प्लान) सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बापतको मूल्याङ्कन र अङ्कभारलाई १०० पूर्णाङ्कमा मानिनेछ ।

अङ्क विभाजन गर्दा प्राध्यापक पदमा कार्य अनुभव भएको खण्डमा १० अङ्क दिइनेछ । त्यस्तै विद्यावारिधि उपाधि प्राप्त गरेको खण्डमा ५ अङ्क, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेको खण्डमा ४ अङ्क, प्राज्ञिक एवम् अनुसन्धानमूलक पुस्तक लेखी प्रकाशन गरे बापत (आईएसबिएन सहितको कम्तीमा एक वटा पुस्तक प्रकाशन) ५ अङ्क पाइनेछ ।

त्यस्तै विश्वविद्यालयसम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्ययोजना बापत ३५ अङ्क छुट्याइएको छ । त्यस्तै प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अङ्क छुट्याइएको छ । कार्यविधि अनुसार विभिन्न अङ्कभार अनुसार मूल्याङ्कन गरेर औसत अङ्कको आधारमा जम्मा पाएको नम्बरलाई मूल्याङ्कन गरी उम्मेदवारको अल्पसूची (सर्टलिष्ट) तयार गरिनेछ ।

त्यसपछि तीन दिनको सार्वजनिक सूचना प्रकाशन गरी सोचपत्र तथा कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइनेछ । त्यसरी उच्च अङ्क प्राप्त गर्ने तीन जनाको नाम उपकुलपति पदमा नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप