आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजीनामा ट्वीस्ट

डीआईजी अर्जुन चन्दको राजीनामा प्रकरण : विमानस्थल घटना र पोस्टिङ मुख्य कारण

बुधबार, २४ माघ २०८०, १५ : ०७
बुधबार, २४ माघ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा बुझाएको कुरा माघ २० मा बाहिरियो । राजीनामा बुझाएको कुरा बाहिरिएपछि उनका ब्याचमेटहरु नै छक्क परे । चन्दले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा राजीनामा बुझाएका हुन् । उनको राजीनामा पत्र उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले पत्रसहित २१ माघमा प्रहरी प्रधान कार्यालयमा पठाए । तर, प्रहरी प्रधान कार्यालयले उनलाई राजीनामाबारे ‘पुनर्विचार’ गर्न भनेको छ ।

आईजीपी बसन्त कुँवरका ब्याचमेट हुन् अर्जुन । राजीनामा पेस गरेपछि प्रशासन विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी, मानव स्रोत विकाश विभागका अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र आईजीपी कुँवरले उनीसँग छलफल गरे । छलफलपछि राजीनामा पत्र ‘सच्याएर पेस गर्ने सर्त’मा चन्दले फिर्ता लिए । उनलाई आईजीपी कुँवरले १० दिनको घर बिदा दिएका छन् । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले भने, ‘राजीनामा पत्र फरम्याटमा ल्याउन भनेर उहाँलाई नै फिर्ता गरेका छौँ ।’

राजीनामा ‘सच्याएर पेस गर्न’ भनेपछि प्रहरी प्रधान कार्यालयले उनलाई नक्सालमा ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले उनलाई काजमा प्रधान कार्यालयमा सरुवाका लागि गृह मन्त्रालयमा सिफारिस पत्र पठाएका हुन् ।

डीआईजी चन्दले राजीनामा दिनुमा दुई वटा कारण देखिएको छ । उनीसँगै प्रहरीमा भर्ना भएका एक जना अधिकृतका अनुसार लामो समयदेखि कमान्ड नपाउँदा उनी ‘असन्तुष्ट’ थिए । २४ पुसमा १६ जना डीआईजीहरुको सरुवा भयो । त्यति बेला चन्दले प्रदेशको कमान्ड मागेका थिए । तर, उनको सरुवा नै भएन ।

चन्दलाई प्रदेशको कमान्ड दिनेबारे छलफल भए पनि विमानस्थलमा कार्यरत भएका कारण इन्चार्जबाट इन्चार्जमा पठाउन सम्भव नभएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । 

डीआईजी चन्दको असन्तुष्टिलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका अधिकृत र प्रहरीबिच भएको विवादले थप मलजल गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकृतहरू बताउँछन् । अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो । अधिकृतलाई चेकजाँच नगरी भित्र पस्न नदिने जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डीएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेपछि चन्द थप असन्तुष्ट भए ।

सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही मात्रै सिफारिस गरिएको छ । चेकजाँच गर्ने प्रहरी जवान सँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरू छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् । 

चन्दले आफ्ना निकट प्रहरी अधिकृतहरूसँग कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गल्ती नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत अधिकृतहरू बताउँछन् । उनको राजीनामाको कारण सो घटना भएको आकलन गरिएको छ । तर, डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । रातोपाटीसँग कुरा उनले भने, ‘मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ ।’

राजीनामा पत्रमा पनि उनले व्यक्तिगत कारणले ‘सेवाबाट अलग हुन बाध्य भएको’ उल्लेख गरेका छन् । तर, हेडक्वार्टरका अधिकारीहरूले ‘बाध्य’ भन्ने शब्दप्रति असहमति जनाएका छन् ।

चन्द २०८१ मङ्सिरमा अवकाशमा जान्छन् । फिर्ता गरेको राजीनामा पत्र पुनः पेस नगर्नेमा प्रहरी प्रधान कार्यालयका अधिकृतहरू ढुक्क छन् । एक जना उच्च अधिकृत भन्छन्, ‘१० दिनको बिदामा उहाँको मन फेरिन्छ कि ?’  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप