मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

राजीनामा बुझाएका डीआईजी अर्जुन चन्दलाई नक्सालमा ‘काज’ गर्न हेडक्वार्टरको पत्र

मङ्गलबार, २३ माघ २०८०, २० : ५५
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दलाई नक्सालमा ‘काज’ सरुवा गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले उनलाई काजमा प्रधान कार्यालयमा सरुवाका लागी गृह मन्त्रालयमा सिफारिस पत्र पठाएका हुन् ।

डीआईजी अर्जुन चन्दले राजीनामा पेस गरेका छन् । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्–‘राजीनामा पत्र फर्म्याटमा ल्याउन भनेर उहाँलाई नै फिर्ता गरेका छौँ ।’ प्रधान कार्यालयले राजीनामा पत्र फिर्ता दिएपछि उनले १० दिनको बिदा लिएका छन् । चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिको सिफारिसप्रति डीआईजी चन्द असन्तुष्ट थिए । छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

सुरुमा अधिकृतलाई चेकजाँच गर्न आग्रह गर्ने प्रहरी जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डिएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेको छ । विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरू छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् । चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गल्ती नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत अधिकृतहरू बताउँछन् । उनको राजीनामाको कारण सो घटना भएको आँकलन गरिएको छ । तर, डिआईजी चन्दले रातोपाटीसँग कुरा गर्दै ‘व्यक्तिगत कारणले राजीनामा दिएको’ बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप