शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

सोमबार, २९ माघ २०८०, ११ : १५
सोमबार, २९ माघ २०८०

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । 

बैंकहरुद्धारा प्रस्तावित ब्याजदर अनुसार फागुन महिनाका लागि थप ब्याजदर घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाने तर कर्जा माग बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ४८ अर्ब निक्षेप संकलन गर्दै यता कर्जा लगानी जम्मा ५० खर्ब ८७ अर्ब रुपैयाँ हाराहारी मात्र लगानी गरेका छन् । 

माघ २५ गतेसम्म ८०.३५ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंक तथा वित्त कम्पनीहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । यसले पनि आगामी महिनाका लागि ब्याजदर घटाउने दबाबमा बैंकहरु देखिएका हुन् । 

कुन बैंकको ब्याजदर कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुले फागुनका लागि ब्याजदर घटाएका छन् । तीन वटा सरकारी स्वामित्वका बैंक कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित, सिटिजन्स् बैंक, स्ट्यान्र्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने बाँकी तीनवटा बैंक एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाकै ब्याजदरको निरन्तरता दिएका छन् । 

बैंकहरुले संस्थागत खाताका लागि ४.४४३ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् भने व्यक्तिगत खाताका लागि ८ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म प्रस्ताव गरेका छन् । 

bank1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप