सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
२९ ‍औँ जनयुद्ध दिवस

जनयुद्धको तुफानी केन्द्र कर्णाली : २९ वर्षमा के पायो के गुमायो ?

मङ्गलबार, ०१ फागुन २०८०, १६ : १६
मङ्गलबार, ०१ फागुन २०८०

सुर्खेत । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गर्‍यो । १० वर्षे जनयुद्धको स्मरणमा माओवादीधारका दलहरुले मंगलबार २९ औँ जनयुद्ध दिवस मनाएका छन् । तत्कालीन केन्द्रीकृत राज्य सत्ताले गर्ने हेपाहा व्यवहार गरेको भन्दै कर्णालीबाट जनयुद्धमा उल्लेख्य मात्रामा सहभागी भए । राज्यको दमन, अन्याय,अत्याचारविरुद्ध र परिवर्तनका पक्षमा भन्दै कर्णालीवासी प्रतिरोधमा उत्रिएका थिए । 

कर्णाली प्रदेश सभाका सदस्य दुर्गबहादुर रावतका अनुसार जनयुद्ध अघि पनि समाजमा धेरै असमानता थिए ।  ‘अझ कर्णालीमा वर्गीय विभेद थियो । ०४६ सालसम्म तीन पटक प्रजातन्त्र आए पनि कर्णालीको समाज रूपान्तरण हुन सकिरहेको थिएन’, रावत भन्छन् ‘त्यसको एउटा उदाहरण थियो ‘मोखिली प्रथा’ । यो प्रथाअन्तर्गत कर्णालीमा ०५२ सालसम्म पनि मुखियाले रसिद दिएपछि मात्र उसको नाममा जग्गा दर्ता हुन्थ्यो । यही दमन पनि कर्णालीले बन्दुक उठाउनुको एक कारण थियो ।' जनयुद्धका क्रममा पिली, जुम्लाको खलंगा आक्रमणदेखि डोल्पा सदरमुकाम दुनैमा आक्रमणहरु भएका थिए ।

माओवादी केन्द्रका हुम्लाका संयोजक समेत रहेका विश्लेषक डा. दीपेन्द्र रोकायाका अनुसार माओवादी जनयुद्धमा कर्णालीका नागरिक रोजगार पाएसरह नै सामेल भएका थिए । माओवादी केन्द्र प्रदेश कमिटीले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार जनयुद्धभर कर्णालीका करिब २३ सय बढीले ज्यान गुमाए भने २९ सय बढी घाइते तथा अपाङ्ग बने ।

‘कर्णालीका कैयन युवाहरू जनमुक्ति सेनामा भर्ती भएर बलिदानीका कोटा पुरा गरिरहेका थिए । त्यस समय जहाँ रगत बगेपनि कर्णालीको रगत बगेको सुनिन्थ्यो’, रोकाया भन्छन् ।  

माओवादीले अझै पनि कर्णालीलाई आफ्नो आधार इलाकाको रूपमा लिन्छ । तर, १० बर्से सशस्त्र युद्धलाई सफल पार्न कर्णालीले खेलेको भूमिका र पाउनुपर्ने अधिकारका विषयमा भने राज्यको खासै ध्यान जान नसकेको सरोकारवालाहरू बताउँछन् । कर्णालीमा अझै पनि रोग, भोक र गरिबीले छाडेको छैन । शान्ति प्रक्रियापछि धेरै माओवादीहरू सहर पसे पनि कर्णालीका गाउँबस्तीको मुहारमा खासै परिवर्तन आउन सकेको छैन । शान्ति प्रक्रियापछि माओवादी निरन्तर सत्तामा छ तर, जनतामा असन्तोष हट्न सकेको छैन ।

जनयुद्धबाट कर्णालीले के पायो, के गुमायो ? रातोपाटीले जनयुद्ध दिवस पारेर कर्णालीका केही माओवादी नेताहरूलाई प्रश्न गरेको छ, प्रस्तुत छ उनीहरूको भनाइ जस्ताको तस्तै-

झकबहादुर मल्ल ‘सुदीप’-माओवादी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्जjhakbahadur malla

कर्णाली जनयुद्धको तुफानी केन्द्र थियो । संघर्षकै क्रममा हजारौँ योद्धा कर्णालीले गुमायो । परिवर्तनका लागि हामीले कति परिवारका सदस्य पनि गुमायौँ, आफन्त गुमे । राज्यसत्ताले जेलमा हाल्दा परिवर्तनको उत्पातले सुर्खेत जेलब्रेक पनि गरियो ।

पछाडि पारिएका वर्ग र समुदायको लागि हामीले क्रान्ति गरेका थियौँ, अझ कर्णाली तुफानी केन्द्र थियो । किनकि कर्णालीका जनता थुप्रै कुप्रथा, वर्गीय विभेदको दुष्चक्रमा बाँचिरहेका थिए, त्यसको मुक्तिका लागि कर्णालीवासी संघर्षमा होमिए । अन्तर्राष्ट्रियकरण भएको जनयुद्धमा कर्णालीले आफ्नो स्वाभिमान सगौरव प्राप्त गरेको मैले ठानेको छु । जसका कारण आज कर्णालीको पहिचान राष्ट्रिय रूपमा स्थापित भएको छ । त्यसअघि राज्यले कर्णालीलाई हेर्ने दृष्टिकोण नै फरक थियो ।  

विमला केसी-अध्यक्ष,माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष

bimala kc 2

अहिले जे जति अधिकार र उपलब्धि प्राप्त भएको छ त्यो जनयुद्धकै जगमा भएको हो । तर, पर्याप्त छैन । अब कर्णालीमा विशेष खालको योजना बनाएर आर्थिक समृद्धि, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि अभियान नै बनाएर अघि बढ्नुपर्छ ।

समाजवाद निर्माण गर्ने पार्टी कसरी बनाउने भन्ने कुरा त आर्थिक समृद्धिसँग जोडिन्छ । सामाजिक, सांस्कृतिक रूपान्तरणसँग जोडिन्छ । आर्थिक समृद्धिको नारा अघि सारेर बढियो भने गरिबी निवारण हुन्छ नै । कर्णालीको गरिबी घटाउने र निवारण गर्ने योजना पार्टीले बनाउनुपर्छ ।

पार्टीले आफ्ना कार्यकर्ता र समग्र जनतालाई आर्थिक समृद्धिको अभियानमा हिँडाउनुपर्छ । समाजमा भएका विकृति, विसङ्गति विरुद्ध हिँडाउनुपर्छ । विकासको बाधकका रूपमा रहेको कुप्रथालाई अन्त्य गर्नुपर्छ ।सबै खालका विकृतिलाई अभियान नै चलाएर रूपान्तरणको थालनी गर्नुपर्छ ।

महेन्द्रबहादुर शाही-केन्द्रीय सदस्य तथा पूर्व लडाकु कमान्डर

mahendra shahi

त्यस युद्धको अग्रिम मोर्चामा लड्ने जनमुक्ति सेना थियो । जसको सफल कमाण्ड कर्णालीका युवाहरूले गरेका थियौँ । कर्णाली सहभागी नभएको कुनै युद्धमोर्चाहरु थिएनन्, जसको कारण सबैभन्दा बढी युवाहरू कर्णालीले गुमायो । उपलब्धिका हिसाबले हेर्ने हो भने कर्णाली अहिले धेरै जागेको छ । महिलाहरूले अहिले अधिकार प्राप्त गरेका छन् । युद्ध हुनुभन्दा अघि महिलाहरूले कस्तो जीवन बिताएका थिए र अहिले के गरिरहेका छन् दुनियाँलाई थाहै छ । दलित, जनजातिले अधिकार प्राप्त गरेका छन् । युद्धकै जगमा रहेर अहिले संघीयता आएको हो, अहिले गाउँ–गाउँमा सिंहदरबारको रूपमा स्थानीय सरकार बनेको छ ।

शिक्षा, स्वास्थ्यका कामहरू भएका छन्, सञ्चारको सुविधा कर्णालीका दुरदराजमा पुगेको छ । यदि संघीयता नआएको भए कर्णालीमा अहिलेको जति बजेट आउँदैनथ्यो । विगतको तुलनामा पुर्वाधारहरु अघि बढेका छन्, सामाजिक न्यायका क्षेत्रमा काम भएका छन् । गाउँमा ठालुहरूको रजगज हुन्थ्यो, नागरिकहरू उनीहरूदेखि डराउनुपर्ने स्थिति थियो, सामाजिक रूपान्तरणको क्षेत्रमा पनि जनयुद्धको भूमिका महत्त्वपूर्ण रह्यो । चेतनाको हिसाबले पछि परेको कर्णाली अहिले धेरै अघि बढिसक्यो । 

कालीबहादुर मल्ल-स्थायी कमिटी सदस्य, माओवादी केन्द्र  

kali bahadur malla

 कर्णालीले युद्धमा महत्त्वपूर्ण भूमिका खेल्यो जसका कारण देशैभरी परिवर्तन आयो । हिजो उत्पीडनको क्षेत्र कर्णाली थियो, विद्रोही पनि कर्णाली । विद्रोहमा कर्णालीका सबै उत्पीडित,दबित जातजाति र समुदायहरू युद्धमा समाहित भए जसका कारण छोटो समयमै कर्णालीले युद्धलाई माथि उठायो ।

क्षतिका हिसाबले धेरैको मृत्यु भए पनि देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सबैभन्दा ठुलो कुरा हामीले पाएको यही हो । पहिला कर्णालीका कुरा देशले सुन्दैनथ्यो अहिले सुन्छ, हामीले पनि राज्यलाई घचघच्याइरहेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप