अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
सारांश
- सन् १९५० मा फ्रान्सेली पर्वतारोही माउरिस हार्जाेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरे, जसले विश्वमा नेपाललाई चिनायो र पुस्तक 'द अन्नपूर्ण' दुई करोडभन्दा बढी बिक्री भयो।
- अन्नपूर्ण हिमाल आरोहणमा ३२ प्रतिशतभन्दा बढी आरोहीको ज्यान गएको तथ्याङ्क छ, तर हार्जाेगले प्रयोग गरेको मार्ग ओझेलमा परेको छ, जसलाई पुनर्जागरण गर्नुपर्ने आवश्यकता छ।
- अन्नपूर्ण नर्थ बेसक्याम्पको पर्यटन प्रवर्द्धनका लागि सरकारी तथा गैरसरकारी संस्थाहरू जुटेका छन्, जसमा हार्जाेगको पदमार्गलाई 'हार्जाेग ट्रेल' का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
पोखरा । नेपालको लागि पर्यटनको ‘गेट वे’ हो अन्नपूर्ण हिमालको प्रथम आरोहण र त्यसपछि लेखिएको ‘द अन्नपूर्ण’ नामक पुस्तक । फ्रेन्च पर्वतारोही माउरिस हार्जाेगले सन् १९५० जुन ३ मा पहिलो पटक सफल आरोहण गरेपछि फर्किएर पुस्तक लेखे ।
उक्त पुस्तक २ करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ । त्यही पुस्तक पढेर विश्वका पर्वतारोहीले नेपाल चिने, नेपालका हिमाल चुमे । नेपाल सन् १९४९ मामात्र विदेशी पर्यटकका लागि खुला गरियो । त्यसको १ वर्षपछि हार्जाेग र उनको टीमले अन्नपूर्ण प्रथमको आरोहण गरेको हो ।
८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल नेपालमै छन् । अन्नपूर्ण प्रथम ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा सानो हिमाल हो, तर आरोहीहरू यसलाई सबैभन्दा कष्टकर हिमालका रूपमा चिन्छन् ।

आरोही पूर्णिमा श्रेष्ठ भन्छिन्, ‘यो हिमाल निकै टेक्निकल छ । प्रत्येक पाइलामा मृत्यु छ र सँगसँगै उत्साह छ । सबैभन्दा जोखिमपूर्ण भएकैले मैले यो हिमाल आरोहणको निर्णय लिएकी थिएँ ।’
तथ्याङ्क हिसाब गर्दा ३२ प्रतिशतभन्दा बढी आरोहीले अन्नपूर्णमै ज्यान गुमाएका छन् । अन्नपूर्ण बेसक्याम्पमा राखिएको ताम्रपत्र अनुसार सन् २०२५ सम्म ५०६ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् ।
- अन्नपूर्ण कसरी रोजे हार्जाेगले ?
हार्जाेग र उनको टीम पनि सुरुमा ८ हजार १६७ मिटर उचाइको धवलागिरी हिमाल आरोहणको तयारीमा जुट्यो, तर धवलागिरी जाने बाटो पहिल्याउन नसकेपछि टोली लेतेबाट अन्नपूर्णतिर मोडियो । टोलीमा उनीसँगै लुइस लासनाल, गास्टन रेबुफा र लिओनल टेरे लगायत थिए । त्यसो त अन्नपूर्णभन्दा अघि नै सगरमाथा र के टू लगायत हिमाल आरोहणको प्रयास भएको थियो । कोही पनि आरोही सफल हुन सकेनन् । त्यसताका पर्वतारोहण क्षेत्रमा ख्याति कमाइरहेको फ्रेन्च अल्पाइन क्लबले ८ हजार मिटरभन्दा अग्लो हिमालको पहिलो आरोहण फ्रान्सेली टोलीले नै गर्नुपर्ने निर्णयमा पुगेपछि हार्जाेग र उनको टीम नेपाल झरेको हो ।

फ्रान्सबाट भारतको कोलकाता हुँदै उनको टोली वीरगन्जबाट नेपाल भित्रिएको उनकै पुस्तकमा उल्लेख छ । त्यसपछि काठमाडौँ, पोखरा हुँदै हार्जाेगको टोली कालिगण्डकी खोँच पार गरेर मुस्ताङ पुगेको उल्लेख छ । धवलागिरी आरोहणमा नक्सा नै नभेटेपछि अन्दाजको भरमा उनीहरू लेतेबाट मिरिस्ती खोला उपत्यका पुगेको थियो । जसलाई आजभोलि ‘नर्थ बेसक्याम्प’ भन्ने गरिन्छ ।
कष्टपूर्ण यात्राका बावजुद अन्नपूर्णको चुचुरो चुमेर फर्किने क्रममा मौसम खराबीका कारण हार्जाेग र उनका साथीको हातका औँला नै काट्नुपर्ने अवस्था आएको थियो । त्यसपछि उनीहरू म्याग्दीकै नारच्याङ हुँदै फ्रान्स फर्किए ।

साहसिक यात्राका लागि अन्नपूर्ण नर्थ बेसक्याम्प उत्तम रुट हो, तर हार्जाेगको पुस्तक पढेर नेपाल आएका पदमार्गी र पर्वतारोहीहरूलाई चाहिँ यो रुटबारे थोरै जानकारी छ । ओझेलमा परेको यही रुटको प्रचारका लागि यहाँका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था जुटेका छन् ।

‘हार्जाेगले आरोहण गरेपछि अन्नपूर्णले विश्वस्तरकै चर्चा पायो । त्यही हिमाल चढ्दा हार्जाेगले हिँडेको बाटो अहिलेसम्म गुमनाम छ,’ नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले भने, ‘अब यसको प्रचार गर्नुपर्छ । हार्जाेग ट्रेलका रुपमा विकास गर्ने र बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’
यही रुटको चर्चा गरेर लेखिएको पुस्तक ‘द अन्नपूर्ण’ विश्वका ४० भन्दा बढी भाषामा अनुवाद भएको छ भने २ करोडभन्दा बढी विक्री भैसकेको छ । त्यही पुस्तकले चिनाएको पदमार्गमा चाहिँ उतिसाह्रो उत्साह छैन ।
‘अन्नपूर्ण हिमाल संसार चिनाउने नाममात्र होइन, नेपाललाई चिनाउने ढोका पनि हो,’ लामिछानेले थपे, ‘विडम्बना नै भन्नुपर्छ, ७५ वर्षमा यो बाटोले जुन चर्चा पाउनुपर्ने थियो, पाएन र ओझेलमै रह्यो ।’

अन्नपूर्ण नर्थ बेसक्याम्प पुग्ने रूट परिचित नहुनुमा सञ्चारको अभाव, अव्यवस्थित ट्रेकिङ रूट, खान–बासको कठिनाइजस्ता कारण हुन् ।
- पर्यटनमा नयाँ संकेत
आजभोलि रुटमा केही बदलाव आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले व्यवसायीलाई होटल बनाउन जग्गा उपलब्ध गराएको छ । गाउँपालिकाको सहयोगमा होटल निर्माण तीव्र गतिमा भइरहेको छ । प्रत्येक स्टेसनमा ५०–६० जना अट्नेगरी अस्थायी संरचना बनिसकेका छन् ।
एक्यापका वरिष्ठ संरक्षण अधिकृत बाबुलाल तिरुवा रुटमा चाहिने सुविधा थप्न एक्यापले कानुनी सहजीकरण गरिरहेको बताउँछन् । ‘हामीले जग्गाको व्यवस्था गरिदिएका छौँ । केही होटल खुलिरहेका छन्,’ उनले भने, ‘केही कानुनी जटिलता छन् । त्यसलाई फुकाउन प्रयासरत छौँ ।’

२–२ घण्टाको दुरीमा बास बस्नका लागि अस्थायी संरचना बनेका छन् । फुतफुते झरना, साँधीखर्क, गुफा फाँट, भुस्केट मेला र पञ्चकुण्ड तालको छेउमा यी संरचना निर्माण भएका छन् ।
कालिगण्डकी कोरिडोर आडको नारच्याङबाट जीपमा हुमखोला पुगिन्छ । हुमखोलाबाट पैदल यात्रा सुरु हुन्छ । हार्जाेगको आरोहणबाट नेपालले विश्वमै परिचय पाए पनि नेपाल सरकारले नै गन्तव्यको व्यवस्थापन नगर्दा पर्यटन क्षेत्रले सुनौलो अवसर गुमाएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउँछन् ।

‘त्यतिवेला हार्जाेग हिँडेको बाटो अहिले पनि प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छ, तर त्यहाँसम्म पुग्ने बाटोबारे पर्यटकलाई थाहा छैन,’ उनले भने, ‘सरकारले यो रूटलाई व्यवस्थित गर्न सक्यो भने अन्नपूर्ण नर्थ बेसक्याम्प हार्जाेगको नामजस्तै विश्वस्तरमा परिचित हुनेछ । यो रुट नेपालको लागि सुनको अण्डा हो ।’
अन्नपूर्ण सर्किटको दक्षिण र पश्चिम मोहडाले प्राथमिकता पाएपछि नर्थ बेसक्याम्प चाहिँ ओझेलिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए । ‘अन्नपूर्णकै नाममा दक्षिणतिर कति धेरै पर्यटक पुग्छन् । मुस्ताङमा त्यति धेरै पर्यटक जान्छन्,’ उनले भने, ‘ती ठाउँ प्रचारमा आए । हार्जाेग पदमार्ग सुरुदेखि नै छुट्यो ।’

राज्यले हार्जाेग पदमार्गलाई प्राथमिकताका साथ लगानी गर्नुपर्ने र सोही अनुसार प्रचार गर्नुपर्ने उनको भनाइ छ । ‘हिजोका सबै रुट अहिले गाडीले विस्थापन भएका छन् । हाम्रो पदमार्ग पर्यटन लगभग सकिने चरणमा पुगेको छ,’ पुनले भने, ‘यस्तो अवस्थामा हार्जाेगको पदचाप समेटेर नयाँ ब्रान्डिङ गर्नुपर्छ । यही रुट पर्यटनको मेरुदण्ड बन्न सक्छ ।’

७५ वर्षपछि, हार्जाेगको ऐतिहासिक आरोहणको सम्झनामा अन्नपूर्ण नर्थ बेसक्याम्पमा विशेष समारोह भयो । उनका छोरा माथियस हार्जाेग परिवारसहित बेसक्याम्प आइपुगे । त्यही ठाउँमा पिता माउरिसले प्रयोग गरेको ऐतिहासिक आइस एक्स नेपाल सरकारलाई हस्तान्तरण पनि गरे । माथियसको नेपाल आगमन उनका पिताप्रतिको श्रद्धामात्रै होइन, पर्यटकीय सम्भावनाको नयाँ संकेत पनि हो ।
‘माथियस र परिवारलाई ऐतिहासिक अवसरमा नेपाल ल्याउन सक्यौँ । उहाँहरू नेपालमात्रै आउनुभएन, बेसक्याम्पमै पुगेर कार्यक्रममा सहभागी हुनुभयो,’ टानका अध्यक्ष आचार्यले भने, ‘यो भनेको अन्नपूर्ण हिमाल फेरि एकपटक पर्यटनको केन्द्रमा फर्कन सक्छ भन्ने उदाहरण हो । सरकारले यो अवसरलाई सम्हाल्नुपर्छ ।’
अहिले ठाउँठाउँमा पदमार्ग निर्माण पनि भइरहेको छ । ठिकै हिसाबले हिँड्नेलाई ४ दिन र बिस्तारै हिँड्नेले थप समय लगाएर यो रुट पार गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण