सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली खेलकुदमा सहयोग बढाउन जापानसँग घिसिङको आग्रह

मङ्गलबार, ०१ फागुन २०८०, १९ : १९
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । जापान भ्रमण कार्यक्रमका दौरान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालमा खेलकुद विज्ञानको विकासका निम्ति जापानबाट आवश्यक साथ र सहयोगका लागि ध्यानाकर्षण गराएका छन् । 

भ्रमणका क्रममा जापान स्पोर्ट्स काउन्सिल (जेएससी), हाइ पर्फमेन्स स्पोर्ट्स सेन्टरअन्तर्गत जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स बायोमेकानिक्स, एक्सरसाइज फिजियोलोजी, फिजिकल फिटनेस, स्पोर्ट्स मेडिसिन एन्ड रिहाबिलिटेसन, स्पोर्ट्स न्युट्रिसन र स्पोर्ट्स साइन्स ल्याबका प्रतिनिधिसँग भेट गरी खेलकुदमा उच्च प्रदर्शनीका लागि कसरी वैज्ञानिक ढङ्गले अनुसन्धानात्मक कार्य तथा आधुनिक प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय नतिजा हासिल गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको  थियो ।

जनवरी ३१ देखि फेब्रुअरी २ तारिखसम्म भएको अध्ययन भ्रमण कार्यक्रम दौरान सदस्य–सचिव घिसिङले एसोसिएसन अफ स्पोर्ट्स इन्स्टिच्युटका प्रमुख डा. ताकाहिरो वाकुसँग भएको छलफलमा राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) एसोसिएसन अफ इन्स्टिच्युट अफ स्पोर्ट्स इन एसियाअन्तर्गत हाल २१ विभिन्न राष्ट्रहरू रहेको र सान पनि उक्त संस्थाको सदस्य भएको हुनाले एसिया नेटवर्क प्लेटफर्मबाट नेपालमा खेलकुदको विकासका निम्ति जापान स्पोर्ट्स काउन्सिल मात्र नभई एसियाका अन्य राष्ट्रहरूको पनि सहकार्य तथा सहयोगको सम्भावना भएकोले यसका लागि पहल गर्न सकिने विषयमा कुरा भएको थियो। भ्रमणका अवसरमा विशेष गरि जापानको खेलकुद संरचनाको बारेमा जानकारी आदान–प्रदान हुनुका साथै नेसनल ट्रेनिङ सेन्टरको पनि अवलोकन गरिएको थियो । जापानको विशेष निकाय हाइ पर्फमेन्स स्पोर्ट्स सेन्टरसँग आबद्ध जापान स्पोर्ट्स साइन्स इन्स्टिच्यूतलगायत विभिन्न निकायका प्रतिनिधिसँग नेपालको खेलकुदको हितका सन्दर्भमा विशेष छलफल भएको थियो ।

स्पोर्ट्स फर टुमारो (एसएफटी) को प्रतिबद्धतामा आधारित वैदेशिक सहयोग आदान–प्रदान तथा सहयोग कार्यक्रम अन्तर्गत जेएससीले नेपालका लागि खेलकुदको ग्रासरुट डेभ्लोप्मेन्टका लागि राखेप तथा जेएससीको संयुक्त प्रयासमा खेलकुद परियोजना सञ्चालन गर्न सकिने विषयमा पनि छलफल भएको

थियो । विशेष गरी सदस्य–सचिव घिसिङ र जापानको संस्कृति, शिक्षा, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि मारी ताउचियाबिच भएको बैठकमा सदस्य–सचिव घिसिङले जापानले अन्य क्षेत्रमा नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगको प्रशंसा गर्दै नेपाली खेल क्षेत्रमा पनि सहयोग र सहकार्य बढाउनु पर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा ताउचियाले सहमति जनाउँदै आफ्नो ध्यानाकर्षण भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप