शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगर प्रहरीको दीक्षान्त : विपद्का बेला छिमेकी स्थानीय तहलाई पनि सहयोग गर्ने

बुधबार, ०२ फागुन २०८०, १४ : ३३
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । ललितपुर महानगरपालिकाले विपद्का घटनामा छिमेकी नगरपालिकामा आवश्यक नगरप्रहरी पठाएर सहयोग गर्ने भएको छ । बिहीबार ललितपुर महानगरपालिकाले छिमेकी स्थानीय तह महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकालाई सहयोग गर्ने सम्बन्धी एक सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।  

ती दुई नगरपालिकामा नगरप्रहरीको जनशक्ति कम भएकोले आवश्यक परेको बेला त्यहाँ गएर सहयोग गर्ने ललितपुर महानगरपालिका प्रहरी बलका प्रमुख सीताराम हाथेछुले रातोपाटीलाई जानकारी दिए । आगलागी, भूकम्प, बाढी पहिरो जस्ता विपद्का बेला सहयोग पुर्‍याउनेबारे सम्झौतामा हस्ताक्षर भएको हो । 

ललितपुर महानगर प्रहरी बलमा भर्ना भएर तालिम हासिल गरेका नगरप्रहरीको दीक्षान्त समारोह  अवसरमा सो सम्झौता भएको हो । सो दीक्षान्त समारोहका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले नगरवासीको सेवाका लागि नगरप्रहरी थप गरिएको जानकारी गराए । नगरप्रहरी थप गरिएपछि नगर विकासका लागि पनि सहयोग हुने उनले बताएका छन् ।

सो अवसरमा महानगर प्रमुख महर्जनले भने,‘स्थापनाकालदेखि नै ललितपुर महानगर प्रहरीले उत्कृष्ट काम गर्दै आएको छ । राजधानीका अन्य स्थानीय तहमा जस्तो नगरप्रहरी र सर्वसाधारणबिच तितो सम्बन्ध नभई ललितपुरमा भने राम्रो सम्बन्ध रहेको छ । अहिले थप भएका नगरप्रहरीबाट विकास निर्माण, नगरवासीका लागि सहयोग गर्नका लागि थप राम्रो काम हुनेछ भन्ने विश्वास लिएको छु ।’

ललितपुर महानगरले थप गरेका ५९ जना नगरप्रहरीलाई तालिमपछि दीक्षित गरिएको हो । उनीहरुलाई सशस्त्र प्रहरीले तालिम दिएको नगरप्रहरी बल प्रमुख हाथेछुले जानकारी दिए । नयाँ प्रहरी थप गरेसँगै ललितपुर महानगरपालिकामा १२३ जना नगरप्रहरी भएका छन् । नगरप्रहरीको संख्या थप भएसँगै महानगरपालिकाको रिङरोड बाहिरको क्षेत्रमा पनि प्रहरी परिचालन गर्न सहज भएको हाछेथुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप