आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मध्यपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति तथा कार्यक्रम बनाउनुपर्छ : उपाध्यक्ष पौडेल

बुधबार, ०२ फागुन २०८०, १७ : ००
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्यपहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन् । 

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उनले संकल्प यात्राका क्रममा मध्येपहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरुलाई आग्रह गरे । उनले सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 

उपाध्यक्ष पौडेलले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले डिपीआर परिमार्जन गर्दा अनावश्यक रुपमा घुमेका मार्गलाई करेक्शन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्शन गर्दा केही दूरी कम हुने बताए । उनले मध्येपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने बताए । उनले मध्येपहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्येपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्येपहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको बताए । 

उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गरे । उनले उक्त मार्गलाई दोब्बर लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गरे । उनले यस क्षेत्रमा सिँचाइ, खानेपानी, कृषि, फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक देखिएको बताए । उनले मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिँचाइ,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानवीय विकासका सबै आधारित भएर माग पत्रमा समावेश गरेको भन्दै सचिवहरुले प्राथमिकता दिन आवश्यक रहेको बताए । उनले मध्यपहाडको विकासको मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

छलफलमा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले एमालेले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्यपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिए । उनले मध्यपहाडी लोकमार्गको विषयमा आएका सुझावलाई अध्ययन गरेर मन्त्रालयगत गर्नुपर्ने आवश्यक निर्देशन मन्त्रीबाट लिएर अगाडि बढ्न सचिवहरुलाई आग्रह गरे ।

एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यही विषयमा मन्त्रालयगत रुपमा कार्यान्वयनको लागि आवश्यक छलफल गरेको छ । ध्यानाकर्षणपत्रमा सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप