सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रमाको सुदूर हिस्साबाट स्याम्पल ल्याउँदै चीन

शुक्रबार, ०४ फागुन २०८०, १६ : २६
शुक्रबार, ०४ फागुन २०८०

बेइजिङ । चीनले चन्द्रमाको अँध्यारो हिस्सामा आफ्नो अन्तरिक्ष यान उतार्ने भएको छ । यान त्यहाँबाट स्याम्पल बटुलेर पृथ्वीमा फर्किनेछ । यो मिसनलाई चाङ्गई–सिक्स नाम दिइएको छ । 

कुनै पनि देशले चन्द्रमाको सुदूर हिस्साबाट स्याम्पल लिएर फर्किने मिसनमा यान पठाउन थालेको यो पहिलो पटक हुनेछ । यसअघि चीनले त्यहाँ आफ्नो लयान्डर अवतरण गरेको थियो । चीनले यो मिसनलाई यही वर्षको मेमा लन्च गर्ने तयारी गरिरहेको छ ।

यो मिसनमा काम गरिरहेका इञ्जिनियरहरु आफ्ना घरपरिवारका सदस्यसँग भेटघाटका लागि जान पाइरहेका छैनन् । मेअघि नै यान लञ्चका लागि तयार बनाइसक्नु पर्ने भएकोले देशभरमा लुनार नयाँ वर्षको सार्वजनिक बिदा चलिरहँदा समेत इञ्जिनियरहरु यो मिसनमा दिनरात काम गरिरहेको बताइएको छ । सन् २०२० मा चाङ्गई–५ मिसनको सफलतापछि सोही टिम यो परियोजनामा काम गरिरहेका छन् । अहिले यो मिसनसँग सम्बन्धित परीक्षणहरू भइरहेका छन् । आवश्यक हेरफेरको काम भइरहेको छ । यो मिसनमा सफल भयो भने चीन चन्द्रमाको सुदूर हिस्साबाट स्याम्पल ल्याउने विश्वको पहिलो देश हुनेछ ।

यो मिसन ५३ दिनको रहनेछ । यो यान चन्द्रमाको सुदूरमा रहेको अपोलो बेसिनमा अवतरित हुनेछ । त्यहाँबाट यानले करिब २ किलोग्राम स्याम्पल संकलन गर्नेछ । त्यसपछि यान पुनः उडेर पृथ्वीमै आउनेछ । स्याम्पल सतहमा प्वाल पारेर वा माथिल्लो हिस्सामा जमेको माटोबाट लिइनेछ । 

चीनमा चन्द्रमाको देवीलाई चांगई भनिन्छ । त्यसैले चीनले सबै चन्द्र मिसनलाई यही नाम दिएको छ । यो मिसनलाई सर्पोट गर्न फेब्रुअरी वा मार्चमा स्याटलाइट लन्च गरिनेछ । यो सेटलाइटले यस मिसनमा सघाउने बताइएको छ । चांगई –६ उत्रिन लागेको ठाउँबाट कहिले पनि पृथ्वी देख्न सकिन्न । तसर्थ यो सेटलाइटले यान र धर्तीमा रहेको स्टेसनबिच सम्पर्क कायम राख्न मद्दत गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप