शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिएकोमा राप्रपा नेपालको आपत्ति

जनआन्दोलनका लागि वृहत् मोर्चा निर्माणको प्रयास जारी राख्ने
शनिबार, ०५ फागुन २०८०, १७ : १५
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ ।  ललिता निवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसलाप्रति राप्रपा नेपाल असहमति प्रकट गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले  नेपालमा भएका अधिकांश भ्रष्टाचारका काण्डहरूमा राजनीतिक नेतृत्वको संलग्नता रहने गरेको ठहर गरेको हो ।

ललिता निवास जग्गा काण्ड, सुन तस्करी, एनसेल कर छली प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, गिरीबन्धु टि-स्टेट जग्गा घोटाला लगायतका सबै भ्रष्टाचारहरू राजनीतिक नेतृत्वकै संरक्षण र संलग्नतामा भएको स्पष्ट रहेको पार्टीको भनाई छ । ‘ नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार र अनियमितताका काण्डहरू छानबिन र कारबाहीको दायरामा आउन नपाउने गरी मन्त्रिपरिषद्बाट निर्णय गराउने कार्य समेत संगठित र योजनाबद्ध रूपमा भइरहेका छन् । यो वास्तविकतालाई दृष्टिगत गर्दै मन्त्रिपरिषद्बाट निर्णय भएका वा नीतिगत आवरण दिइएका अनियमितता, अख्तियारको दुरुपयोग र भ्रष्टाचारहरू समेत छानबिन हुने र दोषीलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था गर्न राप्रपा नेपाल माग गर्दछ,’ पार्टीले भनेको छ ।

बैठकले देशमा हाल कायम रहेको संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको छ, जनता विकल्पको खोजीमा रहेको निष्कर्ष निकाल्दै सनातन हिन्दु अधिराज्य, जनताबाट निर्वाचित प्रधानमन्त्री तथा सुशासन वर्तमान अवस्थामा जनताले चाहेको उपयुक्त विकल्प भएको बताएको छ ।  उक्त विकल्प स्थापित गर्ने उपयुक्त विकल्प सहमति र सहकार्य भएता पनि वर्तमान धरातलीय अवस्था दृष्टिगत गर्दा जनआन्दोलन अपरिहार्य हुन गएको पार्टीको भनाई छ । 

‘तर, कुनै एक दल वा समूहले गर्ने आन्दोलनबाट व्यवस्था परिवर्तन हुन सक्दैन । सबै क्षेत्र, वर्ग र समुदायका जनताको सहभागिता हुने गरी गरिने जनआन्दोलन अहिलेको आवश्यकता हो । त्यसको निमित्त वर्तमान भ्रष्ट व्यवस्थाको अन्त चाहने, हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न चाहने, प्रदेशस्तरीय संरचनाको खारेजी चाहने, सुशासन र आर्थिक समृद्धि चाहने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादीहरूको वृहत् मोर्चा निर्माण गर्नु अनिवार्य रहन्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ,’  प्रवक्ता वसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तर यस्तो वृहत् मोर्चा निर्माणका सम्बन्धमा हालसम्म भएको प्रगति सन्तोषजनक नरहेको प्रति बैठकले चिन्ता प्रकट गरेको छ । वृहत् मोर्चा निर्माणको प्रयासलाई राप्रपा नेपालले निरन्तर जारी राख्ने पार्टीको भनाई छ ।

बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक कार्यपत्र परिमार्जन सहित पारित गरेको छ । त्यस्तै बैठकले आगामी चैतको तेस्रो हप्तादेखि सुनसरी जिल्लाको बराह क्षेत्रबाट नवलपरासी जिल्लाको त्रिवेणी धामसम्म “श्रीराम जागरण यात्रा” सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी फागुनको चौथो हप्ताबाट दोस्रो चरणको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप